निर्णय नं. २८३० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८३० - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४३/०८/१२ २३६२ निर्णय नं. २८३० ने.का.प. २०४३ अङ्क ८ संयुक्तइजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको फौ.पु.नं. ६६८ फैसला भएको मिति : २०४३।८।१२।५ मा पुनरावेदक/वादी : शिवचरण यादवको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.प.खैरवन्नी गा.पं.वडा नं.६ बस्ने परमेश्वर साहू सोनारसमेत मुद्दा : कर्तव्य ज्यान (१) रिस परेकोमा झुठ्ठा आरोप समेत लाग्न सक्ने हुनाले शंकारहित तवरबाट प्रतिवादीहरूको कर्तव्यले ज्यान मरेको अवस्था वादी पक्षबाट प्रमाणित हुन नसकेको हुनाले प्रतिवादीहरूले सफाई पाउने । (प्रकरण नं. १९) पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री वलराम के.सी. फैसला न्या.महेशरामभक्त माथेमा : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।२।१ को फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ । २. आजभन्दा १५।१६ दिन अघि खेत नजिकको चौरमा टाउको काटी लाश फ्याँकेको छ भन्ने गाउँमा चर्चा सुनेपछि खैरवन्नी घर भई हाल सीतामढी सिरसिया बन्ने सालो सोनफी यादव हराएको छ भन्ने सुनी निज बसेको ठाउँमा गई निजकी छोरी किसमतकुमारीलाई सोद्धा चार पाँच दिन अघि राम अवतार, भगवत, बम्बर भन्ने परमेश्वर साहू, देवन राय समेतका साथ खैरवन्नी जानु भएको फर्किनु भएको छैन भनेकीले फर्की लाश भएको ठाउँमा हेर्न जाँदा टाउको काटिएको लाश देख्यौं निजले लगाएको धोती, गन्जी, कमीजबाट सोनफी नै हो भन्ने चिन्यौं । निज विपक्षीहरू र अरु को को मिली ज्यान मारेका हुन् कारवाही गराई पाउँ भन्ने शिवचरण यादवले मिति २०३८।८।१५।२ मा जि.प्र.का.महोत्तरीमा दिएको जाहेरी दर्खास्त । ३. घटनास्थलमा रहेका भनी देखाएका कपडाका टुक्राहरू मेरा बाबुले घरबाट आउँदा लगाई आएको कपडाका टुक्राहरू हुन् । बुबा सोनफीको लाश चिनें यही हो भन्ने किसमतकुमारीको सनाखत कागज । ४. आज भन्दा २०।२२ दिन अगाडि म बस्ने गरेको खैरवन्नी स्थित सोनफी राय यादवको फुसको घरमा राम अवतार, निजको छोरा भागवत, देवन राय आई सोनफी कहाँ जाउँ भनी बोलाई लगे राम अवतारले सोनफीलाई झगडा किन गर्नु तिम्रो जग्गाको मोल दिन्छु भनी सँगै बोलाई बाटामा पर्ने गाउँ देखि आधा माईल पश्चिम खलिहानमा बसी कुराकानी गरी बसिरहेको बेला मोदरा मलाहा, रामदत्त मलाहा भूपा मलाह समेत आई उक्त उल्लिखित मानिस समेत सबै मिली एक्कासी सोनफीलाई समाती उसैको धोतीले नाक मुख थुनी पाता फर्काई खुट्टा समेत बाँधी निजहरूले नै बोकी त्यहाँबाट १० विगहा उत्तर पैनीमा लाँदा बाटामा यसले खेत सम्बन्धमा मलाई मार्ने भनिरहेको थियो । हामी सबै मिली यसलाई मारी दिने यसको खेत मलाई हुन्छ भनी राम अवतारले भन्यो । घर तिमीलाई दिन्छु जुगेश्वर साहनीलाई यसको मारेको बदला मलाहाहरूले लिइहाल्छ भनी पैनीमा पुगी सोेनफीको टाउको उत्तर खुट्टा दक्षिण गरी म गोडामा राम अवतार घुँडामा बस्यौं मौदरा मलाहा छातीमा बस्यो, रामदत्त मलाहा कम्मर माथि उत्तर मुख गरी भूपा मलाहाले दाहिने पट्टिबाट थिचेपछि भागवत राय यादवले खल्तिबाट दायगर चक्कू झिकी सोनफीको घाँटी रेट्यो टाउको यहाँ राख्नुु हुन्न भन्दै टाउको काट्यो लाशलाई पैनीबाट तानी खेतमा गएपछि त्यहाँदेखि अन्दाजी २ किलोमिटर टाढा धानको खेतमा देवन राय यादव र भागवत राय यादवले हिलो हटाई टाउको गाडेपछि हामी सबै नदीतर्फ गई हात खुट्टा पखाल्यौं अनि सबैजना आ–आफ्ना घर गई सुतेका हौं