निर्णय नं. ३८८० - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८८० - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०५/१९ २४७६ निर्णय नं. ३८८० ने.का.प. २०४६ अङ्क ७ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. १२६२ आदेश भएको मिति : २०४६।५।१९।२ मा निवेदक : का.न.पं.वा.नं. १५ बस्ने लिलाकृष्ण श्रेष्ठ विरुद्ध विपक्षी : सर्लाही जिल्ला अदालतसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ § फैसलामा उल्लेख भएको प्रतिवादीबाट अथवा निजको अंश अपुताली खानेबाट मात्र बिगो भरी भराउका लागि दर्खास्त दिन मिल्ने । (प्रकरण नं. १०) § फैसलामा उल्लेख नभएको सम्पत्तिबाट बिगो भरी भराउ गर्न लिलाम हुन नसक्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नरहरि आचार्य विपक्षी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. म निवेदकले राजनैतिक पीडितको हैसियतले जिल्ला सर्लाही गंगापुर सीतापुर गा.पं. वडा नं. १(फ) कि.नं. ४ को लागि बिगहा २–१५–०–० जग्गा २०३० सालमा प्राप्त गरी सोही मितिदेखि तिरो भोग गरी अविच्छिन्न रुपले भोग चलन गरी आएको मेरो निर्विवाद एकलौटी हक भोगको जग्गा रोक्का समेत गराई प्रत्यर्थी सर्लाही जिल्ला अदालतबाट लिलाम हुँदैछ भन्ने सुनी उक्त अदालतमा गई बुझ्दा विपक्षी दलबहादुर कार्की र का.जि. वटु टोल बस्ने रोहिणीबहादुर श्रेष्ठका बीच लेनदेन विषयको मुद्दा चली दलबहादुर कार्कीले बागमती अञ्चल अदालतबाट जिती पाएको फैसला बमोजिम भनी बिगो भरी भराउमा का.जि. अ. तहसीलमा निवेदन गर्दा शुरु फिरादपत्र, प्रतिउत्तरपत्र र फैसलामा समेत उल्लेख नभएको मेरो नाम जोडी रोहिणीबहादुर श्रेष्ठ भन्ने लिलाकृष्ण श्रेष्ठ भनी दर्खास्त परेको र सोही आधारमा अन्तिम भएर रहेको फैसला विपरीत मेरो नाम जोडी दर्खास्त दिई लिई का.जि. अ. तहसीलबाट रोक्का राख्ने आदेश भई दर्खास्त सर्लाही जिल्ला अदालतमा पठाई सप्तरी जिल्ला अदालतबाट जग्गा रोक्का समेत राखी मलाई सूचना समेत नदिई मिति २०४६।१।७ गते लिलाम गर्ने सूचना मिति २०४५।१०।१७ गतेमा प्रकाशित भएको रहेछ । विपक्षी दलबहादुर कार्की भन्ने व्यक्तिसंग मेरो कुनै किसिमको लेनदेन विषयमा मुद्दा नै नचलेको र मैले विपक्षीहरुलाई चिनेको समेत छैन । विपक्षीले दायर गरेको फिराद रोहिणीबहादुर श्रेष्ठले लगाएको प्रतिउत्तर र बागमती अञ्चल अदालतको अन्तिम फैसलामा समेत कहीं कतै मेरो नाम ठेगाना उल्लेख छैन । विपक्षीसंग लेनदेन गर्ने व्यक्ति नै म नभएको हुँदा म असरोकारवाला व्यक्तिको सम्पतिबाट विपक्षी दलबहादुरको बिगो भरी भराउ हुने होइन । म असरोकार व्यक्तिको सम्पत्ति पक्री दर्खास्त गर्ने, रोक्का गर्ने लिलाम गर्ने जस्ता विपक्षीहरुको काम कारवाहीले संविधानको धारा ११(ङ), १५ तथा १६ द्वारा प्रदत्त हकमा आघात परेको हुँदा धारा ७१ अन्तर्गत यो निवेदनपत्र गर्न आएको छु । विपक्षीहरु कसैलाई पनि मेरो दर्ता हक भोग स्वामित्वको अचल सम्पत्ति अपहरण गर्ने र कानुन बमोजिम बाहेक मेरा उपर झुठ्ठा दर्खास्त दिन लिन पाउने अधिकार प्रचलित कानुनले विपक्षीहरुलाई प्रदान नगरेको हुँदा फैसलाले नबोलेकोमा मेरो नाम जोडी निवेदनपत्र लिई मेरो जग्गा रोक्का राख्ने देखि लिलाम गर्ने सूचना प्रकाशित गर्न गरिएको सम्पूर्ण काम कारवाही