निर्णय नं. ३८४६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८४६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०५/०८ २२६९ निर्णय नं. ३८४६ ने.का.प. २०४६ अङ्क ६ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रि.पू.इ.नं. ८० आदेश भएको मिति : २०४६।५।८।५ मा संयुक्त इजलासबाट निर्णय मिति : २०४४।२।४।२ निवेदिका/रिटनिवेदिका : का.जि. का.न.पं.वडा नं. १३ ताहाचल बस्ने लिलाकुमारी सिलवाल विरुद्ध विपक्षी/प्रत्यर्थी : भूमिसुधार कार्यालय, काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ § सम्पत्ति सम्बन्धी हकमा असर पर्ने गरी एकाका हक टुटाई अर्कोको हक कायम गर्दा मार्का पर्ने पक्षलाई प्रतिवादको मौका दिनु पर्ने । (प्रकरण नं. १२) § प्रतिवादको मौका नै नदिई जग्गाको मोहियानी हकबाट बंचित हुने गरी नाम कट्टा गर्न भूमिसुधार कार्यालयले पठाएको सिफारिशपत्र प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२) निवेदिका तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत संयुक्त इजलासको निर्णय पूर्णइजलाशबाट दोहोराई हेरी दिनु भन्ने हु.प्र.बक्स पाउँ भनी रिटनिवेदिका लिलाकुमारी सिलवालले न्यायिक समिति मार्फत चढाएको निवेदनमा श्री ५ महाराजाधिराज सरकारबाट संयुक्त इजलासबाट निर्णय भएको यो रिट सम्बन्धी मुद्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्‍याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफका प्रमुख सचिवालयबाट लेखी आए बमोजिम यस इजलास समक्ष पेश हुन आएको रहेछ । २. प्रत्यर्थी झुमा सिलवाल दर्तावाला मोही कायम रहेकी काठमाडौं गुठी तहसीलमा दर्ता भएको कुमारी डुकागुठीको टंकेश्वर ताहाचल गा.पं. वडा नं. ८ (क) बाट नापी भएको कि.नं. १११ को ०–८–० जग्गा भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५(१) बमोजिमको जोताहा मोही म निवेदिका भएकी विपक्षी झुमा सिलवालले मिति २०३९।१०।७ मा ताहाचल गा.पं. वडा नं. ८ को कि.नं. १११ र ११२ को क्षेत्रफल १–०–० जग्गा गुठी संस्थानको कुमारी डूका गुठी १४/१ मा दर्ता भएको जग्गाको म मोही भएको हुँदा मोहीको प्रमाणपत्र पाउँ भन्ने निवेदन भूमिसुधार कार्यालयका समक्ष गरेकोमा गुठी बुझ्ने तोक आदेश भएपछि मिति २०३९।१०।१४ मा गुठी तहसीलले उक्त विवादित जग्गाको दर्तावाला मोही झुमा सिलवाल देखिएको भन्ने लेखी पठाएकोमा भूमिसुधार कार्यालयबाट मालपोत कार्यालय काठमाडौंमा कि.नं. १११ को जोताहा मोहीबाट म निवेदिकाको नाम कटाई त्यस्मा झुमा सिलवाल कायम गर्नु भन्ने व्यहोराको पत्र लेखी पठाएको रहेछ । भूमिसुधार कार्यालयको उक्त पत्र तथा गुठीको मिति २०३९।१२।२३ गतेको पत्र समेतको आधारमा मालपोत कार्यालयले मिति २०३९।१२।२७ मा विपक्षी झुमा सिलवालाई ज.ध.प्र.पूर्जा बनाई दिने टिप्पणी आदेश गरी सोही मितिमा मोठ श्रेस्ताबाट झुमा सिलवालको नाम कायम गरी म निवेदिका लिलाकुमारीको नाम कट्टा गरिएको रहेछ । ३. २ नं. अनुसूची एवं फिल्डबुकबाट समेत निवेदिका जोताहा मोही भएको प्रष्ट छ । यस्तो मोहीलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१)(ख) मा उल्लेख भएको अवस्थामा बाहेक बिस्थापन गर्न सकिंदैन । गुठीको विद्यमान लगत र श्रेस्तामा झुमा सिलवाल दर्तावाला मोही मात्र कायम रहेकी र म निवेदिका जोताहा मोह