निर्णय नं. १९२० - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९२० - लेनदेन भाग: २६ साल: २०४१ महिना: असार अंक: ३ फैसला मिति :२०४१/०३/०९ ३४४३ निर्णय नं. १९२० ने.का.प. २०४१ अङ्क ३ फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको दे.फु.नं. ३७ मुद्दा : लेनदेन निवेदक/प्रतिवादी : का.जि. का.न.पं. वार्ड नं. २ लाजिम्पाट बस्ने पृथ्वीबहादुर शाह विरूद्ध विपक्षी/वादी : कृषि खरीद बिक्री संस्थान प्रधान कार्यालय काठमाडौंको कार्यकारिणी अध्यक्ष तथा महाप्रबन्धक अकुर नसिंह राणा संस्थान विघटन भएबाट हाल नेपाल खाद्य संस्थान प्रधान कार्यालय, बत्तिसपुतली, काठमाडौं फैसला भएको मिति : २०४१।३।९।६ मा § कारोवर शुद्धकर्जा ऋणको रूपमा भएको नभई व्यापारिक कारोवारका लागि प्रतिवादीले पेश्की लिएको देखिन्छ, त्यस्तोमा लेनदेन व्यवहारको महलको २ नं. आकर्षण हुन्छ भनी व्याख्या गर्न नमिल्ने भई ऐजन महलको ४० नं. आकर्षित हुने । (प्रकरण नं. २०) निवेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल उल्लिखित मुद्दा : निवेदक प्रतिवादी महेन्द्र विक्रम शाही विरूद्ध विपक्षी वादी गोविन्दमान प्रधान भएको लेनदेन जालसाजी मुद्दा (ने.का.प. २०२२ निर्णय नं. २७६ पृष्ठ ३४) र निवेदक वादी त्रिरत्न तुलाधर विरूद्ध प्रतिवादी चौथीमान माली भएको लेनदेन मुद्दा (ने.का.प. २०३१ निर्णय नं. ८०१ पृष्ठ ३७) फैसला प्र.न्या. नयनबहादुर खत्री : श्री ५ महाराजाधिराज सरकारका जूनाफमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०३८।५।१५ मा भएको फैसलामा प्रत्यक्षतः कानूनी त्रुटि भएको हुँदा इन्साफ जाँची दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भनी प्रतिवादी पृथ्वीबहादुर शाहको बिन्तिपत्र परेकोमा फुल बेञ्चबाट दाहोर्याई हेरी कानून बमोजिम गर्नु भन्ने हुकुम बक्स भई आए बमोजिम यस अदालत फुल बेञ्चको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम रहेछ । २. विपक्षी पृथ्वीबहादुर र तत्कालीन खाद्य संस्थानका बीचमा २०२२–०२३ सालदेखि नै परस्परमा लेनदेन कारोवार चलिरहेको थियो । मिति २०२८।४।३ सम्ममा विपक्षीले खाद्य व्यवस्था संस्थानलाई सावाँ जम्मा रु.१,११,०६३।८४ बुझाउनु पर्नेमा बुझाउँन नसकी २०२८ साल पौष मसान्त सम्ममा ब्याज सहित उक्त रुपैयाँ बुझाउने छु । बुझाउन नसकेमा आफ्नो हक भोगको का.न.पं. वार्ड नं. २४ मा पर्ने तिरो रु.६।३६ समेत बुझाउनु पर्ने ल.नं. १२२० मा दर्ता भएको जग्गा तथा घर समेत र सो बाट नपुगे अरू गैर जेथाबाट असूल उपर गरी लिएमा मञ्जूर छ भन्ने व्यहोराको मिति २०२८।४।४।३ मा विपक्षीले लिखत गरी दिनुभएको थियो । सो संस्थान विघटन भई यस संस्थानलाई हस्तान्तरण भएको उल्लिखित बाँकी सावाँ रकम मध्ये मिति २०२८।१०।१० मा रु.१०,०००।– तत्कालीन खाद्य व्यवस्था संस्थानलाई बुझाउनु भएकोले सो रकम कट्टा गर्दा निजले यस संस्थानलाई सावाँ जम्मा रु.१,०१,०६३।–बुझाउन बाँकी रहन गएको हुँदा उक्त रुपैयाँ ब्याज सहित बुझाउनु होस् भनी बरावर तरताकेता गर्दा पनि कुनै वास्ता नगरी चुप लागी रुपैयाँ पचाउने नियत गर्नुभएकोले फिराद दायर गर्न आएको छु । विपक्षीबाट २०२३।४।३ देखि २०२८।१०।१० सम्म रु.१,११,०६३।८४ को वार्षिक सयकडा १० का दरले हुने जम्मा ब्याज रु.६१,२६९।६७ र विपक्षीले २०२८।१०।१० मा बुझाएको रु.१०,०००।– साँवामा कट्टा गर्दा बाँकी हुन आएको