निर्णय नं. ४६७८ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६७८ - लिखत बदर भाग: ३५ साल: २०५० महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/०१/०३ ५७८६ निर्णय नं. ४६७८ ने.का.प. २०५० (क) अङ्क १ पूर्ण इजलास सम्माननीय प्रधान न्ययाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०४६ सालको दे.पु.इ नं.५३१ फैसला मिति : २०५०।१।३।५ निवेदक/प्रतिवादी: का.जि.का.न.पा. वडा नं. ४ महाराजगंजको हाल वडा नं. १५ स्वयम्भू किमडोल बस्ने छेच्यू लामा । विरुद्ध विपक्षी/वादी: का.जि.का.न.पा. वडा नं. ९ बत्तिसपुतली बस्ने तत्कालीन नाबालक राजेन्द्र प्रसाद पण्डितको संरक्षक ऐ ऐ बस्ने इश्वरी देवी पण्डित । मुद्दा : लिखत बदर । (१) घरको मुख्य पिताको मृत्यु भै आमा र निजको नावालक छोराछोरी समेत एकाघरमा रहे भएको अवस्थामा साधारण आमा नै प्राकृतिक संरक्षक मानिन्छ । तर आमाले नाबालक छोरोछोरीहरूको हकहितको विपरीत सम्पत्ति बिक्री गरी विचल्ली पारेको देखिन आएमा सँगै बस्ने दिदीले नाबालक भाइको हितको संरक्षण गर्न भाइको तर्फबाट अदालतमा मुद्दा गर्न मिल्दैन भन्न कानून तथा न्यायसंगत हुंदैन । किनभने नाबालकको हकहितको रक्षा गर्नुपर्ने विशेष दायित्व वा जिम्मेबार भएको व्यक्तिबाट नै नाबालकको हकहित प्रतिकूलका कार्यहरू हुन्छन् भने यस्तो अवस्थामा नाबालकको हकहित रक्षा गर्ने उद्देश्यले एकाघरका उमेर पुगेका दाजु, दिदीहरूले नालेश उजुर गर्न नसक्ने हो भने नाबालकको तर्फबाट तत्काल प्रभावकारी उपचार पाउन सक्ने स्थिति र अवस्था नै नरहने । (प्रकरण नं. १४) (२) घर जग्गा बिक्री गर्नुपर्ने कारणमा अर्को घर खरीद गर्न भन्ने लेखिएको देखिन्छ । नाबालक छोराछोरीहरू समेत विचल्ली पर्ने गरी आफ्नो बसोबास भएको घर बिक्री गरेको देखिएको र प्रतिवादीले छोराछोरीहरूको वास्ता नगरी बाहिर बाहिरै हिड्ने गरेको भन्ने बादीको भनाइ समेत भएकोले सो व्यवहारलाई घर व्यवहार चलाउन गरे भएको व्यवहार भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान बरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल फैसला प्र.न्या विश्वनाथ उपाध्याय १. श्री ५ महाराज धिराज समक्ष सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४४–११–३ मा भएको निर्णय आदेश दोहर्‍याई पाउँ भनी छेच्यु लामाले न्यायिक समिति मार्फत चढाई पठाएको विन्तिपत्रमा मौसूफ सरकारबाट नेपालको संविधान २०१९ को धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्‍याई हेरी कानून बमोजिम गर्न हुकुम बक्से बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :– २. पिता तारानाथका श्रीमती विपक्षी मध्ये आमा मिठूदेवीबाट छोरी ६ छोरा १ समेत ७ जना जाय जन्म भएकोमा जेठी छोरी भवानी १, माइली सुभद्रा १, साहिली दुर्गा १, समेत जना ३ को विबाह भैसकेको पिता ०२९ साल माघ ९ गते परलोक हुनभयो । हामी काइली इश्वरी १, ठाहिली छोरी जयन्ती १, कान्छी पवित्रा १ र छोरा राजेन्द्र समेत जना ४ र विपक्षी आमा समेत जाना ५ सगोलमा बसी आएको बण्डा भएको छैन् । हामी अविबाहित छोरा र छोरी समेत भएकोमा अंशवण्डाको १६ नं. ले अंशियार बनाएको प्रष्ट छ । हामी ५ जनाको अंश लाग्ने पिता तारानाथको नाममा का.न.पं. वडा नं. २२ (ख) कि.नं. १४३ बाट नापी भएको ३–१५–१ र ऐ कि.नं. १६९ क्षेत्रफल ५–३–२ र कि.नं. १६ मा बनेको १३–२२ को २ तले घर पैतृक सम्पति ०३५–५–२५ गते विपक्षी छेच्यु लामाले आई घर जग्गा खाली गरी देउ, तिमीहरूको आमाले ०३४–६–२–