निर्णय नं. २१२३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१२३ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: पौस अंक: ९ फैसला मिति :२०४१/०९/१३ २५४६ निर्णय नं. २१२३ ने.का.प. २०४१ अङ्क ९ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको डि.फौ.पु.नं. ४३४ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी : हरिबहादुर राईको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि. नुवाकोट नर्जा गणेश स्थान घर भै हाल के.का. कारागार शाखामा थुनामा बस्ने गोविन्द गिरी फैसला भएको मिति : २०४१।९।१३।५ मा § प्रमाण सम्बन्धी ऐन, २०३१ को दफा २५(२) बमोजिम वादी दावी प्रमाणित गर्ने भार वादीको हुने । (प्रकरण नं. २०) पुनरावेदक वादी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री श्यामबहादुर प्रधान विपक्षी प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : नुवाकोट जिल्ला अदालतले प्र.गोविन्द गिरीलाई ज्यान सम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद गर्ने गरेको फैसला उल्टी गरी सफाई पाउने ठहर्छ भनी गरेको फैसला न्यायसंगत नभएको हुँदा प्रहरी प्रतिवेदन बमोजिमको सजाय गरी इन्साफ पाउँ भनी श्री ५ को सरकार तर्फबाट पुनरावेदन परी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको छ : २. ०३७ साल फाल्गुण ५ गते गाउँकै भरत राईको घरमा गई बेलुका साँझ सम्म काइँली आमा घर नफर्कदा निज डम्बरकुमारको नाबालक छोरा वर्ष १३ को धने र वर्ष ९ को छोरी सुवी समेत आमा भएको ठाउँमा गई बेलुका ८ बजे पुगेपछि छोराछोरीलाई माइतीमै सुताई घर जान्छु भनी घरमा आई ढोकामा ताला लगाई निस्कीछ । सो रात हामीलाई थाहा भएन गाउँलेहरू खोजी गर्दै थिए । फाल्गुण १० गतेको दिन बिहानको ७ बजेतिर बद्री गिरीको आमा घसिनी भन्ने ढुंगाको सिलोट लिन जाँदा वावियाको डोरीको पासो घाँटीमा लगाई डम्बरकुमारी राई झुण्डी मरिरहेको देखी जाहेर गर्न आएको छु भन्ने मिति २०३७।११।११।१ मा हरिबहादुर राईका प्रहरीमा परेको जाहेरी दर्खास्त । ३. पूर्व जामुने कोर्ट जाने मूल बाटो, पश्चिम नर्जा फेदी जाने ठाडो बाटो उत्तर जामुनेबाट बेशी जाने बाटो दक्षिण बद्री गिरीको बारीको पाटाको डिलपट्टि ४ किल्लाभित्र ढुङ्गाको गारो खरको छाना भएको १ तल्ले २ नाले घरको चोटामा दुवै हात भूमिमा टेकी बाँया कान र नाकबाट रगत बगी रगत भूइँमा सुकी जिब्रो बाहिर निस्केको र दक्षिण झ्याल तर्फ दिसा लतपतिएको घटनास्थलको विवरण र लासप्रकृति मुचुल्का । ४. सानुकान्छा गिरीको घरमा सत्यनारायणको पूजाको निम्तो आएको हुँदा अरु साथीहरू जान्छन् कि भनी हिंड्दा डम्बरकुमारी भरतको आँगनमा भाँडा माझ्दै थिई निजले फर्कदा मलाई भेट्नु भनिन् र म फर्किदा उनले बद्री गिरीको खाली घरमा जाउँ भनिन् र खाली घरको चोटामा पुग्दा भनिन् कि तेरो घरको काममा सधैं भरी आउने र तँ पनि मेरो घरमा आउने हुँदा गाउँलेहरूले तेरो र मेरो लसपस भएको शंका गरी सके म तँसँग जान्छु मलाई करणी गर भनिन् मैले आमा जस्तो मानिसलाई करणी गर्दिन भन्दा हामी दुईको कुस्ता कुस्ती पर्दा दाहिने हातले मृतकको कञ्चटमा मुक्काले हिर्काउँदा साँइली आंैलामा लाएको फलामको आंैठीले लागी कञ्चटबाट रगत आई भूइँमा पछारिन् तैपनि नछोडेकोले निजको घाँटी थिची रहँदा सास फेर्न नसकी हिक्क हिक्क भएपछि निजले मलाई समातेको हात छुटिन गयो त्यसपछि निजको प्राण गई मरिसकेकी थिईन् । आफू अपराधबाट बच्नको लागि वावियाको डोरीदेखि झुण्ड्याउँदा आफैं झुण्डी मरेको जस्तो गराएको