निर्णय नं. ३८३९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८३९ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०३/२९ २५९२ निर्णय नं. ३८३९ ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०४४ सालको रि.नं. १६०५ आदेश भएको मिति : २०४६।३।२९।५ मा निवेदक : जिल्ला कालीकोट जुविया गा.पं. वडा नं. ८ बस्ने जयबहादुर शाही विरुद्ध विपक्षी : सञ्चालक समिति सत्यदेवी मा. वि. जुविया, कालीकोटसमेत विषय : उत्प्रेषण § निवेदकले आफूले गरेको गैरकानुनी काम कारवाहीलाई अरु माथि थोपार्न खोजेको कार्य निश्चय नै शिक्षक जस्तो गम्भीर पदको जिम्मेवारी बहन गर्ने व्यक्तिको आचरण भित्र नपर्ने । (प्रकरण नं. ८) § शिक्षा नियमावलीको संशोधित नियम २८(२)(क) ले विद्यालय सञ्चालक समितिलाई शिक्षकको काम कारवाहीलाई लिएर निजसंग स्पष्टीकरण लिई सो स्पष्टीकरणको आधारमा छानबीन गरी सजायँको लागि कारवाही गर्न र ऐ. संशोधित नियम ४७(ङ) ले उचित र पर्याप्त कारण भएमा विद्यालयका शिक्षकलाई भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट बर्खास्त गर्न सक्ने अधिकार प्रदान गरेको देखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी तर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या. गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ । २. म निवेदक २०३४।४।१७ देखि प्रा.वि. जुबियाको अस्थायी शिक्षकमा नियुक्त भई शैक्षिकस्तर वृद्धि कार्यक्रम अन्तर्गत जुम्ला विस्तार क्याम्पसमा तालिम गर्न गै सो तालिममा टेष्ट परीक्षा पास गरेको प्रमाणपत्रको आधारमा विपक्षी सञ्चालक समितिको ०४३।५।१८ को निर्णयानुसार प्रा.वि.स्तरको सहायक शिक्षक पदमा स्थायी नियुक्ति पाई इमान्दारीपूर्वक आफ्नो कर्तव्य पालन गरी आएकोमा मैले जुम्ला बिस्तार क्याम्पसबाट प्राप्त गरेको मार्कशिटको अङ्क हेरफेर गरी कीर्ते गरे भन्ने सम्बन्धमा स्पष्टीकरण सोधिएकोमा आफूले सो मार्कशिट कीर्ते नगरेको व्यहोराको स्पष्टीकरण पेश गरेकोमा सो माथि विचारै नगरी प्रमाणपत्रको अङ्क थपी कीर्ते गरी अनियमित काम गरेको भनी मलाई सो पदबाट खारेज गरिएको जानकारी गराइएकोमा सञ्चालक समितिको निर्णय बदर गरी पाउन जिल्ला शिक्षा समिति समक्ष निवेदन दिएकोमा सो उपर विचारै नगरी प्रमाणपत्रको अङ्क सच्याई बढ्ता तलब खाई भ्रष्टाचार गरेको देखिएकोले सञ्चालक समितिको निर्णय सदर गरिएको जानकारी दिइयो । प्रधानअध्यापकले म संग माग गर्नुभएको स्पष्टीकरणमा मार्कसिटको अङ्क हेरफेर गरी कीर्ते गरेको बारे सोधिएको छ । सो स्पष्टीकरणमा सजायँ पनि स्पष्टरुपले उल्लेख हुनुपर्नेमा सो स्पष्टीकरणमा त्यस किसिमको भ्रष्टाचार र कीर्ते गरेको आरोप लगाइएको र यो सजायँ गरिने भनी किटिएको छैन । मलाई कुन आरोपमा कति सजायँ दिइँदैछ भनी थाहा पाउने मौका नदिई विपक्षी सञ्चालक समितिले मलाई शिक्षक पदबाट खारेज गर्ने गरेको निर्णय र सो निर्णयलाई सदर गर्ने गरेको जिल्ला शिक्षा समितिको निर्णयबाट म निवेदकको संवैधानिक तथा कानुनी हकमा आघात पुग्न गएको र सो निर्णय उपर न्यायिक उपचार पाउने व्यवस्था प्रचलित कानुनमा कहीँ उल्लेख नभएकोले सम्मानीत अदालतको असाधारण अधिकार क्षेत्र गुहार्न आएको छु । विपक्षीहरुको गरैकानुनी काम कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर गरी अन्य जो चाहिने आज्ञा आदेश जारी गरी आघातित हकक