निर्णय नं. ३८६० - हक कायम दर्ता नामसारी बदर चलन समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८६० - हक कायम दर्ता नामसारी बदर चलन समेत भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०४/३० २६३३ निर्णय नं. ३८६० ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पु.नं. ८२४ फैसला भएको मिति : २०४६।४।३०।२ मा पुनरावेदक/प्रतिवादी : जि. रौतहट गा.पं. मर्यादपुर वा.नं. ५ बस्ने रामअयोध्या राय यादव विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने पलिया यादवनीसमेत मुद्दा : हक कायम दर्ता नामसारी बदर चलन समेत § जसले जुन कुराको जिकिर लिन्छ सो जिकिर प्रमाणित गर्ने भार उसैको हुने । (प्रकरण नं. १६) § अन्य प्रमाणको अभावमा नौ वर्ष पछि लिएको मृत्यु दर्ता प्रमाणको आधारमा मरेको भनी निष्कर्षमा पुग्न नमिल्ने । (प्रकरण नं. १७) § जुन ऐन अन्तर्गत वादीको दावी नै छैन सो ऐनको हदम्याद तर्फ हेर्नु पर्ने अवस्था नरहने । (प्रकरण नं. १९) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री उमेश खकुरेल फैसला न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।७।१५ को फैसलामा चित्त बुझेन उक्त फैसला बदर गरी पुनरावेदन गर्न अनुमति पाउँ भनी पर्न आएको निवेदनमा यस अदालत संयुक्त इजलासबाट मिति २०४४।१०।१७ मा पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. मूल पुरुष मनरथ रायको ४ छोरा जेठा छटुराय, माहिला माझी राय, साहिंला काजी राय, कान्छा कालुचन भएकोमा मनरथ राय र निजकी श्रीमती तथा निजको छोराहरु ४ जना समेतको स्वर्गवास भइसकेको छ । स्व.छटुरायको छोरा नभएको एकजना छोरी प्र.रामअयोध्याको आमा रहेकोमा निजको पनि स्वर्गवास भइसकेकोमा परिवारमा स्वर्गीय माझी रायको श्रीमती म वादी पलिया यादवनी निज स्व.माझीको छोरा म प्रल्हाद राय, स्व.काजी रायको छोरा म पोषन राय तथा स्वर्गीय कालुचन रायको छोरा हरलाल राय र विश्वम्भर राय समेतका व्यक्तिहरु कायम हाम्रो परिवारमा हाम्रो लोग्ने बाबुहरुकै पालामा अंशबण्डा भइसकेको सबै जना भिन्न भइसकेका छौं । २०२८ साल मार्ग महीनामा निज छटुरायको स्वर्गबास भएपछि निजको नाम दर्ताको मर्यादपुर गा.पं. वा.नं. ४ कि.नं. ४११ को ०–२–१७ वा.नं. ५ कि.नं. १०१ को ०–१६–५ कि.नं. १४२ को ०–३–५, कि.नं. १८७ को ०–११–५, कि.नं. २०७ को ०–२–१५ समेत जग्गाको मोल रु. २२,५५०।– जाने १–१६–७ जग्गामा स्व.छटुरायको परिवारको तीन पुस्ताभित्रको नजिकको हामी वादीहरुकै हक पुगी हाम्रै हकभोगमा रहेको सो जग्गामा विपक्षीले २०४०।५ देखि विवाद खडा गरी झुठ्ठा व्यहोराको मुचुल्का सिफारिशको आधारमा २०४०।६।६ गते सो जग्गाहरुलाई आफ्नो नाममा नामसारी दर्ता गराई हामीहरुको हकभोग टुटाई जबरजस्ती दखल कब्जा समेत गरी लिनु भएकोले प्रस्तुत नालिश गर्न आएको छु । विपक्षीले हक बेहकको गैरकानुनी झोज खडा गरी गैरकानुनी दर्ता नामसारी गराई लिनु भएको बदर गरी हाम्रा हक कायम रहने किसिमसंग सो जग्गाहरुको दर्ता हुने गरी त्यसको चलन समेत दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. छटुराय यादवको छोरा नभई एक मात्र छोरी मथवा यादवनी भएकोमा निज मथवा यादवनीको एक मात्र छोरा म प्रतिवादी भएकोमा छटुरायको सेवा सुसार स्याहार संभार समेत मैले नै गरी अपुताली परेको जग्गा मैले भोग गरी आएको आधारमा कानुनको रीत पुर्याई आफ्ना नाउँमा नामसारी गराएको हुँ । वादी दावी झुठ्ठा हो यदि वादीलाई अपुताली हक