निर्णय नं. ४६८१ - केही सार्वजनिक अपराध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६८१ - केही सार्वजनिक अपराध भाग: ३५ साल: २०५० महिना: बैशाख अंक: १ फैसला मिति :२०४९/१२/२५ ७९९७ निर्णय नं. – ४६८१ ने.का.प. २०५० (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल सम्वत् २०४७ सालको फौ.पु.नं.– २४८ फैसला मिति :– २०४९–१२–२५–४ पुनरावेदक/प्रतिवादी: जिल्ला दाङ त्रिभुवननगर नगरपालिका क्षे.नं.६ मसिना बस्ने नारायण प्रसाद उपाध्याय । विरुद्ध विपक्षी/बादी: श्री ५ को सरकार । मुद्दा : केही सार्वजनिक अपराध । (१) केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को ऐनको व्यवस्था हेर्दा दफा २ (च) को कसूर हुनको लागि सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्याएको हुनु पर्ने र सो क्षति पुर्याउने कार्य हुल हुज्जत गरी भएको हुन अनिवार्य देखिने । (प्र.नं. २१) (२) हाम्रो जस्तो हिन्दु धर्माबलम्बी समाजमा बर पिपल उखेली दिने सामान्य स्थिति नहुने र ठूलो भइसकेको बर पिपल काटी ढलाई क्षति पुर्याएको भन्ने भनाई नभै उखेली दिएको भन्ने सम्म जिकिर देखिन्छ । बोट काटकुट आदि कार्य गरी क्षति पुर्याएको भन्ने उल्लेख नभएको हुंदा र हुल हुज्जत समेत गरेको स्थिति नहुंदा समेत केही सार्वजनिक अपराध र सजाय ऐन, २०२७ को दफा २(च) मा परिभाषा गरिए अनुसारको कानूनी पूर्व शर्त विद्यमान भएको देखिन नआउने । (प्र.नं.२१) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा । विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री देवशरण प्रसाद फैसला न्या. सुरेन्द्र प्रसाद सिंह १. न्याय प्रसाशन सुधार ऐन, २०३१ को दफा १३ (५) को (ख) र (ग) अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. २०३३ साल आषाढ २५ गते दाङ मसिना गाउँको पूर्व तर्फको सार्वजनिक स्थान मूल सडकको किनारामा धार्मिक दुष्टिकोणले म वृद्ध स्त्रीले लगाएका वर पीपलका वृक्ष र तीनको संरक्षणको लागि लगाएको वार समेत विपक्षीहरूले ०३३।६।३ गते बिहान ७ बजे काटी कुलामा फाली लथालिंग पारेकाले मौकैमा किन यस्तो कुनियती काम गर्नु हुन्छ भन्दा तँ नबोल तलाई समेत यी हतियारले यसैगरी काटनेछौं भनी हातमा लिएका खुर्पा र लाठी समेत देखाई मनपरी धम्की, डर, त्रास देखाई ज्यू ज्यान समेतको खतरा आभास दिने र पवित्र धर्मको हक अधिकारमा आँच लगाई निच व्यवहार गर्ने ती दुबै बाबु छोरालाई कारबाही गरिपाउँ भन्ने पिमा कुंवर क्षेत्रीको ०३३।६।६ को जाहेरी दरखास्त । ३. ०३३।६।३ गते विहान जाहेरीमा उल्लेख स्थानमा लगाइएको बर पिपलको विरुवा काट्ने मेरो बुबा नारायण प्रसाद मात्र जानु भएको हो म गएको होइन, उक्त बर पिपलको रुख हाम्रो जग्गामा पर्छ पर्दैन त्यो पनि मलाई थाह छैन भन्ने डिले भन्ने डिल्लीराज उपाध्यायले प्रहरीमा गरको बयान । ४. बर पिपलका बिरुवा काटिएका ठुटाहरू भएको भन्ने समेत घटनास्थल विवरण र डिल्लीराज शर्मा उक्त बिरुवा काटन आएका थिएनन् उनका बाबु नारायण प्रसादले मात्र काटेका हुन् । जाहेरवालीको लोग्ने जुद्ध बहादुर र नारायण प्रसादको बीच झगडा थियो भन्ने समेतको सर्जमिन मुचुल्का । ५. नारायण प्रसादको छोरा डिले भन्ने डिल्ली राजको कागज समेतबाट सार्वजनिक स्थानमा धार्मिक दृष्टिकोणबाट लगाइएको बर पिपलको बोटहरू पक्राउ हुन नसकेका प्र. मध्येका नारायण प्रसाद शर्माले उखेली जोहेरी दरखास्त अनुसार जाहेरीवालीलाई अपशब्दहरू प्रयोग गरेको देखिन आएको हुँदा निजले केहि सार्वजनिक अपराध र सजाय ऐन, २०२७ को दफा २ (च) अन्तर्गत कसूर गरेको सिद्ध हुन आएकोले सो अपराधमा निजला