निर्णय नं. १८८१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८८१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४०/१२/०५ २५४२ निर्णय नं. १८८१ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रि.नं. ११२४ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : का.जि. का.न.पं. वार्ड नं. १७ क्षेत्रपाटी बस्ने पञ्चनारायण महर्जन विरूद्ध विपक्षी : का.जि. का.न.पं. वार्ड नं. ३० कमलाक्षी असन बस्ने तिर्थनारायण मानन्धर मालपोत कार्यालय काठमाण्डौंको मालपोत अधिकृत श्री गणेश प्रसाद पाण्डे मालपोत कार्यालय काठमाण्डौं आदेश भएको मिति : २०४०।१२।५।१ मा § सबूद प्रमाणको जाँचबुझ गरी तथ्यको निरोपण रिट क्षेत्रबाट गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद र विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको व्यहोरा यस प्रकारको रहेछ : २. म निवेदकले विपक्षी तिर्थनारायणको का.जि. का.न.पं. वार्ड नं. १७ स्थित क्षेत्रपाटी ढल्कोको ५ रोपनी विर्ता जग्गा मोहीमा कमाई आएको नापी लागू हुँदा उक्त जग्गा का.न.पं. वार्ड नं. १९ (ख) अन्तर्गत कि.नं. ५३। को क्षेत्रफल २–५–१ को विपक्षी जग्गाधनी र म निवेदकको मोही कायम भई फिल्डबुकमा समेत मेरो नाउँ उल्लेख भई मेलै विपक्षी विर्तावाललाई विधिवत रूपमा कूतबाली बुझाई भूमिसुधार लागू भए पश्चात मेरो नाउँमा उल्लिखित जग्गाको जोताहा अस्थायी निस्सा प्राप्त गरी अद्यावधी रूपमा भोगी जोती आइरहेको थिएँ । विर्ता उन्मूलन ऐन, ०१६ को दफा ७(१) अन्तर्गत कुनै विर्ता जग्गा विर्तावालले ऐनले निर्धारित गरेको म्यादभित्र रैकर परिणत गरी सक्नु पर्ने नगराएको खण्डमा विर्ता जग्गाको विवरण समेत उल्लेख गरी ऐ ऐनको दफा ७(४) बमोजिम मोहीले विर्ता जग्गा रैकर परिणत गरी जग्गाधनी कायम गर्न पाउने कानूनी प्रावधान अनुरूप ०३८।३।२२ मा उक्त विर्ता जग्गा विपक्षीले अझसम्म रैकरमा परिणत नगराउनु भएकोले ऐ ऐनको प्रावधान अवलम्वन गरी विवरण समेत उल्लेख गरी (ख) श्रेणीको विर्ता जग्गा रैकर परिणत परी पाउँ भनी मालपोत कार्यालयमा निवेदकले निवेदन दिएको र विपक्षी तिर्थनारायण मानन्धरले उल्लिखित विवादको जग्गा बाजे पञ्चनारायण मानन्धरको नाउँमा साविक टोखा मौजा हाल नं. ११८५ मा रैकरमा परिणत भइसकेको बाजे कालगतिले सं.१९८९ मा मृत्यु भई मेरो हक स्थापित हुन आएको हुँदा मोहीको नाउँमा रैकर परिणत हुनपर्ने होइन भनी स्थानीय का.न.पं. वार्ड नं. १७ को सिफारिश पत्र र अन्यत्र जग्गाको पोता रसिद जबरजस्ती समावेश गराएको थियो । विपक्षी तिर्थनारायण मानन्धरले उल्लिखित व्यहोराको निवेदन प्रस्तुत गरेपछि म निवेदकलाई त्यस विवादका कुनै व्यहोराको जानकारी नै नगराई क्षेत्रपाटी अवस्थित जग्गालाई टोखाका हाल नम्बर भिडाई मेरो निवेदन माग बमोजिम रैकर परिणत नहुने ठहर्याई रैकर परिणत भइसकेको एक पक्षिय अनुचित एवं दूषित मूल्याङ्कन गरी असम्बन्ध हचुवा रसिदका आधारमा विपक्षीको नाउँमा नाउँसारी दर्ता प्रमाणित गर्ने गरी ०३९।५।७ मा विपक्षी मालपोत कार्यालयबाट उजूर परे स्वतः बदर हुने गरी टिप्पणी निर्णय सदर गरियो । ३. जुन निर्णय अनुचित र प्रचलित विर्ता उन्मूलन नियमावली, २०१७ को दफा १२