निर्णय नं. ३८७१-१ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८७१-१ - लेनदेन भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०६/१९ ३०५१ निर्णय नं. ३८७१-१ ने.का.प. २०४६ अङ्क ७ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पु.ई.नं. ७२ फैसला भएको मिति :२०४६।६।१९।५ मा पुनरावेदक/प्रतिवादी : महेन्द्रनगर न.पं. वा.नं. १० बस्ने धनी बोहोरा विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने कृष्णलाल सोती मुद्दा : लेनदेन § थैली बुझाएको भनी जिकिर लिने प्रतिवादीले सो कुराको प्रमाण पुर्याउनु पर्ने । (प्रकरण नं. २५) § कपाली तमसुक बमोजिम तिरे बुझाएको तथ्ययुक्त लिखत प्रमाण पेश गर्न सकेको नदेखिँदा रुपैयाँ बुझी वादीले फट्टा दिएको भन्न नमिल्ने । (प्रकरण नं. २५) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमतिद्वारा पुनरावेदन परी सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश भएको हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. मिति ०३५।१२।६ गते विपक्षी धनी बोहराले लेखत साक्षीको रोहवरमा रु. २४,०००।– लिनु दिनु गरी सयकडा रु. १० प्रतिशतका दरले व्याज दिने गरी ०३६ साल फाल्गुणमा बुझाउने गरी कपाली तमसुक गरी दिएकोले भाखामा साँवा माग्दा नदिएकोले ०३५।१२।६ देखि ०३९।७।१६ सम्म ३ वर्ष ७ महीना १२ दिनको व्याज रु. ८,६८०।– र फैसलाले भरी भराउने दिनसम्मको व्याज कोर्टफी समेत विपक्षीबाट भराई पाउँ भन्ने फिरादपत्र । ३. मिति ०३५।१२।६ का दिन फिरादीले मेरा नाउँमा दर्ता भोगको १ बिगहा जग्गा रु. २४०००।– को खूद बापत भोग गर्ने जग्गा अन्यत्र बन्दोबस्त गरे वा थैली बुझाए जग्गा छोडी दिने गरी कपाली तमसुक लेनदेन गरेकोमा ०३९ सालको वर्षे मकैबाली भित्राई सकेपछि म यहाँ बस्दिन पाहाड घर जान्छु रुपैयाँ दिई जग्गा फिर्ता लेउ भन्दा ०३९ साल भाद्रको आखिरी तिर रु. १२,०००।– र ०३९।६।१७ का दिन फिरादी पनि आई ले. चन्द्रदेव जोशीले रु. १२,०००।– बुझाई सकेपछि फिरादीले तमसुक झिकी दायाँको सहिछाप शिर पुछार तिर च्याती मलाई दिएका र फिरादीले सो जग्गामा आफू बस्न बनाएको कच्ची घर छोडी देऊ भन्दा रु. ५००।– दिए छोडी दिन्छु नदिए रु. २४,०००।– को सक्कल तमसुक म संग छ पुनः लिन सक्छु भनेकाले लिई सकेको रुपैयाँमा दोहरो लिने कुनियतबाट झुठ्ठा फिराद गरेकाले फिरादीलाई ठगीको ४ नं. सजायँ गरिपाउँ भन्ने प्रतिउत्तरपत्र । ४. ०३५।१२।६ गतेका दिन वादी कृष्णलाल सोती र प्रतिवादी धनी बोहराको बीच रु. २४,०००।– लेनदेन मेरो सामुन्नेमा भएको हो । सो रुपैयाँ बुझाए नबुझाएको मलाई थाहा छैन । सक्कली तमसुक फट्टा गरी दियो भन्ने कुरा मलाई थाहा छैन भन्ने समेत वादीको साक्षी प्यारीलाल विष्ट समेत जना ४ को एकै मिलानको बकपत्र । ५. ०३५ सालमा कृष्णलाल सोतीबाट धनी बोहराले रु. २४,०००।– कर्जा लिई सुद तिर्न नसकेको हुनाले सुद बापत १ बिगहा जग्गा कमाउन दिएको हो ०३९ साल भाद्रमा रु. १२,०००।– दिइसकेपछि आश्विन १७ गते बेलुकी ७ – ७१२ बजेको टायममा धनी बोहराकै तिलकानी सडक निरको दोकानमा रु. १२,०००।– बुझाई धनी कृष्णलाल सोतीले तमसुक झिकी च्यातेपछि ऋणीलाई दिएको हो । झगडा पर्नु भन्दा अगाडि वादी प्रतिवादीको राम्रो सम्बन्ध थियो