निर्णय नं. ९०९३ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०९३ - कर्तव्य ज्यान भाग: ५५ साल: २०७० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७०/०७/०४ ३४८० नेकाप २०७० अङ्क १२ नि.नं.९०९३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री तर्कराज भट्ट फैसला मिति : २०७०।७।४।२ ०६८-CR-११३७ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : नुवाकोट जिल्ला, जिलिङ गा.वि.स.वडा नं.१ पाँचखाल बस्ने सविता रिजाल विरूद्ध प्रत्यर्थी/वादी : पुरूषोत्तम रेग्मीको जाहेरीले नेपाल सरकार ०६९-RC-0046 वादी : पुरूषोत्तम रेग्मीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : नुवाकोट जिल्ला, जिलिङ गा.वि.स.वडा नं.१ पाँचखाल बस्ने विष्णुप्रसाद रिजालसमेत § एकै परिवारका सदस्यहरूबीच रहेको अवैध सम्बन्धको बारेमा परिवारका अन्य सदस्यका सामु खुलासा हुनु र रातिको समयमा घरबाट बाहिर जाँदासमेत मृतकका श्रीमान् तथा घरपरिवारका अन्य सदस्यहरूबाट खोजतलास नगरिनु तथा प्रहरीमा उजुरीसमेत नगरिएबाट प्रतिवादीहरूको मृतकप्रतिको नकारात्मक मानसिकता प्रष्ट हुने । (प्रकरण नं.४) § पोष्ट मार्टम रिपोर्टबाट मृतकको मृत्यु कुटपीटबाट भएको भन्ने देखिएकोले आत्महत्या भन्न सकिने कुनै तथ्य विद्यमान नदेखिएको र मृतक घरबाट बाहिर गएको भन्ने सम्मको तत्काल अघि अवैध यौन सम्बन्धको विषयलाई लिएर विवाद गरी कर्तव्य गरी मारी फालेको प्रतिवादीहरूले स्वीकार गरेको देखिन्छ । उक्त विवादपछि मृतक घरबाट निस्केको र फिर्ता नआएको र मृतक मृत अवस्थामा फेला परेको भन्ने दर्शाएको पाइन्छ । मृत्युपूर्व घरको विवाद र तत्पश्चात् मृतकको लास फेला पर्नुलाई सो घटना र मृत्युबीचको कार्यकारणको सम्बन्ध नरहेको भन्न मिल्ने अवस्था रहेन । (प्रकरण नं.५) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र लव मैनाली प्रत्यर्थी/वादीतर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) र अ.बं.१८८ नं. शुरू तहमा फैसला गर्ने : मा.न्या.श्री मोहनकृष्ण खनाल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री ठाकुरप्रसाद शर्मा मा.न्या.श्री आनन्दमोहन भट्टराई फैसला न्या. कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।१।२९ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा १० बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :– मिति २०६४ साल माघ ६ गते बेलुका अन्दाजी ८:३० बजेको समयमा मेरी छोरी पवित्रा रिजाललाई निजको श्रीमान् नवराज रिजाल, देवर विष्णुप्रसाद रिजाल र जेठानी सविता रिजालको मिलेमतोमा कर्तव्य गरी मारी बेपत्ता बनाएकोले निज अपराधीलाई पक्राउ गरी कानूनबमोजिम कडा कारवाही गरिपाऊँ भन्ने मृतकको बाबु पुरूषोत्तम रेग्मीले जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा दिएको जाहेरी दरखास्त । पूर्वमा रामेश्वर रिजालको पाखो बारी, पश्चिम शिवप्रसाद पुडासैनीको घर, उत्तर खगेश्वर रिजालको घर र दक्षिण रामेश्वर रिजालकै घर यति ४ किल्लाभित्र ढुङ्गा, माटो र काठले बनेको नवराज रिजालको घर भन्ने घटनास्थल प्रकृति मुचुल्का । मृतकले लगाएको काँडेदार रिङ् र रातो चोलोले मृतक महिला पवित्रा रिजाल नै भएको भन्ने मृतकको श्रीमान् नवराज रिजालको कागज । निधारमा ठोक्किएको जस्तो चोट लागेको, पानीमा ढाडिएको लास भन्नेसमेतको लासजाँच प्रकृति मुचुल्का । श्रीमती पवित्रासँग मैले झगडा पनि गर्दिन थिएँ । हाम्रो सम्बन्ध राम्रो थियो । मिति २०६४।१०।६ गते बेलुका ९ बजेतिर भाइ विष्णुप्रसाद रिज