निर्णय नं. ८९०८ - अदालतको अपहेलना ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९०८ - अदालतको अपहेलना । भाग: ५४ साल: २०६९ महिना: माघ अंक: १० फैसला मिति :२०६९/०६/२५ ४९५७ ने.का.प. २०६९, अङ्क १० निर्णय नं. ८९०८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री भरतराज उप्रेती माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की संवत् २०६७ सालको विविध नि.नं २०६७–MS–००१२ फैसला मितिः २०६९।६।२५ मुद्दा :– अदालतको अपहेलना । निवेदकः काठमाडौ जिल्ला, काठमाडौ महानगरपालिका, वडा नं. २९ ठमेल बस्ने सुवास वस्न्यात विरुद्ध विपक्षीः काठमाडौ जिल्ला, काठमाडौ महानगरपालिका, वडा नं. ३१ कमलादी गणेशस्थान मन्दिर अगाडि विनायकमार्ग बस्ने नेपाल वायुसेवा निगम, प्रधान कार्यालय, कान्तिपथ काठमाडौका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंशाकार समेत · अदालतको आदेशको ठहर खण्डमा स्पष्ट रुपमा निवेदकको हित एवं विपक्षको दायित्व समेत किटान गरी उल्लेख भएको वाक्यांशहरु अदालतको आदेश हुने र त्यस्तो आदेशको कार्यान्वयन हुनुपर्ने हुन्छ । त्यस्तो आदेश केवल प्रासंगिक कथन हो वास्तविक आदेश नै होइन भनी कार्यान्वयन गर्न इन्कार गर्नु गैरजिम्मेवारपूर्ण कार्य हुनुका साथै अदालतको अन्तिम आदेशको अवमूल्याङ्कन समेत हुने हुँदा अदालतको आदेशको अवज्ञा गरेको मान्नुपर्ने हुन्छ । अदालतको आदेशमा अधिकार र दायित्व किटान गरी व्यक्त भएका शव्दावली अदालतको कार्यान्वयन हुनुपर्ने आदेश हो भन्ने कुरा सर्वसाधारण जोसुकैले पनि जान्नु र बुझ्नु पर्ने । · राष्ट्रिय ध्वजावाहक विमान कम्पनी नेपाल वायुसेवा निगमका महाप्रवन्धक तथा सञ्चालक जस्तो गरिमामय पदमा बसेका पदाधिकारीहरू भएको अवस्थामा गरिमामय पदमा वसेका पदाधिकारीहरुले अदालतको आदेशको अवमूल्यन हुने गरी स्पष्ट आदेशलाई प्रासंगिक कथन हो, आदेश होइन र कार्यान्वयन गर्नु पर्दैन भन्नु सरासर अदालतको अन्तिम आदेशको अवज्ञा गरेको मान्नुपर्ने । · सार्वजनिक संस्थामा रहेका पदाधिकारीले नै अदालतको आदेशको अवज्ञा गर्दा अदालतले आफ्नो आदेशको कार्यान्वयन गर्न कुनै वास्ता नगर्ने हो भने अदालत प्रतिको जनआस्थामा प्रतिकूल असर पर्ने । (प्रकरण नं. ४) निवेदक तर्फबाटः विद्वान अधिवक्ता जगन्नाथ महतो सिँह विपक्षी तर्फबाटः विद्वान अधिवक्ता दिनमणि पोखरेल अवलिम्बत नजीरः सम्बद कानूनः फैसला न्या.भरतराज उप्रेतीः सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ बमोजिम यस अदालतको अधिकारक्षेत्र अन्तर्गत भई दायर हुन आएको प्रस्तुत निवेदनको संक्षप्त तथ्य र ठहर यस प्रकार छ :– म निवेदक मिति २०३४।१२।४ मा नेपाल वायुसेवा निगमको असिस्टेन्ट पदमा सेवा प्रवेश गरी मिति २०३६।१०।१२ Operation Department अन्तर्गत Cabin Crew Section मा Steward पदमा सरुवा भई कामकाज गर्दै आइरहेकोमा SR. Cabin Attendant पदमा बढुवा भई मिति २०६४।४।५ मा उमेरको हदको कारणले सेवा अवधि पूरा हुने भएकोले मिति २०६४।४।६ देखि निगमको सेवाबाट अवकाश हुने भनी मलाई मिति २०६४।३।११ मा अवकाशसम्बन्धी पत्र दिइयो । सो अवकाश पत्र दिएउपर मैले सम्मानीत सर्वोच्च अदालतमा ५८ वर्षको उमेरसम्म सेवामा रहन दिनु दिलाउनु भनी २०६३ सालको रिट निवेदन नं. १२२१ दायर गरेको थिएँ । उक्त रिटमा मिति २०६४।३।३२ मा कारण देखाउ आदेश जारी हुनुका साथै अन्तरिम आदेश छलफलको लागि मिति तोकी विपक्षीलाई सूचना दिने र अन्तरिम आदेशको छलफल नभएसम्म निवदेकलाई साविक पदमा कामकाज गर्न दिनु भनी एक न्यायाधीशको इजलासबाट अन्तरिम आदेश जारी भएको थियो । उक्त रिटमा मिति २०६४।४।१६ मा अन्तरिम आदेश वारे छलफलमा सुनुवाई हुँदा निवेदनको अन्तिम निर्णय नभएसम्म मि