निर्णय नं. ३८३८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८३८ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०३/०५ २७४३ निर्णय नं. ३८३८ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०४५ सालको रिट नं. ७९३ आदेश भएको मिति : २०४६।३।५।२ मा निवेदक : जिल्ला सप्तरी गा.पं. डाढा वार्ड नं. १ बस्ने जयमंगल मिश्र विरुद्ध विपक्षी : श्री निर्वाचन विशेष अदालत मुकाम जिल्ला अदालत सप्तरीसमेत विषय : उत्प्रेषण § निर्वाचन कार्य सम्पन्न भएमा वारिसले सहिछाप गरेको भए तापनि खसेको मत सदर बदर हुने सम्बन्धी निर्वाचन अधिकृत समक्ष उजूर गर्न पाउने निर्वाचन (अपराध तथा सजाय) ऐनले दिएको अधिकार त्यसरी सही गर्दैमा कुण्ठित हुनसक्ने होइन । निर्वाचन विशेष अदालत समक्ष किटानी तवरमा यो यति मत यो यति कारणबाट सदर बदर हुनुपर्ने भन्ने किटानी जिकिर निवेदकले लिएपछि सो भए नभएको हेर्नु पर्ने विशेष अदालतको कर्तव्य हुन जाने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जबिहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा एवं विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल आदेश न्या. गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छ । २. म निवेदक लगायत विपक्षी नथुनी यादव र रामरुप समेत ३ जना उम्मेदवार भएको ०४३।१२।१० तथा ०४३।१२।११ गते सम्पन्न भएको जि. सप्तरी डाढा गा.पं. को प्रधानपंचको निर्वाचनमा विपक्षी मतदान अधिकृतले मतदान भइसकेपछि मतगणना नगराई ०४३।१२।१२ मा मतपेटिका हनुमाननगर ल्याई मतगणना गर्नुभयो । मतपेटिका खोल्दा निवेदकको सहमति लिइएन । स्थानीय पंचायत निर्वाचन निर्देशिका, ०४३ को दफा ५९ (ज) बमोजिम बदर गरिनु पर्ने १४१ मतपत्र बदर गरिएन । म निवेदकको गाई छापमा लागेको स्वस्तिक छाप र उम्मेदवार नभएको निर्वाचन चिन्हमा लागेको छापवाला १०० मतपत्रलाई सदर गरी म निवेदक तर्फ गणना गरिनु पर्नेमा गरिएन । गाई चिन्हमा छाप लागेको ६७ वटा मतपत्र पनि गनिएन । निवेदकको गाई चिन्हमा छाप लागेको मतपत्र थान ४२ विपक्षी रामरुपको घडी चिन्हमा समावेश गरियो । जस्सा खसेको मत संख्या १९०८ मध्ये बदर मत संख्या १३५ घटाउँदा बाँकी हुन आउने मत संख्या १७६३ मध्ये म निवेदकले ७९३ मत पाएको थिएँ । विपक्षी नथुनीप्रसादको मानिस चिन्हमा ७८४ मत गएको थियो । म निवेदकको ९ मत बढी भई निर्वाचित घोषित गरिनु पर्नेमा अवैध मत समेत विपक्षी नथुनीप्रसादको पक्षमा गणना गरी निजलाई ९२५ र मलाई ५८४ मत पाएको देखाई विपक्षी नथुनीप्रसादलाई प्रधानपंच पदमा विजयी घोषित गरियो । निर्देशिकाको दफा ६३ बमोजिम दोहर्याई गणना गरिपाउँ भनी मतदान र मतगणना अधिकृत समक्ष निवेदन दिएकोमा निवेदन दर्ता पनि गरिएन र सो निवेदन फिर्ता पनि गरिएन । ३. सो निर्वाचन उपर म निवेदकले निर्वाचन (अपराध तथा सजाय) ऐन, २०२४ को दफा १४ को उपदफा २ को खण्ड (क) अन्तर्गत निर्वाचन विषेश अदालत मुकाम सप्तरी जिल्ला अदालतमा उजूरी निवेदन दिएकोमा मतगणना गर्दाको अवस्थामा प्रयोग भएका सम्पूर्ण मुचुल्कामा निवेदकको वारिस समेतले सहीछाप गरेको देखिन आउँदछ । त्यस अवस्थामा चित्त नबुझेको भए निर्देशिकाको दफा ६२ अनुरुप उजूर गर्न सक्नु पर्नेमा सो गर्नसकेको पाइदैन । निवेदन दिएको कुरा विश्वसनीय देखिँदैन । बिजयी उम्मेदवारले पाएको मत संख्यामा १४१ मत घटाउँदा र १०० मत निवेदकलाई