निर्णय नं. ६८५८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८५८ - अंश भाग: ४२ साल: २०५७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५६/०५/२८ ३००८ निर्णय नं. ६८५८ ने.का.प. २०५७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत २०५४ सालको दे.पु.नं. ४६३४, ४६३५ फैसला मितिः २०५६।५।२८।२ मुद्दाः अंश । पुनरावेदक/प्रतिवादीः ल.पु.जि.ल.पु.न.पा. वडा नं. १५ बस्ने वर्ष ५५ को राजु तुलाधर समेत विरुद्ध प्रत्यर्थी/वादीः ऐ.ऐ.वडा नं.१९ बस्ने वर्ष ८९ को सिद्धिरत्न तुलाधार समेत पुनरावेदक/प्रतिवादीः ऐ.ऐ. बस्ने वर्ष ६० को खडगराज तुलाधर विरुद्ध प्रत्यर्थी/वादीः ऐ.ऐ. बस्ने वर्ष ८९ को सिद्धिराज तुलाधार समेत § वादी प्रतिवादीहरु अंशियार भएकोमा कुनै विवाद देखिंदैन । २०३८ सालमा नापी हुँदाका बखत समानुपातिकको रुपमा वाँडी आ-आफ्ना नाममा नापी दर्ता गराएको भन्ने दावी लिएपनि वादी प्रतिवादी बीच त्यस्तो वण्डा भएको भए रीतपूर्वक वण्डा पत्र रजिष्ट्रेशन पारित गर्नुपर्ने हुन्छ । सो भएको देखिन आउँदैन । विबन्धन कानूनी बुँदामा लागु नहुने हुँदा प्रस्तुत विवादमा निस्सा दिँदा आधार लिइएको नजिर समेत विवादसँग मिल्दोजुल्दो देखिंदैन । निजी आर्जनको निजी सम्पत्ति आफूखुस गर्न पाउनेमा पनि निजी आर्जनको जिकिर लिनेले त्यसको पुष्टी हुने यथोचित प्रमाण गुजार्न सक्नु पर्छ । त्यस्तो सुस्पष्ट प्रमाण दाखिल गर्न सकेको समेत देखिन आएन । तायदातीमा उल्लेखित साहुको ऋणको सम्बन्धमा ऋणको हकमा साहुको नालेश परेको बखत ठहरे बमोजिम हुने भनी शुरु फैसलामा उल्लेख भएको देखिँदा ऋणको हकमा फैसलाले बोल्दै नबोलेको भन्न नमिल्ने । (प्र.नं.१२) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्बान अधिवक्ता श्री शेरबहादुर के.सी. र विद्बान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी वादी तर्फबाटः विद्बान अधिवक्ता श्री श्यामप्रसाद खरेल अवलिबित नजिरः आदेश न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत पाटनबाट २०५२।३।१२ मा भएको फैसला उपर प्रतिवादीहरुको तर्फबाट दोहोर्याई पाउँ भन्ने निवेदन परी यस अदालतमा दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः 2. विपक्षी मध्येका खड्गराज तुलाधर म वादी सिद्धिरत्नको जेठो छोरा, राजु माहिलो छोरा, कान्छो मंगराजको मृत्यु भै सकेको र स्वास्नी पोइल गई सकेको र निजको हक खाने छोरा रोहित तुलाधर हुन् । जेठी छोरीको विवाह भईसकेको कान्छी छोरी फिरादी मध्येकी सरस्वती भई अब अंश गर्नुपर्ने ५ अंशियार बाँकी छौं । विपक्षीहरु टाठोबाठो भएको हुँदा पैतृक सम्पत्तिबाट घर समेत बनाएका हुन् । राजुले सगोलको सम्पत्तिबाट स्वास्नीको नाममा घर बनाएका छन् । विपक्षीहरुसँग फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वण्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी लिई ५ भागको ३ भाग हामीहरुको अंश भाग छुट्याई चलन समेत चलाई पाउँ भन्ने व्यहोराको फिराद पत्र । 3. वादी मध्येका सिद्धिराज घरको मुख्य व्यक्ति हुँदा हुदैँ हामीले सगोलको सम्पत्ति लिने कुरा आउँदैन । म प्रतिवादी मध्येका राजुले सगोलको सम्पत्ति लिएको र घर बनाएको छैन । बाबुले छोरा बुहारी उपर अंशमा फिराद गर्न मिल्ने होइन । घरको मुख्य व्यक्ति वादी मध्येका सिद्धिराज हुँदा वण्डा गर्नुपर्ने सम्पत्ति हामीसँग केही छैन । वादी दावी अनुसार हामी प्रतिवादीले तायदाती दिनु पर्ने होइन वादी दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तर पत्र ।