निर्णय नं. ८९०० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९०० - उत्प्रेषण भाग: ५४ साल: २०६९ महिना: माघ अंक: १० फैसला मिति :२०६९/०६/०८ ३०६५ ने.का.प. २०६९, अङ्क १० निर्णय नं. ८९०० सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री भरतराज उपे्रती रि.नं. २०६८–WO–१०४१ आदेश मितिः २०६९।६।८।२ विषयः उत्प्रेषण समेत । निवेदकः का.जि.,का.म.न.पा.वडा नं. ३४ बस्ने गोरखा बडीमालिका जे.भी.कम्पनीको तर्फबाट अख्तियारप्राप्त विजय मल्ल विरुद्ध विपक्षीः सार्वजनिक खरीद अनुगमन कार्यालय, ताहाचल समेत § २० महिनामा सम्पन्न गर्ने प्रतिवद्धतासहित सम्झौता गरिएको कार्य ५ वर्ष व्यतीत हुँदासम्म पनि सम्पन्न नगर्ने तथा पटकपटक काम छाडी हिड्ने र सम्बन्धित कार्यालयले उपस्थित भई कार्य सुचारु गर्न पटकपटक मौका दिँदा समेत कामप्रति उदासीनता देखाउने कार्य प्रारम्भिक रूपमा नै गैरजिम्मेवारपूर्ण देखिन आउने । § सार्वजनिक पूर्वाधारको निर्माण गर्ने जिम्मेवारी लिने पक्षले तोकिएको समयमा, तोकिएको गुणस्तर कायम गर्दै सम्झौताबमोजिमको कार्य गर्नु कानूनी र नैतिक दायित्व भएकाले भौतिक पूर्वाधारको अपर्याप्तता खड्किएको विकासोन्मूख मुलुकमा द्रुततर रूपमा भौतिक पूर्वाधार विकास गर्दै लैजानुपर्ने टड्कारो आवश्यकता रहेको वस्तुतथ्यलाई यस क्षेत्रमा संलग्न सबैले हृदयंगम गर्नुपर्ने । § आफ्नो दायित्व निर्वाह गर्न हरसम्भव प्रयास गर्दागर्दै पनि काबूबाहिरको परिस्थिति पर्न गई कार्य सम्पन्न हुन नसक्नु अर्कै स्थिति हो तर यसको लागि प्रयास गरेको समेत पनि नदेखिनुलाई उचित मान्न नसकिने । (प्रकरण नं.८) § कानूनी व्यवस्थाबमोजिम सम्झौताअनुरूपको दायित्व सारभूतरूपमा पालना नगरेको अवस्थामा कालोसूचीमा राख्ने गरी भएको निर्णय अन्यथा देखिन नआउने । (प्रकरण नं.१०) निवेदक तर्फबाटः विद्वान अधिवक्ता हरिप्रसाद उप्रेती प्रत्यर्थी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § सार्वजनिक खरीद ऐन, २०६३ को दफा ६३(१)(ग) आदेश प्र.न्या.खिलराज रेग्मीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः– म निवेदक समेतले दर्ता गरेको गोरखा कन्स्ट्रक्शन कम्पनी नेपाल प्रा.लि.र हरिसिंह बोहोरा समेतले दर्ता गरेको बडीमालिका निर्माण सेवा कम्पनी प्रा.लि. का बीच भएको सम्झौताबमोजिम खडा गरिएको गोरखा बडीमालिका जे.भी. कम्पनीले नेपालगञ्ज नगरपालिका कार्यालयसँग सम्झौता गरी नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसको डिग्री ब्लक, गल्र्स होस्टेल तथा बाउण्ड्री बाल निर्माण कार्यको लागि रु.१,९६,७८,३२३।४६ मा ठेक्का लिएको थियो । पचास प्रतिशतभन्दा बढी काम सम्पन्न गरेपछि देशमा विद्यमान रहेको राजनीतिक संक्रमणकालीन अवस्था, बन्द हडताल, घेराउ जस्ता कारण र निर्माण सामग्रीमा भएको तीव्र मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव, इन्धनको अभाव, जे.भी. पार्टनर हरिसिंह बोहोराको दुःखद् निधन तथा रु.३१,७६,०१७।६९ (भ्याट सहित) को छैटौं रनिङ्ग बीलको भुक्तानी नदिएको र उल्टै जे.भी. कम्पनीको तर्फबाट नगरपालिकाको पक्षमा जारी गरेको परफमेन्स बन्डको रूपमा रहेको रु.९,८५,०००।– रकम पर्याप्त हुँदाहुँदै नगरपालिकाले रु. १५,००,०००। (प्रन्ध लाख) थप बैंक ग्यारेन्टी मागी दैनिक काम चलाउनको लागि थोरै रकम मात्र उपलब्ध गराउने र बैंक जमानतको आधारमा निर्माण सामग्री उपलब्ध गराउन नगरपालिका जमानी बसी दिने सहमती भएकोमा सो काम सम