निर्णय नं. ३९०७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९०७ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०६/२९ २४४३ निर्णय नं. ३९०७ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको फौ.पु.नं. ५८१ फैसला भएको मिति : २०४६।६।२९।१ मा पुनरावेदक/वादी : बाग्लुङ मुलपानी गा.पं. को जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : बाग्लुङ जिल्ला मुलपानी गा.पं. वडा नं. ९ बस्ने शकुन्तला विश्वकर्मा मुद्दा : कर्तव्य ज्यान § प्रतिवादी उपरको अभियोग प्रमाणित गर्ने भार वादीमा रहने । (प्रकरण नं. १८) § शंकाको भरमा मात्र दोषी ठहर्‍याउन न्यायको रोहबाट नमिल्ने । (प्रकरण नं. १८) § मृतक बच्चीको आँखा र कानमा रगत लागेको भन्ने हकमा भर्खरै जन्मेको बच्चीको शरीरमा प्रशवका समयमा आमाको योनीबाट निस्केको रगत लागेको हुनसक्ने सम्भावना पनि रहन्छ लाशको पोष्टमार्टम हुन नसकेको र उक्त रगत जाँच भएको पनि नदेखिँदा जिउँदो बच्ची नै मारेको र सो रगत पनि निज मृतक बच्चीलाई कुनै तरकिवले मार्दा निस्कन गएको हो भनी अनुमान गर्न र सोही अनुमानको भरमा मात्र प्रतिवादीलाई सजायँ गर्न न्यायोचित नहुने । (प्रकरण नं. १८) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।६।२४।२ को फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. मुलपानी गा.पं. वडा नं. ९ देउपुजा भन्ने ठाउँमा २०४२।६।२६ गते बिहान ९ बजे ऐ. वडा नं. ३ बस्ने छबीकुमारी उपाध्यायले आफ्नो नन्दको घर सिंगार्ने कमेरो लिई जाँदा बाटाको छेउ पत्थरको फेदमा १० मास पुगे जस्तो बच्चा मारी फालेको देखी गा.पं. मा जाहेरी गरे अनुसार गा.पं. बाट गई हेर्दा बच्चाको नाकबाट रगत आइरहेको छ । बच्चा मरेको छ लाश जाँच गरिपाउँ भन्ने समेत गा.पं. को २०४२।६।२६ को जाहेरीपत्र । ३. पूर्व बाँसघारीसमेत ४ किल्लाभित्र मुलपानी गा.पं. वडा नं. ९ देउपुजा धाराबाट गाउँमा जाने बाटोको उत्तरपट्टि ठुलो चुच्चे ढुङ्गाको फेदमा खाचो भएको खोल्सोमा मृतक बच्चीको शिर पश्चिमपट्टि परेको शरीर उत्तानो पारी दाहिने आँखा र नाक मुख देखिएको, आँखा बन्द भएको, मुख र नाकमा रगत देखिएको, देब्रे आँखा र कानको भाग पत्थरमा च्यापिएको, बाहिर निकाली हेर्दा साल नाल नछुट्टिएको चिउँडोसम्म च्यापिएको योनी माथि छाला खुइलिएको कपाल पूरै भएको १० महीनाको बच्ची भएको भन्ने लाश जाँच मुचुल्का । ४. विबाह भएको छैन माइत घरमा छु घटनास्थलमा फेला परेकी छोरी जातक मैले जन्माएकी हुँ, बच्चा मेरो हो । २०४१ पौष महीनामा बाग्लुङ बजारदेखि मल लिएर खहरे भन्ने ठाउँमा पुग्दा अध्यारो थियो एकजना लाहुरे भेट भयो, निज र म भई रम खायौं, खाएपछि लाहुरेसँग करणी लिनु दिनु भयो, सो करणीबाट मलाई गर्भ रहन गएछ, गर्भ रहेको कुरा मैले कोही कसैलाई भनेको छैन । २०४२।६।२४ गते बेलुका पेट दुख्यो त्यसपछि कसैलाई थाहा नदिई लाटी भन्नेको मानिस नबस्ने घरमा आई छोरी जातक जन्माएर सोही ठाउँमा २ घण्टा बसी पछि ल्याई फालेकी हुँ बच्चा जन्मने अवस्था मैले पेट माड्ने अठ्याउने गरेको अवस्था छोरी जन्मेकी थिई त्यसपछि मरेकी हुँदा फालेकी हुँ भन्ने समेत सकुन्तलाले प्रहरी समक्ष गरेको बयान कागज । ५. घटनास्थलमा मृतक छोरी जातक बच्ची मरेकी अवस्थामा देखेका हौं । सकुन्तलाले २४ गते राती लाटी