निर्णय नं. ३९०३ - दर्ता बदर खिचोला मेटाई हक कायम गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९०३ - दर्ता बदर खिचोला मेटाई हक कायम गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०७/२९ १९९५ निर्णय नं. ३९०३ ने.का.प. २०४६ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको देवानी पूर्ण इजलास नम्बर ९३ फैसला भएको मिति : २०४६।७।२९।३ मा संयुक्त इजलासबाट मतैक्य हुन नसकी फैसला भएको मिति : २०४५।५।५ मा पुनरावेदक/वादी : का.न.पं. वडा नं. २७ कुसुम बियालाछीं बस्ने राममाया श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने माधवप्रसाद प्रधानसमेत मुद्दा : दर्ता बदर खिचोला मेटाई हक कायम गरिपाउँ § घरको छानाको बलेनीको पानी पेटी भनिएको जग्गातर्फ खस्दैमा सो जग्गा वादीको भन्न नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना फैसला न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. मेरो कि.नं. ७० को उत्तरतिर १४ फिट ६ ईन्च लामो गाह्रो भई सो सँगै गाँसिएको ३ फिट चौडाई पूर्व पश्चिम मेरा घरको पेटी भएको मेरो घरको तेस्रो तल्लामा साविक देखि नै उत्तर पट्टीको गाह्रोमा गाँसिएको पाली छाना रही सो पाली छानाले भुर्इंमा ३ फिट चौडा १४ फिट ६ ईन्च लामो पेटी ढाकी आएको छ । त्यस्तो मेरो घरको उत्तर पट्टीको पेटी मेरो कि.नं. ७० मा समावेश हुनु पर्नेमा विपक्षीहरूले कि.नं. ६७ मा घुसाई नापी गराएको कुरा नापीबाट ७ दिने सूचना जारी हुँदा थाहा पाई ३ नं. नापी गोश्वारा २ नं. नापी टोलीमा निवेदन दिँदा कि.नं. ६७, ७० को घर जग्गा नाप नक्सा भए बमोजिम कायम गर्ने निर्णय गरी चित्त नबुझे उजूर गर्नु भनी सूचना दिएको हुँदा उक्त मेरो जग्गा विपक्षीको नाममा अस्थायी दर्ता भएको थाहा पाई यो फिराद गर्न आएको छु । उक्त जग्गामा विपक्षीको दर्ता बदर गरी खिचोला मेटाई हक कायम गरी मेरो नाममा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादी कै कि.नं. ७० को घर मध्येबाट बेखा महर्जनसंग लिई प्रतिवादी मध्ये माधवप्रसादले पटक पटक गरी फार्छे गरी लिइराखेको दुबै लिखतमा विपक्षीको दावीको पेटी जग्गा छ भन्ने कुरा उल्लेख नभएको हुँदा दावीको पेटी विपक्षीको नभएको हुँदा सो पेटी विपक्षीको नभएको प्रष्ट छ, विपक्षीको दावीको पेटीमा जाने आउने बाटो यो ठाउँमा छ भन्न लेख्न नसकेको कि.नं. ६७ मा पहिला हाम्रो घर थियो । सो घर १९९० सालको भूकम्पले भत्की पाताल भई हाल बगैचा बनाई भोगी आएको छु । कि.नं. ६९ ढलापात सम्म साझा भन्ने कुरा लिखतहरूले देखाउँछ । फिरादीले यो यस मितिमा खिचोला गरेको भनी उल्लेख गर्र्न नसकेको र पेटी जग्गा विपक्षी कै हो भन्ने सबूद प्रमाण गुजार्न नसकेको हुँदा फिराद खारेज गरी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको माधवप्रसाद प्रधान, केशवप्रसाद प्रधान, दामोदरप्रसाद प्रधान, हरिहरप्रसाद प्रधान, गोविन्दप्रसाद प्रधान समेतको संयुक्त प्रतिउत्तरपत्र । ४. फिराद जिकिर अनुसार वादीले नक्सामा पेटी देखाउन नसकेको तथा दावीको पेटी र फिराद जिकिर अनुसारको वादी घरको उत्तर पूर्वको डुढ नक्सा समेतबाट नदेखिएको यस्तो स्थितिमा बिना प्रमाण दावी