निर्णय नं. १८९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०२/२६ २३३२ निर्णय नं. १८९५ ने.का.प. २०४१ अङ्क २ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०३९ सालको रि.फु.नं. ४० विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : नुवाकोट जिल्ला खड्गभञ्ज्याङ गा.पं. वडा नं. ८ बस्ने भिमकेशर ठकुरी विरूद्ध विपक्षी : ऐ ऐ बस्ने बुद्धिबहादुर राई मालपोत कार्यालय नुवाकोटका मालपोत अधिकृत श्री हिम विक्रम के.सी. आदेश भएको मिति : २०४१।२।२६।६ मा § पारित भएको राजीनामा बमोजिमको कित्ता सच्याई दाखिल खारेज गर्न सक्ने अधिकार दफा ७(३) ले मालपोत कार्यालयलाई प्रदान गरेको देखिने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नूतन थपलिया विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान का.मु.अतिरिक्त सरकारी अधिवक्ता श्री ध्रुवलालराज उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३८।७।२१ को इन्साफमा चित्त नबुझी निवेदक भीमकेशरी ठकुरीले फुल बेञ्चबाट सो मुद्दा दोहोर्याई पाउँ भनी श्री ५ महाराजाधिराजका हजुरमा न्यायिक समिति मार्फत चढाउनु भएको बिन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्याई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आई फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. विपक्षी मध्येका बुद्धिबहादुर राईलाई मेरो दर्ता तिरोको खड्ग भञ्ज्याङ गा.पं. वडा नं. ९ कि.नं.१७ को क्षेत्रफल २–४–१–२ जग्गा रु.१८,०००।– मा राजीनामा पास गर्दा मिति ०३६।१२।१५ गते रु.१५,४०० लिई बाँकी रु.२६००।– पछि दिने विपक्षी बुद्धिबहादुरले मौखिक जमान गर्नुभएकोमा उक्त बाँकी रु.२,६००।– तिर्नु पर्ला भन्ने रिसले उक्त राजीनामामा लेखिएको जग्गा वाहेकको मेरो हकभोगको खड्ग भञ्ज्याङ गा.पं.कि.नं. ६०७ को क्षेत्रफल २–९–०–२ को जग्गाको ४ किल्ला उक्त लिखतमा पर्छ भनी विपक्षी मालपोत कार्यालयमा दर्खास्त दिनुभएछ । सो कार्यालयले मलाई बुझ्दा आफ्नो भएको सत्य साँचो व्यहोरा दर्शाई मैले बिक्री गरेको जग्गाको कि.नं. १७३ हो, सो जग्गाको क्षेत्रफल २–४–१–२ हो र तिरो रु.३।९८ लाग्छ जग्गाको ४ किल्लाबाहेक अरू कि.नं. तिरो केही फरक छैन । लिखतमा उल्लिखित कि.नं. र क्षेत्रफलको जग्गा विपक्षी बुद्धिबहादुरले भोग गर्दै आउनुभएको छ भन्ने समेत व्यहोराको बयान गरेको थिएँ । विपक्षी मालपोत अधिकृतले रु.१८,०००।– लिई जग्गा लिँदा लिएको जग्गा हेरी राजीनामामा लेखिएको ४ किल्ला सुनी, हेरी जाँची पास गरे गराएको निवेदनको माग दावा मनासिब देखिने र नाप तिरो ४ किल्ला राजीनामा अनुसार कि.नं. ६०७ मा मिल्छ भिड्छ भन्ने कुरामा विपक्षी भीमकेशरले विवादै नउठाई स्वीकार गरेको हुँदा पास गर्दा अड्डाले सोही बुझी सनाखत गराई रुपैयाँ पूरा लिई पाईसकें लिन बाँकी छैन, पास गरी दिए मञ्जूर छ भन्ने भएपछि मात्र पास हुने हुनाले लिए पाएको भनी पास भएको कुरामा विना लिखत रू.२६००।– बाँकी लिनु नदिए बखडा गरी कि.नं. ६०७ लिएको भनेको हो भनी विपक्षी भीमकेशरको भनाई लेखाई भई कि.नं. १७३ दिएको हुँ भूलले कि.नं. ६०७ को किल्ला लेखिएछ भन्ने कुरा मिल्न आएकोले राजीनामामा लेखिएको तिरो नाप ४ किल्ला भित्र पर्ने कि.नं. ६०७ को जग्गा भीमकेशरका नाउँबाट बदर गरी निवेदन बुद्धिबहादुरका नाउ