निर्णय नं. ८९२३ - लागुऔषध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९२३ - लागुऔषध भाग: ५४ साल: २०६९ महिना: फागुन अंक: ११ फैसला मिति :२०६९/०६/१६ १०९४१ ने.का.प. २०६९, अङ्क ११ निर्णय नं. ८९२३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय २०६५-CR-६०६ फैसला मितिः २०६९।६।१६।३ मुद्दा :– लागू औषध । पुनरावेदक वादीः इलाका प्रहरी कार्यालय, इटहरीका प्र.ना.नि.सुभाष राईको प्रतिवेदनले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला सुनसरी हाँसपोसा गा.वि.स.वडा नं.२ बस्ने अर्जुन भोटे भन्ने जीतबहादुर खत्री शुरु फैसला गर्नेः मा.न्या.श्री लीलाप्रसाद गौतम पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री दीपककुमार कार्की मा.न्या.श्री केदारप्रसाद चालीसे § सेवन प्रयोजनलाई खरिद गर्ने र विक्री बितरण गर्नेलाई खरिद हुने अवस्था छुट्याउन लागू औषधको परिमाणलाई हेरिनुपर्ने हुन्छ । सेवन प्रयोजनको लागि एक दुई डोजसम्मको लागि खरिद हुने हुँदा बरामद लागू औषध अत्याधिक मात्रामा देखिएकोले सेवनसम्मको लागि खरिद गरेको हो भन्न नमिल्ने । (प्रकरण नं.४) § कुनै चीज वस्तु सँग साथमा फेला पर्नु वा सो चीजवस्तु कसैसँग रहेको कुरा स्थापित हुनु तथ्यगत प्रश्न हो, सबै तथ्यगत विषय कसूर वा अपराध हुन नसक्ने । § कुनै प्रतिबन्धित वस्तु कसैको साथबाट फेला पर्नु नै आपराधिक कार्य (Corpus delicti) गरेको प्रमाणित भएको मानिने प्रकृतिका अपराध जसलाई Possessory Crime भनिन्छ, त्यस्ता अपराधमा आपराधिक कार्य स्थापित भएपछि निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीको हुने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § लागू औषध (नियन्त्रण ऐन, २०३३ को दफा ४(घ), (ङ), १४(१)(झ) फैसला न्या.वैद्यनाथ उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– जिल्ला सुनसरी हाँसपोसा गा.वि.स.वडा नं.२ स्थित पूर्वमा बाटो, पश्चिममा खाली जग्गा, उत्तर दक्षिण बाटो यती ४ किल्लाभित्र प्रतिवादी अर्जुन भोटे भन्ने जीतबहादुर खत्रीको साथबाट लागू औषध नाइट्रोजन ट्यावलेट थान १२०, कोरेक्स–७ बोतल र स्यामो प्रोक्सीभन क्याप्सूल थान ८ बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का । मिति २०६३।१०।१७ गते बिहान ८ बजेको समयमा हाँसपोसा गा.वि.स.वडा नं.२ मा अर्जुन भोटे भन्ने जीतबहादुर खत्रीले लागू औषधको कारोवार गरेको छ भन्ने गोप्य सूचनाको आधारमा मेरो कमाण्डमा खटी गएको गस्ती प्रहरी टोलीले निजलाई लागू औषध बोकी रहेको अवस्थामा नियन्त्रणमा लिई बरामदी मुचुल्कासाथ पेश गरेको छु । आवश्यक कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.ना.नि.सुभाष राईको प्रतिवेदन । मिति २०६३।१०।१७ गते मलाई प्रहरीले पक्राउ गरी बरामदी मुचुल्कामा उल्लिखित परिणामको लागू औषध मेरो साथबाट बरामद गरेको हो । उक्त लागू औषधहरू मध्ये कोरेक्सको भारतमा रु.९०।– यहाँ रु.१५०।– देखि रु.२००।– सम्म र नाइट्रोजन ट्यावलेट र स्यामोप्रोक्सीभन भारतमा रु.३।– यहाँ रु.५।– को दरले विक्री गर्दछु भन्ने समेत व्यहोराको प्रतिवादी अर्जुन भोटे भन्ने जीतबहादुर खत्रीको प्रहरी समक्ष भएको बयान कागज । प्रतिवादी जीतबहादुर खत्री भाडामा बस्ने गरेको घरको कोठा खानतलासी गर्दा लागू औषध मुद्दाको प्रमाणमा लाग्ने कुनै पनि चिजवस्तु फेला नपरेको भन्ने समेत व्यहोराको घर खानतलासी मुचुल