निर्णय नं. ९०९२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०९२ - कर्तव्य ज्यान भाग: ५५ साल: २०७० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७०/०५/२३ ६८२२ नेकाप २०७० अङ्क १२ नि.नं.९०९२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय फैसला मिति : २०७०।५।२३।१ ०६९-CR-०३८३ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी : हर्कबहादुर विश्वकर्मासमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला संखुवासभा, बानेश्वर गा.वि.स. वडा नं. ६ बस्ने थोमबहादुर तामाङसमेत अभियोग दावी लगाउनु र अभियोग स्थापित हुनु अलगअलग कुरा हुन् । फौजदारी कसूरअन्तर्गत अभियोग दावी लिंदा सो दावीलाई पुष्टि गर्ने यथेष्ट प्रमाणहरूको विद्यमानता हुनु अनिवार्य हुने । अनुमान तथा अड्कलका भरमा अभियोगलाई स्थापित गर्दै जाने हो भने फौजदारी न्यायको मूल मर्म नै परास्त हुन गै समग्र न्याय प्रणालीप्रति नै वितृष्णा हुने । प्रतिवादीहरू वारदातका बखत वारदात स्थलमा मौजूद हुनु बाहेक कुटपीट गरी मार्नेसम्मको कार्यमा प्रतिवादीहरूको अन्य कुनै काम, कारवाही भएको भन्ने वस्तुनिष्ठ प्रमाणको अभावमा प्रतिवादीहरूलाई अभियोग दावीबमोजिमको सजाय निर्धारण गर्नु फौजदारी न्यायको सिद्धान्तविपरीत हुने । (प्रकरण नं.५) पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी प्रत्यर्थी/प्रतिवादीतर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : ज्यानसम्बन्धी महलको १७(३), १३(३) शुरू तहमा फैसला गर्ने मा.न्या.गोपालप्रसाद बाँस्तोला पुनरावेदन तहमा फैसला गर्ने मा.मु.न्या.गोविन्दकुमार उपाध्याय मा.न्या.शम्भुबहादुर खड्का फैसला न्या. कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, धनकुटाबाट मिति २०६९/३/१७ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतसमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नबमोजिम रहेको छ । १. तथ्य खण्ड : मिति २०६१/१२/२२ गते बेलुकी अं.१७.०० बजेको समयमा मेरो दाजु पर्शुराम वि.क. लाई जिल्ला संखुवासभा, बानेश्वर गा.वि.स. वडा नं. ६ खाम्लिङ बस्ने चतुरमान तामाङसमेतका मानिसहरूले बिनाकारण निहुँ खोजी लाठीले कुटपीट गर्दा सख्त घाइते भई सोही राती अन्दाजी ३.०० बजे मृत्यु भएको हुँदा कानूनबमोजिम गरिपाऊँ भन्नेसमेत व्यहोराको हर्कबहादुर वि.क. को मिति २०६१/१२/२४ को जाहेरी दरखास्त । मृतक पर्शुराम वि.क. को टाउकोको टुप्पोको बीच भागमा १६ से.मि. लामो चोट भएको उक्त चोटबाट रगत बगिरहेको, नाक र मुखबाट रगत बगेको, अन्य भागमा केही पिल्सिएको देखिएको भन्नेसमेत व्यहोराको मिति २०६१/१२/२४ को घटनास्थल लास प्रकृति मुचुल्का । मिति २०६१/१२/२२ गते गाउँकै म, तारादेवी राई र रमिता राई तुम्लिङटार फोन गर्न आई घरतर्फ फर्कने क्रममा खराङ ९ स्थित गन्धेपानीमा बसिरहेको अवस्थामा जिल्ला भोजपुर जरायोटार–४ बस्ने पर्शुराम वि.क. तुम्लिङटारबाट सोही स्थानमा पुगे । खाम्लिङ बस्ने चतुरमान तामाङसमेत ५ जना भरीयाले पनि जाँड खाई रहेका थिए । सोही अवस्थामा चतुरमान तामाङ र पर्शुराम वि.क. को वादविवाद हुँदाहुँदै चतुरमान तामाङले पर्शुराम वि.क. लाई दाउराले टाउकोमा हान्यो । सोही अवस्थामा चतुरमान तामाङको साथीहरूले पनि हिर्काउन लागे । निजहरूले कुटीरहेकै अवस्थामा खराङ–९ बस्ने निर्वाचन न्यौपाने र धनशेर राना मगरले पनि लाठीले निज पर्शुराम वि.क. लाई भकाभक कुट्न थाले । मृतकको मृत्यु चतुरमान तामाङ, निर्वाचन न्यौपाने, धनशेर राना मगरसमेतको कुटाईबाट भएको हो भन्नेसमेत व्य