निर्णय नं. ९१५२ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१५२ - लेनदेन भाग: ५६ साल: २०७१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७०/११/२० ३९४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री तर्कराज भट्ट फैसला मिति : २०७०।११।२०।३ ०६९–CI–१३०८ मुद्दा : लेनदेन पुनरावेदक/वादी : रोल्पा जिल्ला, जिनाबाङ गा.वि.स.वडा नं. ८ रमाइगाउँ बस्ने टीकाबहादुर वली विरूद्ध प्रत्यर्थी/प्रतिवादी : रोल्पा जिल्ला, राँक गा.वि.स. वडा नं. १ रातामाटा बस्ने धनीराम खड्का रेखा र लेखा विशेषज्ञको अघिल्लो र पछिल्लो राय विरोधाभाषपूर्ण नभई पछिल्लो राय यथार्थमा अघिल्लो रायकै अभिन्न भाग र कडी भएको अवस्थामा पछिल्लो रायलाई प्रस्तुत मुद्दामा आधिकारिक मान्न नसकिने कुनै कारण नदेखिने । अत्याधुनिक प्रविधिबाट विशेषज्ञद्वारा परीक्षण भई तथ्य र आधार सहित तमसुक लिफामा खडा भएको भनी दिएको रायलाई अन्य स्वतन्त्र प्रमाणबाट पनि पुष्टि भइरहेको छ । विवादित लिखतलाई नाङ्गो आखाँले हेर्दा पनि लिखतका पंक्तिहरू दुई शब्दबीचको असमान र अस्वाभाविक खाली ठाउँसमेतबाट सो लिखत स्वाभाविकरूपमा तैयार भएको कपाली तमसुक मान्न नसकिने । (प्रकरण नं.४) पुनरावेदक/वादीका तर्फबाट : प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा २३(१) कीर्ते कागजको १० नं. सुरू फैसला गर्ने : मा.जि.न्या.श्री राजुकुमार खतिवडा पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री शेषराज सिवाकोटी मा.न्या.श्री मिहिरकुमार ठाकुर फैसला न्या.प्रकाश वस्ती : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‍ ठहर यस प्रकार छ : विपक्षी धनीराम खड्काले मिति २०६१।१०।१० गते बुझाउने शर्तमा घरखर्च तथा जग्गा खरीद गर्न भनी मबाट मिति २०६० साल माघ १० गते रू.४,२०,०००।– ऋण लिनु भई सोही मितिमा तमसुक गरी मलाई दिनु भएकोमा निज विपक्षीले तोकेको समयमा साँवा व्याज कुनै नबुझाई खाने पचाउने नियत लिनु भएकाले साँवा व्याज रू.१,७७,७९९।९९ समेत रू.५,९७,७९९।९९ र मुद्दामा अन्तिम टुङ्गो लागी बिगो भरिभराउ हुँदाका दिनसम्मको व्याजसमेत भराई पाउँ भन्ने वादी टीकाबहादुर वलीले रोल्पा जिल्ला अदालतमा दायर गरेको फिरादपत्र । म प्रतिवादी धनीराम खड्काले आफ्नो घरायसी व्यवहार मिलाउनको लागि मेरो नाममा नापी दर्ता भएको मेरो हक भोगमा रहेको रोल्पा राँक गा.वि.स.वडा नं. १ को कि.नं. ५५ र ५६ को २ कित्ता जग्गा जेठा छोराको छोरा मेरो नाति झक्कुप्रसाद खड्का र कान्छो छोरा प्रकाश खड्कालाई बराबरको दरले कित्ताकाट गरी दिनुपर्ने अवस्था आएको र कान्छो छोरा प्रकाश खड्का आफ्नो काम व्यवहारले जग्गा राजीनामा गराई लिन मालपोत कार्यालय, रोल्पामा उपस्थित हुन नसक्ने भएकोले निजको ईच्छापत्र कागज र अन्य सबै कागजात लिई टीकाबहादुर वलीलाई जिम्मा दिएको अनुपस्थित छोरा प्रकाश खड्काको ईच्छापत्रवाला निजै टीकाबहादुर वली भई निज र निजको सहयोगीले मिति २०६३।१२।२५ गते उल्लिखित कि.नं. ५५ र ५६ को जग्गामध्ये आधा जग्गा झक्कुप्रसाद खड्का र आधा जग्गा प्रकाश खड्कालाई मालपोत कार्यालय, रोल्पाबाट राजीनामा रजिस्ट्रेसन पारीत गरी दिने कार्य गरेका थिए । सो मिति २०६३।१२।२५ गते जग्गा राजीनामा रजिस्ट्रेसन पारीत भए तापनि कामकाजको चापको कारण सो दिन सक्कल स्रेस्तामा कैफियत जनाउने र नयाँ स्रेस्ता कायम गर्ने काम बाँकी नै रहेको थियो । रजिस्ट्रेसन पारीत भइसकेपछि बेलुका निज टीकाबहादुर वलीको डेरामा जाँदा निजले मालपोत कार्यालयमा का