निर्णय नं. २९३६ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९३६ - जग्गा खिचोला भाग: २८ साल: २०४३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/०३/१४ २२७६ निर्णय नं. २९३६ ने.का.प. २०४३ अङ्क १२ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४१ सालको दे.फु.नं. ६४ फैसला भएको मिति : २०४२।३।१४।६ मा निवेदक/प्रतिवादी : मकवानपुर जिल्ला, हेटौडा नगर पञ्चायत वडा नं.२ सानु पोखरा बस्ने हरीप्रसाद पौडेल विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.घर भई हाल का.जि.बालाजु बस्ने मदनवीर पाण्डे मुद्दा : जग्गा खिचोला (१) निवेदन दिँदा उत्तर पश्चिम हरिप्रसादको जग्गा भनी स्वीकार गरेकोमा अहिले आएर उक्त जग्गामा प्रतिवादीले खिचोला गर्यो भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्साल फैसला न्या.धनेन्द्रबहादुर सिंह : निवेदक हरिप्रसाद पौडेलको श्री ५ महाराजाधिराजका हजूरमा बिन्तिपत्र परेकोमा यसमा व्यहोरा साँचो भए बिन्तिपत्रमा लेखिएको त्यस अदालतबाट छिनिएको जग्गाखिचोला मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बक्स भई आएबमोजिम फुलबेञ्चको लगतमा दर्ता भई यस बेञ्चमा पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. बाबुराम दमाइका हक दर्ताको ३१ नं.भुटनदेवी सानु पोखरा हेटौंडा मौजाका मेठबन्दी भित्रको रै.नं.८ कि.नं.२ को पूर्व ज्यानकुमारी समेतको जग्गा पश्चिम साविक रामहरी ढकाल हाल तेजकुमारी उत्तर हरिप्रसाद र दक्षिण सडक यति ४ किल्ला भित्रको जग्गा कठ्ठा ६ धुर १० मध्ये पश्चिमतर्फ तेजकुमारीले ३ कठ्ठा १० धुर १० र पूर्वतर्फ ३ कठ्ठा मैले समेत निज बाबुराम दमाईबाट ०२७।१०।१३ मा राजीनामा पास गराई लिई त्यसमा पक्का घर समेत बनाई बसोबास भोगचलन गरी आएकोमा यही गत कार्तिक ३ गते ७ बजेको टायममा अन्यायी हरिप्रसाद आई उक्त जग्गाको पश्चिमपट्टि अं.७ धुर उत्तरतर्फ अं.१८ धुर समेत अं.२५ धुर जग्गा मेरो हक छ भनी खनजोत समेत गरी बाली समेत जबरजस्ती लगाई गएकोले नापी नक्शा समेत जो गर्नु पर्छ गरी प्रचलित मोल रु.३,०००।– पर्ने जग्गा अं.धुर २५ को खिचोला मेटाई चलन चलाई पाउँ । उक्त जग्गामा निजको हक पुगेको कागज दाखिल भएमा नामाकरण गर्ने छु भन्ने समेत मिति ०३०।८।२५।३ को मदनवीर पाण्डेको फिरादपत्र रहेछ । ३. फिराद दावी झुठ्ठा आजमायसी देखिन आएको छ । दावीको जग्गा समेतमा २०११ सालदेखि आवाद गुल्जार गरी भोगी जोती आएकोमा म बाबुराम दमाईले मालमा सर्भे नापी बुझी दर्ता नम्बरी गरी पाउँ भन्ने समेतको ०१९।१२।११ गते निवेदन परी आखिर रा.दु.वि.कमिशनबाट बाबुराम दमाईको र मेरो ०२१।५।९ मा जग्गा नापी गरी बराबर जग्गा छुट्याई चलनी पुर्जी पाउँ भनी कागज भई उत्तरतर्फ मेरो दक्षिणतर्फ निज बाबुराम दमाईको नाउँमा निर्णय अनुसार मिति ०२१।८।२२।२ मा चलनी पुर्जी पाई घर समेत बसोबास गरी आएको चलनी पुर्जी बमोजिम कि.नं.१ ज.वि.०–१२–१० रैती नं.६ को जग्गा श्री ५ को सरकारको जो बुझाउनु पर्ने रकम बुझाई साल बसालै मालपोत बुझाई जोत भोग चलन गरी आएको छ । वादी दावीको जग्गा बाबुरामकै हक नरहे नभएको जग्गा कसैले बाबुरामबाटै लिएको खण्डमा पनि कानुनले कायम रहन नसक्ने । मेरो उक्त दर्ता हकको जग्गा मैले आफ्नो घर कम्पाउण्ड जान भोगचलन गरी आएको भन्ने प्रष्टै छ । उक्त जग्गामा निजको हक पुगेको कुनै कागज दाखिल भएमा नामाकरण