निर्णय नं. २७९० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २७९० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४३/०७/२५ २३९२ निर्णय नं. २७९० ने.का.प. २०४३ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रि.नं. १७८४ आदेश भएको मिति : २०४३।७।२५।६ मा निवेदक : जिल्ला सिराहा गा.पं.सझोरा वडा नं.५ बस्ने रामदेव यादव विरुद्ध विपक्षी : जि.सप्तरी गा.पं.रौतहट वडा नं.७ बस्ने तनुकलाल यादवसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) सरजमीनलाई मात्र आधार बनाई मोही कायम गर्न मिल्दैन । मोही कायम हुन कबूलियत र बाली बुझाएको भर्पाई दुवैको आवश्यकता पर्दछ, कबूलियतले मात्र हुँदैन । (प्रकरण नं. १६) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री जीतबहादुर कार्की, विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरी विपक्षी भूमिसुधार कार्यालय सप्तरीको निर्णय बदर गरी पाउँ भनी रिट निवेदन मिति २०४०।२।२४ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : जि.सप्तरी साविक प्रगना पकारिया मौजे सहेलको जग्गा नं. ५४४, ५४५, ५४२, ५५१, ५६३, ५६९, ५८२ गरी जम्मा ७ कित्ताको जग्गा विगहा २०–८–६ जग्गा म निवेदकले जि. सप्तरी मौजे कोईलाडी बस्ने सरोजदेवी संग खरीद गरी मिति ०२१।१२।३०।२ मा सप्तरी मालपोत कार्यालयबाट रजिष्ट्रेशन गराई दर्ता दाखिल समेत गराई जोती भोगी तिरो तिरी आएको छु । सर्वे नापी हुँदा उक्त जग्गा गा.पं. रौतहट वार्ड नं. ७ कि.नं.१९५ के ६–०–१७ समेत विभिन्न कित्ता नम्बरमा नापी नक्शा भयो । मैले २०२७।८।१ गतेमा लालपूर्जा समेत पाइसकेको छु मेरो दाता आफैं जोत आवाद गरी भोगी आउनु भएको कि.नं.१९५ मा कोही मोही थिएन । म निवेदकले पनि आफ्नै श्रम परिश्रमले जोत आवाद गरी रहेको थिएँ । कि.नं.१९५ को जग्गाधनी प्रमाणपूर्जामा मोहीको महलमा पनि प्रष्ट रुपले जो.खा.उल्लेख छ । जि.सप्तरी गा.पं.रौतहट वडा नं.७ हाल कित्ता नं.१६५ को धनहर अवल जग्गा विगहा ६–०–१७ मध्ये दक्षिणतर्फ पश्चिमतर्फको ३–०–० जग्गा २०२९ साल बालीदेखि मोहीमा कमाउन दिनु भई ०२९।२।१४ मा कबूलियत लेखी अहिलेसम्म मैले मोहीमा कमाउँदै आई निज जग्गाधनीलाई बुझाउनु पर्ने कूत बुझाउँदै आएको छु । भर्पाई पाएको छैन मोहियानी हकको प्रमाणपत्र पाउँ भनी ०३६ साल माघमा विपक्षी जुगेश्वर मण्डल धानुकले भू.सु.कार्यालय सप्तरीमा निवेदन दिनु भयो । निवेदकले दावी गरेको जग्गा आफ्नो श्रम परिश्रमले नभ्याएकोले जि.सप्तरी गा.पं.रौतहट वडा नं.७ बस्ने दशैसंग समेतलाई मैले २०३० सालमा दोहरी कबूलियत गरी खेत जोत आवाद गर्न दिएको छु । साल सालै निजहरूबाट कूत बाली बुझी भर्पाई गरी दिएको छैन । विपक्षीसंग कहिले पनि मैले कूत बाली बुझेको छैन । दावी झुठ्ठा हो मुद्दा खारेज गरी पाउँ भनी मैले भू.सु.का.सप्तरीमा बयान गरें । अधिकारीबाट सक्कल प्रमाण पेश गर्न विपक्षी वादीलाई आदेश हुँदा उक्त कागज चोरीमा परेकोले पेश गर्न सकिन भनी ०३७।१।१९ मा विपक्षीले निवेदन दिनु भयो । भू.सु.कार्यालयबाट सरजमीनको डोर खटिई जाँदा निज विपक्षीकै दरबाजामा बसी विपक्षीकै पेशुवा मानिसको सरजमीन गराउनु भयो । निष्पक्ष व्यक्तिको सरजमीन भएन । विपक्षीले मिति ०३८ साल आषाढमा आफूलाई निर्दलवादी र मलाई बहुदल वादी भनी कपोल