निर्णय नं. २७८६ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २७८६ - लेनदेन भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०७/२५ २३६० निर्णय नं. २७८६ ने.का.प. २०४३ अङ्क ७ डिभिजनबेन्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ७०६ फैसला भएको मिति : २०४३।७।२५।३ मा पुनरावेदक/प्रतिवादी : रा.बा.बैंक नेपालगञ्ज शाखा विरुद्ध विपक्षी/वादी : जिल्ला बाँके चिसापानी गा.पं.वडा नं.४ बस्ने लक्षेबुढा मुद्दा : लेनदेन (१) बैंकबाट कीर्ते गरी खातामा रहेको रकम झिकी लगेकोमा भ्रष्टाचार मुद्दा चली बैंकले भरी पाउने ठहर भइसकेपछि उनाउ व्यक्तिले रकम झिकी लगेकोले उनाउ व्यक्तिबाट भराउन वादीले नालेश नगरेबाट वादीको फिराद नै खारेज हुनुपर्ने भन्ने प्रतिवादीको जिकिर मनासिब नदेखिने । (प्रकरण नं. १३) (२) कीर्ते गर्नेबाट बैंकले भरी पाउने गरी भ्रष्टाचार मुद्दाबाट किनारा भएको देखिएबाट वादीले प्रतिवादीबाट सामा रकम भरी लिन पाउँदैन भन्न न्यायोचित नदेखिने । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्ल विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की फैसला न्या.बब्बरप्रसाद सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।७।२९ को फैसलामा चित्त नबुझी प्रतिवादी रा.बा.बैंक नेपालगञ्जको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्रदान भई दर्ता हुनआएको लेनदेन मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. म फिरादीले प्रतिवादी बैंकमा बचत खाता हि.नं. ७५९५।५१ रु.४२,३६५।– जम्मा गरेकोमा ०३९।३।२५ मा रु.७०००।– र ०३९।३।२७ मा रु.२०,०००।– समेत जम्मा रु.२७,०००।– झिकी लिएको भनी मेरो पास बुकमा लेखिदिएकोले मैले लिँदै नलिएको रकम किन लेखिदिएको भन्दा अब सो रकम तिमीले पाउँदैनौं । तिम्रो नाउँबाट उक्त रकम बाँके चिसापानी गा.पं.वा.नं.२ बस्ने गोपाल खड्काले लिएका हुन जस उपर बैंकले उजूर गरी बाँके जि.का.बाट निजलाई भ्रष्टाचारमा कारवाही समेत गरिरहेकोले उक्त रकम तिमीले यस बैंकबाट पाउँदैनौं भनी जवाफ दिएकोले उक्त २,७०००।– को ब्याज रु.८३१।१० समेत सावाँ ब्याज रु.२७,८३१।१० भरी भराई हुने मितिसम्मको ब्याज समेत रा.बा.बैंक नेपालगञ्ज शाखाबाट भराई पाउँ भन्ने लक्षबुढाको फिराद । ३. लक्षबुढाको नाउँमा मिति ०३९।३।२५ गते रु.७०००।– र मिति ०३९।३।२७ रु.२०,०००।– गरी रु.२७,०००।– भुक्तानी लिइसकेकोले विपक्षी फिरादीले झिकी नलिएको र गोपालबहादुर खड्काले झिकेको भन्ने भनाई छ । गोपालबहादुर खड्का उपर भ्रष्टाचार मुद्दा चली अदालतमा विचाराधीन रहेको छ । उक्त रकम बैंक जिम्मा छैन तसर्थ सो सावाँ रकम र व्याज दावी गरेको कानुनसंगत छैन । रकम झिकेको छैन भन्ने निजको भनाई छ । निजले कीर्ते जालसाजी गर्ने भनिएको व्यक्ति उपर ऐन बमोजिम आफ्नो बिगो भरी भराउ गर्ने प्रष्ट कानुनी व्यवस्था कीर्ते कागजको ७ नं. मा गरिएको छ । सो कानुनी प्रकृया नअपनाई लेनदेन व्यवहारको २ नं.आधार लिई वाणिज्य बैंक ऐन, ०३१ को दफा २३ को उल्लेख गरेको पनि गैरकानुनी छ लेनदेनको २ नं. तमसुकी ऋणको हकमा मात्र लागू हुन्छ र वाणिज्य बैंक ऐन, ०३१ को दफा २३ ले खातावालाको परलोक पछि रकम कसैलाई इच्छाएको छैन भन्ने निक्षेप उपर दावी गर्न पाउने नाबालकहरूको क्रम मात्र स्थापित गरेको छ । तसर्थ उक्त वाणिज्य बैंक ऐनको दफा २३ को प्रस्तुत मुद्दासंग सरोकार छैन । उल्लिखित जिकिर र कानुनी आधारमा वादी दावीबाट फुरसद गराई पाउँ फिराद खारेज गरी पाउँ भन्ने प्रतिउत्तर जिकिर ।