निर्णय नं. ३८४० - उत्प्रेषणयुक्त परमादेश समेत जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८४० - उत्प्रेषणयुक्त परमादेश समेत जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४६/०३/०७ २५१० निर्णय नं. ३८४० ने.का.प. २०४६ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको रि.नं. १९४१ आदेश भएको मिति : २०४६।३।७।४ मा निवेदक : जि. भक्तपुर ताथली गा.पं. वार्ड नं. १ बस्ने कृष्णबहादुर थापासमेत विरुद्ध विपक्षी : भक्तपुर जि. पञ्चायत बैठक, भक्तपुरसमेत विषय : उत्प्रेषणयुक्त परमादेश समेत जारी गरिपाउँ § खानी सञ्चालन गर्न चाहने निवेदक तथा प्रत्यर्थी जिल्ला पञ्चायत बीच दुई पक्षको सम्झौता बमोजिम करारको सृजना भएको पाइन्छ, यस्तो सम्झौता करारको विषय हुँदा करार ऐन अन्तरगत उपचारको बाटो अवलम्बन गर्नु पर्ने । (प्रकरण नं. १३) § अन्य कानुनी उपचारको बाटो अवलम्बन नगरी रिट क्षेत्रमा प्रवेश गरेको र अन्य उपचार विद्यमान भएको अवस्थामा रिट क्षेत्रबाट प्रस्तुत दावी जिकिर उपर विचार गर्न नमिल्ने । (प्रकरण नं. १३) प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या. हरगोविन्दसिंह प्रधान : नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तरगत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. निवेदकहरुले विपक्षी जिल्ला पञ्चायत सचिवालय भक्तपुरबाट कानुनको रीतपूर्वक भक्तपुर ताथली गा.पं. स्थित ज्योति बिनायकलाई मूल चिन्ह मानी पूर्व ठूलो पाखा ५०० फीट मिटर पश्चिम १००० मिटर उत्तर पाटी चौतारा ५०० मिटर दक्षिण खरी खोल्चो नाला जाने बाटो १५०० मिटर यति चारकिल्ला भित्रको क्षेत्रमा खानी ऐन तथा खनिज ऐन नियम बमोजिम उक्त ऐन नियमको शर्त सुविधामा रही उल्लेखित क्षेत्र भित्रको ढुंगा खानी १ बर्षको लागि खोल्न पाउने गरी विपक्ष बैठकको निर्णयानुसार विपक्ष सचिवालयबाट मिति २०४३।८।३ को निर्णयानुसार मिति २०४३।९।२० मा खानी खोल्ने अनुमति पाई ढुङ्गा खानी खोली सञ्चालन गरी आएका थियौं । सोही अवस्थामा विपक्ष जिल्ला पञ्चायतको बैठकबाट इजाजतपत्र १ बर्षको लागि प्राप्त गर्नुभएकोमा सो इजाजतपत्र यथावत रहने गरी पुनः ५ वर्ष सम्म ढुङ्गा खानी सञ्चालन गर्न पाउने गरी मिति ०४३।९।२९ को विपक्ष जिल्ला पञ्चायतको बैठकबाट निर्णय भई ढुङ्गा झिकी खानी सञ्चालन गरी आएका हौं । उल्लेखित खानी हामीहरुले २०४३।९।२० बाट ६ वर्ष अर्थात मिति २०४९।९।१९ सम्म खनिज (संशोधन र एकीकरण) नियमहरु, २०१८ को दफा २५ को विशेष अवस्था बाहेक सञ्चालन गर्न अधिकार प्राप्त छ । ३. उल्लेखित सञ्चालन गरी आएको ढुङ्गा खानीलाई विपक्ष सडक शाखा र वन शाखाको पत्रानुसार उक्त ढुङ्गा खानी सञ्चालन गराउँदा वन जंगलमा भू–क्षय भै पैह्रो जाने र भक्तपुरबाट नाला शहर जाने सडकलाई पनि क्षति पुग्ने भएकोले उक्त कुरालाई ध्यानमा राखी ठेक्का दस्तूर फिर्ता नहुने गरी इजाजतपत्र रद्द गरी सम्बधिन्त व्यक्तिलाई जानकारी दिने गरी विपक्ष जिल्ला पञ्चायत बैठकबाट मिति २०४४।२।२६ मा निर्णय भएको भनी जानकारी दिइएको भनिएको विपक्ष जिल्ला पञ्चायतका योजना तथा प्रसाशनका अधिकृतबाट मिति २०४४।११।२७ मा जानकारी प्राप्त भयो । ४. कानुन बमोजिम पाएको ठेक्का कानुन बमोजिम बाहेक बदर गर्न नमिल्नेमा कानुनी कार्यविधि पालना नगरी एकतर्फ ठेक्का तोड्न मिल्ने होइन । खनिज (संशोधन र एकिकरण) नियमहरु, २०१८ नियम २५ को अवस्थामा मात्र एक महीना अगावै सूचना दिई र विशेष परिस्थितिमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी मात्र ठे