निर्णय नं. ८८९२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८९२ - उत्प्रेषण भाग: ५४ साल: २०६९ महिना: पौस अंक: ९ फैसला मिति :२०६९/०६/०३ ७७६५ ने.का.प. २०६९, अङ्क ९ निर्णय नं. ८८९२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की २०६५–WO–०३७९ आदेश मितिः २०६९।६।३।४ विषय : उत्प्रेषण । निवेदकः बारा जिल्ला, रामपुर, टोकनीस्थित डावर नेपाल (प्रा) लि. को तर्फबाट ऐ. को अधिकारप्राप्त मुख्य कार्यकारी अधिकृत उदयन गांगुली विरुद्ध विपक्षीः श्रम अदालत समेत § श्रम ऐन २०४८ को दफा ७ अनुसार करारमा राखिएका कामदार कर्मचारीहरूको हकमा ऐनका सबै प्रावधान र व्यवस्था लागू हुने अवस्था नरहने । § कम्पनीमा कार्यरत कर्मचारी सामान्यतया सबैले र विशेष गरी करार सेवाका बिशिष्ट पदका कर्मचारीले कम्पनी र आफ्नो काम प्रति पूर्ण रूपले प्रतिबद्ध रहनुका अतिरिक्त निजको आचरण र कामप्रति कम्पनी आश्वस्त एवम् विश्वस्त रहनुपर्ने हुन्छ । कर्मचारीको आचरण, व्यवहार, सेवा वा कामप्रति रोजगारदाता कम्पनीको विश्वास नै रहेन भने सो कामको गुणस्तर, उत्पादकत्व र कम्पनीको Goodwill नै संकटापन्न स्थितिमा पुग्दछ । त्यसैले त्यस्तो प्रत्येक कामदार, कर्मचारीले कम्पनीको विश्वास हासिल गरी नै रहनुपर्ने । (प्रकरण नं.१२) § श्रम ऐनले नै व्यवस्थापन र कर्मचारीबीचको सहमतिबाट पूर्व निश्चित् शर्तहरूमा करार सेवामा कामदार वा कर्मचारीलाई कुनै खास काममा लगाउन सक्ने व्यवस्था गरेको छ । यस्ता कर्मचारी वा कामदारको हकमा श्रम ऐन, २०४८ को दफा १० को सेवा सुरक्षा र दफा ५३ को प्रक्रिया लागू हुन नसक्ने । (प्रकरण नं.१४) निवेदकका तर्फबाटः विद्वान अधिवक्ताहरू नारायण नेपाल, रमेश वडाल, रत्नकुमार खरेल, अरुणकुमार ज्ञवाली, बालकृष्ण नेउपाने र वोर्णबहादुर कार्की विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी, विद्वान वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव, विद्वान अधिवक्ताहरू सतीशकृष्ण खरेल र आनन्दमणि लम्साल अवलम्बित नजीरः सम्बद्ध कानूनः § कम्पनी श्रम ऐन, २०४८ को दफा २(ख), ७, १०, ५२ र ५३ आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकार भित्र दायर भएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :— डावर नेपाल प्रा.लि. उत्पादनमूलक उद्योगको रूपमा औद्योगिक व्यवसाय ऐन, २०४९ बमोजिम दर्ता भएको उद्योग हो । कम्पनीले कृषि मजदुर, दैनिक ज्यालादारी कामदार एवं कृषि तथा नर्सरी विशषज्ञको प्राविधिक एवं व्यवसायिक सेवा लिने गरेको छ । कामदार एवं विशेषज्ञको सेवा लिनका लागि करारको माध्यमबाट समेत नियुक्ति प्रदान गर्ने गरेको छ । आन्तरिक मूल्याङ्कनको आधारमा कम्पनीले सेवाको निरन्तरता समेत प्रदान गरी श्रम ऐनका व्यवस्थाहरूको पूर्णत पालना गर्दै आएको छ । कम्पनीले विशेषज्ञको रूपमा व्यवसायिक सेवा प्राप्त गर्नका लागि विपक्षी रामनारायण यादवसँग कम्पनीको सेवाको शर्त बन्देजको अधिनमा रहने गरी दुबै पक्षले ७ मार्च १९९९ (मिति २०५५।११।२३) मा करारिय प्रकृतिको नियुक्ति पत्र लिने दिने कार्य सम्पन्न भएको थियो । उक्त नियुक्ति पत्रमा दुबै पक्षको सहमति रहेको, निज रामनारायण प्रसाद यादवको नियुक्तिको स्रोत सोही शर्त बन्देज सहितको नियुक्ति पत्र हो र उक्त नियुक्ति पत्रको शर्त बन्देजमा उल्लिखित बुँदाहरू कम्पनी र निज रामनारायण यादव दुबैमा समान रूपमा लागू हुन्छ । विपक्षी रामनारायण यादवले कम्पनीको एक्सटेन्शन प्रमोशन अफिसर जस्तो जिम