निर्णय नं. १५०० - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५०० - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: पौस अंक: ९ फैसला मिति :२०३८/०८/०१ २३८५ निर्णय नं. १५०० ने.का.प. २०३८ अङ्क ९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको रि.नं. ११४१ आदेश भएको मिति : २०३८।८।१ मा निवेदक : का.जि. बालाजु औद्योगिक क्षेत्र स्थित वोटलर्स नेपाल (प्रा)लि.को तर्फबाट म्यानेजिंग डाईरेक्टर सहदेव शमशेर ज.ब.रा.छाउनी दरबार काठमाडौं विरुद्ध विपक्षी : श्री ५ को सरकार अर्थमन्त्रालय बबरमहल काठमाडौंसमेत विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ (१) उद्योग, आयात प्रतिस्थापक उद्योग देखिएकोले निवेदकलाई सो औद्योगिक व्यवसाय ऐन, ०३० को दफा ९(१)(ग) को (३) अनुसारको अन्तःशुल्कमा सहुलित दिन मिल्दैन भन्न निवेदकले प्राप्त गरेको इजाजतपत्र तथा उपरोक्त ऐनले समेत नमिल्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अनुसार उत्प्रेषणको आदेश जारी गरी विपक्षी श्री ५ को सरकार अर्थमन्त्रालयको मिति २०३८।३।२२ को निर्णय बदर गरिपाउँ भनी मिति २०३८।४।३०।६ मा रिट निवेदन दर्ता हुन आएको रहेछ । २. रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : श्री ५ को सरकार उद्योग विभागबाट मिति २०३२।३।२२ को इजाजतपत्र अनुसार कम्पनी ऐन, २०२१ अन्तर्गत उद्योग रजिष्टर गरी मिति २०३६।७।१ देखि पेयपदार्थ कोकाकोला, फान्टा अरेन्ज र फान्टा लेमनको उत्पादन कम्पनीले गरी आएको छ । उक्त इजाजतपत्रको दफा १० मा औद्योगिक व्यवसाय ऐनको दफा ३(१)(ग) अनुसार सुविधाहरू दिइनेछ भनी किटान साथ लेखिएको छ र सो इजाजतपत्रको वोधार्थ प्रतिलिपि अरू कार्यालय, विभागको अतिरिक्त अन्तःशुल्क विभागलाई पनि उद्योग विभागबाट पठाइएको छ । उक्त ऐनको दफा ९(१)(ग) को उपखण्ड (३) ले अन्तःशुल्कका सम्बन्धमा दिने सुविधाको व्यवस्था गरेको छ । कम्पनीको उत्पादन शुरू भए देखि अन्तःशुल्क छुटका लागि सम्बन्धित कार्यालयमा लेखी जान कम्पनीमा मौकैमा मिति २०३६।६।२८ को पत्रद्वारा उद्योग विभागलाई अनुरोध गर्यौं र उद्योग विभागबाट अन्तःशुल्क विभागलाई मिति ०३६।८।१४, ०३७।४।२४ र ०३७।६।२० मा समेत पटक–पटक अन्तःशुल्क छुटका लागि लेखेको पनि थियो । तर त्यसका बाबजुद उत्पादन शुरू भएदेखि अन्तःशुल्कको केही रकम धरौटीका रूपमा भए पनि नबुझाई कारखानाबाट माल निकासी गर्न अन्तःशुल्क विभाग र कार्यालयले नदिएको कारणबाट पटक–पटक गरी मिति ०३८।३।२८ सम्ममा जम्मा रू.५,८७,३८३ धरौट राख्न कम्पनीलाई बाध्य हुनुपर्यो अर्कोतिर कम्पनीले उक्त अवधिमा आफ्ना उपभोक्ताहरू सँग अन्तःशुल्क नलिई पेयपदार्थहरू बिक्री वितरण गरी रह्यो । सम्बन्धित अधिकारी वर्गको यस्तो व्यवहार भए तापनि कम्पनीले श्री ५ को सरकारबाट ऐन र इजाजतपत्र अनुसार सरकारी औद्योगिक नीति र बचनबद्धता समेतको विचार भई अन्तःशुल्क छुटको निर्णय भइजाला भनेर प्रतिरक्षा गरिरहेको अवस्थमा यो उद्योगलाई अन्तःशुल्क छुट सुविधा दिन नमिल्ने भनी मिति ०३८।३।२२ मा श्री ५ को सरकारबाट निर्णय भई आएको भन्दै शुरू देखिकै अन्तःशुल्क रकम तुरुन्त दाखिला गर्न ल्याउनु हुन सुचित गरिन्छ भन्ने समेत व्यहोराको मिति २०३८।३।२६ को अन्तःशुल्क कार्यालयको पत्र मिति २०३८।३।२८ मा निवेदक कम्पनीलाई प्राप्त हुन आएको रहेछ । ३. जिकिर : श्री