निर्णय नं. ३९१६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९१६ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०६/०९ २३५५ निर्णय नं. ३९१६ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको रिट नं. १४७२ आदेश भएको मिति : २०४६।६।९।२ मा निवेदक : जि. कपिलवस्तु तितिर्खि गा.पं. वडा नं. ३ बस्ने भवनाथ तेलीसमेत विरुद्ध विपक्षी : श्री ५ को सरकार, गृह मन्त्रालय विषय : उत्प्रेषण § एकपटक नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरी सकेपछि सो बदर गर्नको लागि सम्बन्धित व्यक्तिहरूलाई बुझी निजहरूलाई आफ्नो कुरा व्यक्त गर्ने मौका दिई व्यक्त गरिएका कथनहरूलाई बिचाराधीनमा राखी निर्णय गर्नुपर्ने हुन्छ, कसैको हकाधिकारमा प्रतिकूल असर पर्ने गरी कुनै काम कारवाही गर्दा निजहरूलाई सफाईको मौका दिनु पर्ने प्राकृतिक न्यायको सिद्धान्त हो । तर प्रस्तुत विषयमा निवेदकहरूलाई बुझेको भन्ने लिखितजवाफबाट नखुलेको र बुझेको समेत नदेखिएकोले यसरी प्राप्त गरी सकेको नेपाली नागरिकताको प्रमाणपत्र धारकलाई बुझ्दै नबुझी रद्द गर्ने गरेको श्री ५ को सरकार गृह मन्त्रालयको निर्णय त्रुटिपूर्ण भई प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) रिट निवेदकहरू तर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस विपक्षी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. हामी निवेदकहरूका पिताहरूको जन्म भारतमा भए पनि १९७५ साल भन्दा अघिदेखि नै यस नेपाल सरहद कपिलवस्तु तत्कालमा मौजा तितिर्खा आई घरद्वारा गरिआएपछि हाम्रो जन्म नेपालमै भएकोले २०३३ सालमा जन्मसिद्ध नागरिकताको अस्थायी निस्सा दिएको सोही आधारमा स्थायी नागरिकताको प्रमाणपत्र पाएकोमा प्र.जि. अ. ले हामीसँग नागरिकताको प्रमाणपत्र मागी राखेकोमा हामीलाई सफाईको मौका नदिई हाम्रो ना.प्र. पत्र बदर गरी २०४१।१।१२ मा पर्चा गरी हामीलाई सूचना दिएको आधारमा हामी मध्ये भवनाथ तेलीले २०४० को रि.नं. १५४९ र मेधे तेलीले २०४० को रि.नं. १५५० को रिट गर्दा उत्प्रेषणद्वारा प्र.जि. अ. को निर्णय बदर गरी २०४१।६।१ मा आदेश भएको । यसै बीच श्री ५ को सरकारबाट नागरिकता बदर मुद्दाको प्रतिवादी बनाई कपिलवस्तु जि. अ. मा मुद्दा दायर गरेकोमा २०४४।४।१५ मा समाव्हान तामेल भई उपस्थित हुँदा गृह मन्त्रालयबाट हाम्रो नागरिकता बदर गरी नेपाल नागरिकता ऐन, २०२० को दफा १५ अनुसार सजायँ गराउन मुद्दा चलाउने भनी २०४२।१२।२९ मा निर्णय भएको व्यहोरा थाहा पाई २०४४।५।२६ मा नक्कल सारी लिँदा सविस्तार थाहा भयो । ३. हाम्रो नागरिकता रद्द गर्ने गरी भएको कारवाहीमा हामीलाई नबुझी प्रतिवाद गर्ने मौकाबाट बन्चित गरिएको छ । एकपटक प्र.जि. अ. को निर्णय बदर भइसकेपछि पुनः प्र.जि. अ. को किटानी राय ठहरको आधारमा गृह मन्त्रालयले हाम्रो नागरिकताको प्रमाणपत्र रद्द गर्ने गरी गरेको निर्णय त्रुटिग्रस्त छ । हाम्रो विरुद्ध प्र.जि. अ. बाट संकलित प्रमाण कागजहरूबाट झुठ्ठा विवरण वा बयान दिई प्रमाणपत्र लिएको भन्ने प्रमाणित गर्दैन । ती कागजात हामीलाई देखाइएको छैन, हामीले बयान गर्दा सुनाइएको २०२३ सालको सरजमीन हाम्रो रोहवरमा भएको छैन । हाल कपिलवस्तु जि. अ. मा चलिरहेको नागरिकता बदर मुद्दामा २०४४।३।२ मा भएको सरजमीनले हामीहरूको जन्म यसै अधिराज्यभ