निर्णय नं. ३८१७ - हक कायम समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८१७ - हक कायम समेत भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०५/२७ २२८५ निर्णय नं. ३८१७ ने.का.प. २०४६ अङ्क ५ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको दे.पू.इं.नं. ६५ फैसला भएको मिति : २०४६।५।२७।३ मा निवेदक/वादी : बडुनिस्सा मियाको मु.स. गर्ने का.न.पं. वडा नं. २९ ठमेल बस्ने मदिना बाबु मियासमेत विरुद्ध निवेदक/प्रतिवादी : का.न.पं. वडा नं. १९ यटखा दमाईटोल बस्ने पूर्णकुमारी खड्गीसमेत संयुक्त इजलासबाट निर्णय मिति : २०४३।१२।२२ मुद्दा : हक कायम समेत § घर र त्यसले चर्चेको लगापातसम्म भोगबन्धकी कायम भई अदालतको फैसला बमोजिम भोगबन्धकी लिखत पास भएको अवस्थामा सो लिखत पास मुद्दाको फैसलाले जग्गा पास गर्न नहुने भनेको जग्गालाई समेत भोगबन्धकीमा दिएको भनी स्वीकार गर्न नमिल्ने । (प्रकरण नं. २३) निवेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ निवेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त तथा विद्वान अधिवक्ता श्री बाबुराम गिरी फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत संयुक्त इजलासबाट २०४३।१२।२२ मा भएको निर्णय दोहराई पाउँ भनी दुवै पक्षको बिन्तिपत्र र यसबारे न्यायिक समितिद्वारा चढाई पठाएको मिति २०४४।९।२ को पत्र तथा पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहराई दिनु हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरवारबाट मिति २०४४।९।७ मा लेखी आएको व्यहोरा सम्माननीय प्रधानन्यायाधिशज्यू समक्ष पेश हुँदा भएको मिति २०४४।११।१४ गतेको आदेशानुसार लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ :– २. मेरो हकभोगको घर जग्गा विपक्षी शुभरत्नको बाबु जीतबहादुर खड्गीलाई रु. ४२५।– मा मिति २००४।४।२१ मा घरसारमा भोगबन्धकी गरी दिई नालेश परी फैसला बमोजिम २००६।१।८ मा रजिष्ट्रेशन पास गराएको निज साहू परलोक भएपछि थैली बुझाउन जाँदा लिई नदिएकोबाट निखनी पाउन भूमिप्रशासन कार्यालयमा नालेश दिएकोमा निखन्न पाउने गरी मिति २०२९।५।२६ मा निर्णय भएको सो उपर पुनरावेदन परी भएको फैसला उपर उत्प्रेषणको निवेदन परी भएका आदेश बमोजिम हक कायमतर्फ नालेश गर्न मिति २०३९।९।१५ मा सूचना पाएको सो बन्धकी घर जग्गा घर भत्की पाताल भएको र विपक्षीहरुको लोग्ने बाबु जीतबहादुरले बेनिस्सा भनी आफ्नो नाम दर्ता गरी मेनुका रावल र पूर्णमानलाई बिक्री गरी दिएकोमा मेरो फिराद परी मुलतवी रहेको छ । मेरो भोगबन्धकी घरजग्गा नापी हुँदा स्वयम्भू डल्लु गा.पं. वडा नं. १ कि. नं. १९ मा १–०–२ क्षेत्रफल भएको जग्गा मेरो हक कायम भई धरौटी थैली बुझ्न लगाई बन्धकी निखनाई मेरो नाममा दर्ता गरी सो जग्गा अदालतबाटै चलन समेत पाउँ भन्ने बडु निसाको फिरादपत्र । ३. वादीले उल्लेख गरेको जग्गा वादीको होइन । हामीहरुका पूर्खाकै हकभोगको जग्गा हुँदा रैकरमा परिणत भई बिक्री गरेको हो बन्धकी जग्गा बाटोमा परिसकेकोछ । वादीले हक कायमतर्फ उजूर दिने हदम्याद नाघी सकेको हुँदा झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको शुभरत्न र पूर्णकुमारी खड्गीको संयुक्त प्रतिउत्तरपत्र । ४. वादीले आठ आना दशदाम भोगबन्धकी दिएको २००४ सालको लिखतबाट देखिँदा सो लिखतमा भए जति जग्गा जीतबहादुर