निर्णय नं. ८९०३ - उत्प्रेषणयुक्त परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९०३ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५४ साल: २०६९ महिना: माघ अंक: १० फैसला मिति :२०६९/०६/०७ ३२२५ ने.का.प. २०६९, अङ्क १० निर्णय नं. ८९०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री भरतराज उप्रेती २०६८ –WO–१२५५ आदेश मितिः २०६९।६।७।१ विषयः– उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः जिल्ला महोत्तरी, वर्दिवास गा.वि.स., वडा नं.८ बस्ने शेरबहादुर लुङ्गेली समेत विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § आम जनतासँग सरोकार राख्ने विकास निर्माणसँग सम्बन्धित अस्पताल लगायतका भवन निर्माण कार्यको लागि उपयुक्त स्थानको व्यवस्था गर्ने दायित्व सरकारको हुने हुनाले अस्पताल कुन ठाउँमा बनाउन उपयुक्त हुन्छ भन्ने सम्बन्धमा उपयुक्त स्थानको चयन गर्ने तत् सम्बन्धी निर्णय गर्ने र निर्णय कार्यान्वयन गर्ने कार्य पनि सरकारको सम्बन्धित निकायको हो । प्रस्तुत विषय सरकारको नीतिगत निर्णयको कुरा भएको हुँदा अमुक स्थानमा अस्पताल निर्माण गर्नु अमुक स्थानमा निर्माण नगर्नु भनी अदालतबाट आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाटः विद्वान अधिवक्ताहरू रमन श्रेष्ठ र माधवकुमार वस्नेत विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ताद्वय ठोकप्रसाद शिवाकोटी र धर्मराज पौडेल, विद्वान अधिवक्ताहरू वोर्णबहादुर कार्की, रामनारायण विडारी र विजय मिश्र अवलम्बित नजीरः सम्बद्ध कानूनः § वन ऐन, २०४९ को दफा ६८ आदेश न्या.गिरीश चन्द्र लालः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा एवं यस अदालतको आदेश यस प्रकार रहेको छः– महोत्तरी जिल्लाको बर्दिवास पूर्व–पश्चिम राजमार्ग तथा वनेपा–वर्दिवास सडकको मिलन बिन्दू भएको कारणले गर्दा त्यहाँको जनघनत्व अविराम वृद्धि भैरहेको छ । त्यहाँ मानिसहरूको स्वास्थ्य सुविधाको लागि थोरै जनसंख्या भएको र बजार विस्तार नभएको बेलामा त्यति बेलाकै आवश्यकतालाई महसूस गरेर स्थापित थोरै क्षमता भएको स्वास्थ्य चौकीमात्र रहेको छ । सुलभ रूपमा स्वास्थ्य सेवा दिनको लागि पूर्वपट्टि कि जनकपुर, कि लाहान र पश्चिममा हेटौंडा आइपुग्नु पर्ने अवस्था रहेको र त्यही स्थानमा निजी नर्सिंङ होमहरू रहेको भए पनि सुपथ सेवा उपलब्ध हुन नसकेको तथा वर्दिवासमा सुविधायुक्त अस्पतालका लागि हामी निवेदक लगायतका जनताले एउटा सुविधा सम्पन्न अस्पताल स्थापना गर्नको लागि धेरै अघिदेखि सरकारसँग माग गरी आएका थियौं । त्यही क्रममा नै अस्पताललाई आवश्यक पर्ने जग्गाको उपलब्धताको लागि विपक्षी स्वास्थ्य मन्त्रालयबाट दुई वटा समिति समेत गठन गरेको र दुवै समितिहरूले विभिन्न विकल्पसहित प्रतिवेदन समेत दिएका थिए । त्यसमध्ये पहिलो मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा.महानन्द मिश्रको संयोजकत्वमा गठित समितिले के कस्ता सुझाव दिएको र सिफारिश गरेको थियों भन्ने एकिन जानकारी नभए पनि त्यसपछि काशीराज दाहालको संयोजकत्वमा गठन भएको समितिले अस्पताल स्थापना गर्नको लागि कम्तीमा २० कठ्ठा जग्गाको आवश्यकता पर्ने भन्दै वडा नं. १ र ३ मा रहेको च्यानडाँडा सामुदायिक वन रहेको स्थानमा पनि जग्गा उपलब्ध हुन सकेमा सो स्थानमा पनि स्थापना गर्न सकिने भन्ने लगायतका थुप्रै विकल्पहरू दिएको भए पनि अस्पताल स्थापनाको लागि आवश्यक जमिन प्राप्त हुन नसकेको कारणले हामी निवेदकहरू समेतको प्रयासमा वर्दिवाससँग जोडिएको माइस्थान गा.वि.स. वडा नं २ को पूर्व