निर्णय नं. ३९२३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९२३ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०८/११ २२८२ निर्णय नं. ३९२३ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. १०९० आदेश भएको मिति : २०४६।८।११।१ मा निवेदक : दमक न.पं. वडा नं. ६ बस्ने दुर्गाप्रसाद दहाल विरुद्ध प्रत्यर्थी : प्रशासकीय अदालत, काठमाडौंसमेत विषय : उत्प्रेषण § कुनै पनि व्यक्तिको आचरणको सम्बन्धमा पूर्वानुमान गरेर निजबाट यस्तै किसिमको काम हुँदै रहनेछ भन्न सकिने होइन । त्यस्तै सोही पूर्वानुमानलाई नै सफाईको मौका दिँदा अव्यवहारिक हुने कारण मान्न नमिल्ने । (प्रकरण नं. १०) § अनुमानित कारणको आधारमा खडा गरिएको पर्चालाई नि.से.ऐन, २०१३ को दफा ६ को उपदफा १(ख) अनुसार मान्यता दिन नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी अवलम्बित नजीर : श्री ५ को सरकार सामान्य प्रशासन मन्त्रालय, हरिहर भवन विरुद्ध पितृभक्त पोखरेल भएको (रि.पु.ई.नं. ६४ ने.का.प. २०४५ भाग ३० अङ्क ११ पृष्ठ ११२७) उत्प्रेषण विषयमा प्रतिपादित सिद्धान्त । आदेश न्या. महेशरामभक्त माथेमा : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ :– २. २०२९।१२।१२ मा रा.प.अनं. (द्वि) श्रेणीको अक्जुलरी हेल्थ वर्करको पदमा अस्थायी नियुक्ति पाई २०३१।१०।११ मा सोही पदमा स्थायी भएको म निवेदकको २०३७।४।१२ मा रा.प.अनं. प्र. पदमा पदोन्नति समेत भएको थियो । २०४४।९।१२ मा सरुवा भई ताप्लेजुङ अस्पतालमा काजमा कार्यरत रहेको अवस्थामा म निवेदकलाई नोकरीबाट हटाइएको सूचना २०४४।११।२४ को पत्रबाट २०४४।१२।१५ मा उपलब्ध गराइयो । सो पत्रमा श्री ५ को सरकारको मिति ०४४।११।२४ को निर्णय अनुसार नि.से.ऐन, २०१३ को दफा ६(१)(ख) बमोजिम पर्चा खडा गरी नि.से.नि. २०२१ को नियम १०.६(३) र (५) को अभियोगमा नि.से.नि. १०(१)(५) अनुसार भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी नोकरीबाट हटाइएको व्यहोरा जानकारी गराइएको थियो । सो निर्णय उपर प्रशासकीय अदालतमा पुनरावेदन गरेकोमा श्री ५ को सरकारको ०४४।११।२४ को निर्णय पर्चा मिलेकै देखिँदा मनासिब ठहर्छ भनी फैसला गरियो । ३. म निवेदकले अझै निर्णय पर्चाको नक्कल हेर्न नपाएकोले प्रशासकीय अदालतको फैसलाको आधारमा प्रस्तुत रिटनिवेदन गरेको छु । नेपाल निजामती सेवा ऐन, २०१३ को दफा ६(१) एवं निजामती सेवा नियमावली, २०२१ को नियम १०.९ एवं १०.१० ले निजामती कर्मचारीलाई मनमानी बर्खासी गर्न नपाइने गरी ग्यारेण्टी गरिएको छ । जस अनुसार ऐनको दफा ६(१) ले म निवेदकलाई बर्खासी गर्नु अघि सफाइको सबूदको मनासिब माफिकको मौका दिनु पर्ने थियो सो दिइएको छैन । म निवेदकका विरुद्धमा पर्चा खडा गरी निर्णय गर्नुपर्ने असामान्य स्थिति के पर्‍यो सो कुरा मलाई उपलब्ध गराइएको पत्र एवं प्रशासकीय अदालतको फैसलामा पनि उल्लेख गरिएको छैन । मैले सेवामा रहँदा राम्रो आचरण गरे बापत प्रशंसापत्र पाएको छु त्यसैले खराब आचरणको एवं बराबर अनुशासनहिनताको अभियोग निवेदकउपर लाग्न सक्ने होइन । प्रशासकीय अदालतको फैसलाबाट म निवेदकलाई भविष्यमा सुध्रन नसक्ने भन्ने लान्छना समेत लगाइएको भन्ने देखियो । त्यस्तो भविष्यको कुरा पहिले नै कसरी घोषणा गर्न सकियो प्रष्ट भएन । तसर्थ श्री ५ को सरकारको मिति ०