निर्णय नं. २२२० - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२२० - उत्प्रेषण मिश्रित परमादेश भाग: २६ साल: २०४१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४१/१२/२९ २२२३ निर्णय नं. २२२० ने.का.प. २०४१ अङ्क १२ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४४ सालको रिट नं. १५९२ विषय : उत्प्रेषण मिश्रित परमादेश निवेदक : जिल्ला बाँके र्इन्द्रपुर गा.पं. वार्ड नं. ९ (घ) स्थित गणेश हिमाल राइस मिल्स प्रा.लि.का तर्फबाट मेनेजिङ डाइरेक्टर ऐ ऐ बस्ने पदमकुमार अग्रवाल विरूद्ध विपक्षी : नेपालगञ्ज नगरपञ्चायत नेपालगञ्ज जि. बाँके नेपालगन्ज भन्सार कार्यालयमा कर चौकी राखी कर असूल गर्ने ठेकदार गणेश श्रेष्ठ आदेश भएको मिति : २०४१।१२।२९।२ मा § व्यापार कर, प्रकाश कर र सफाई कर असूल गर्न विपक्षी नगरपञ्चायतबाट गरिएका ठेक्का तथा कारवाहीहरू त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा : x आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ । २. प्रस्तुत उद्योगले आफ्नो औद्योगिक र व्यवसायिक क्रियाकलाप जि.बाँके इन्द्रपुर गा.पं. वार्ड नं. ९ मानपुरमा सीमित राखेको छ । उद्योगले खरीद र बिक्री गर्ने गरेका सामान प्रतिरक्षीको क्षेत्र बाहिर सीमित छन् । प्रतिरक्षीको क्षेत्र भई श्री ५ को सरकारको स्वामित्वमा रहेको महेन्द्र राजमार्गको बाटोबाट स्वदेश तथा विदेशमा आयात निर्यात गर्ने गरेको छ । यस्तो अवस्थामा विपक्षी ठेकेदारले सयकडा रू. ।५० व्यापार कर, सयकडा रू. ।१५ पैसा सफाई कर रू. ।१० पैसा प्रकाश कर समेत जम्मा रू. ।७५ पैसा सयकडाका दरले कर असूल गरेको छ । यसरी विभिन्न मितिमा पटक–पटक गरी जम्मा रू. २२।८।९५ असूल समेत गरी सकेको छ । ३. प्रतिरक्षीको क्षेत्र बाहिर खरीद, संकलन, तयार भएका माल सामानमा कर लिन नमिल्नेमा नगर पञ्चायत (कार्य व्यवस्था) नियमावली, २०२० को नियम ७(१), ७(२)(ठ) को बिपरीत कर असूल गरिएको छ । विपक्षी न.पं.क्षेत्रभित्र मेरो उद्योगको कारोबार छैन । नियमावलीको नियम ८(ग) ले दैनिक उपभोगका अत्यावश्यक पदार्थमा कर लगाउन नमिल्ने भनी व्यवस्था भएको छ साथै यस सम्बन्धमा स.अ.फुल बेञ्चबाट ठे.गणेशप्रसाद भट्टराई वि.गायत्रीप्रसाद रिजाल (ने.का.प. २०३८ नि.नं. १४३६ अंक २ पृष्ठ १) को मुद्दामा सिद्धान्त प्रतिपादन भएको छ । तसर्थ विपक्षीले कर लिएको अ.बं. ३५ नं. ले बदरभागी छ । सफाई कर र प्रकाश कर लिने व्यवस्था कुनै ऐनमा छैन । तसर्थ संविधानको धारा ५८(१) बिपरीत कर असूल गरिएको छ । गा.पं.इन्द्रपुरको निर्णयानुसार यस उद्योगले सालसालै व्यापार र पैसा कर तिर्दै आएको छ तसर्थ दोहोरो कर लगाउन मिल्दैन । अतः उपरोक्त कर असूल गर्न विपक्षीले दिएको ठेक्का उत्प्रेषणको आदेशद्वारा बदर गरी असूल गरिएको करको रकम फिर्ता दिनु भनी परमादेश समेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको आदेश । ५. नगरसभाको बैठकको २०४०।३।२२ को निर्णय नं. २१ अनुसार न.पं. क्षेत्र भई विदेश निकास हुने सामानमा व्यापार कर, सफाई कर र प्रकाश कर गरी १०० मा रू. ।७५ को दरले लगाउने भन्ने निर्णय भएको छ ।