निर्णय नं. २८७१ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८७१ - लेनदेन भाग: २८ साल: २०४३ महिना: माघ अंक: १० फैसला मिति :२०४३/०९/२५ ३६५५ निर्णय नं. २८७१ ने.का.प. २०४३ अङ्क १० पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् ०४२ सालको दे.फु.नं. ९२ फैसला भएको मिति : २०४३।९।२५।६ मा पुनरावेदक/वादी : सर्लाही जिल्ला ईश्वरपुर गा.पं.वार्ड नं. ४ बस्ने किरण मैनाली विरुद्ध विपक्षी/प्रतिवादी : जिल्ला सर्लाही खुटौना गा.पं.वार्ड नं. ४ बस्ने महमद तौकिर मिया मुद्दा : लेनदेन (१) घरसारको लिखत रजिष्ट्रेशन पारित गराई लिन नसकेको अवस्थामा राजीनामा लिखतमा उल्लिखित अचल सम्पत्ति साहुले पक्रन दावी गर्न नपाउने तर परेको थैली र ऐन बमोजिम व्याज सम्पत्ति भोग गर्नु नपाएको अवस्थामा भराई लिन पाउने । (प्रकरण नं. १४) (२) लिखत रजिष्ट्रेशन पारित नभए सम्म त्यस्तो पारित नभएको लिखतबाट सम्पत्ति पक्री भोगचलन गर्न पाउने कुरा नहुने । (प्रकरण नं. १५) (३) भोग गरेको सबूद प्रमाणबाट पुष्टि नभए सम्म सम्पत्ति भोग गरेको भन्न नमिल्ने । (प्रकरण नं. १५) (४) लिखत बमोजिमको अचल सम्पत्ति पक्रन र भोग गर्न नपाएको अवस्थामा वादी दावी बमोजिम साँवा रकमको ऐन बमोजिम हुने व्याज प्रतिवादीबाट भराई लिन नपाउने भन्न कानुन र न्यायको दृष्टिबाट नमिल्ने । (प्रकरण नं. १५) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) अनुसार पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. विपक्षीले म बाट रु.२४,०००।– लिई सर्लाही जिल्ला ईश्वरपुर गा.पं.वार्ड नं. ४(ख) कि.नं.४९ को पश्चिम तर्फबाट १–०–० जग्गा २०३४ सालको रवि बालीदेखि ऐनका म्यादभित्र पास गरिदिने गरी ०३४।९।२३।७ मा राजीनामा लेखी दिएकोले म्यादभित्र लिखत पारित गरी नदिँदा नालीस गरी पारित हुने ठहराई फैसला भएकोमा मलाई ज्वरो आई हद म्यादभित्र पारित गराउन नसकी कपाली हुन गएकोले समेत बिगो रु.२४,०००।– र ब्याज रु.७,२००।– समेत र बिगो भरी भराई मिति सम्मको ब्याज कोर्ट फी समेत दिलाई भराई पाउँ भन्ने समेत वादी । ३. दावी बमोजिम साँवा ब्याज र बिगो भरी भराउ मिति सम्मको ब्याज समेत मैले विपक्षीलाई बुझाउनु पर्ने होइन । दावी झुठ्ठा गैरकानुनी छ वादी सँग मैले रु.२४,०००।– लिएको छैन भनी लिखित पास मुद्दामा प्रतिवाद गरिसकेको छ । वादीसंग रु.१०,०००।– मात्र कर्जा मागेको ब्याज समेत रु.१५,०००।– को कपाली कागज भनी विपक्षीको भनाईको भरमा सहिछाप गरी दिएको छु । तर मेरो विपक्षले बेइमान चिताई मेरो १–०–० जग्गा नै राजीनामा गरेको लिखत नै तयार गरी रु.२४,०००।– मोल देखाई म उपर नालिश गरेपछि मात्र जानकारी हुन आयो । लिखतमा ब्याज बुझाउँछु भन्ने उल्लेख छैन । ब्याज दिने गरी कर्जा लेनदेन गरेको पनि होइन । लिखतमा ब्याज उल्लेख नभएकोमा ब्याज पाउँदैन भन्ने लेनदेन व्यवहारको ६ नं. मा उल्लेख छ । सर्वोच्च अदालतको नजीर समेतबाट ब्याज लिन पाउने विपक्षीलाई अधिकार छैन भन्ने समेत व्यहोराको प्रतिउत्तर । ४. वादी दावी अनुसार ब्याज पाउने न्यायसंगत भएन । वादी दावी अनुसार प्रतिवादीबाट साँवा रुपैयाँ मात्र भरी पाउने ठहर्छ भन्ने समेत सर्लाही जिल्ला अदालतको २०३८।९।२९ को फैसला । ५