निर्णय नं. ३९२६ - लागू औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९२६ - लागू औषध भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०७/०२ २९२६ निर्णय नं. ३९२६ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको फौ.पु.नं. ५८८ फैसला भएको मिति : २०४६।७।२।४ मा पुनरावेदक/वादी : प्र.ना.नि. सिताराम विष्टको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : पोखरा न.पं. वडा नं. ६ बस्ने पूर्णबहादुर परियार मुद्दा : लागू औषध § चरेशलाई पनि गाँजा भित्र लिनु पर्ने । (प्रकरण नं. १४) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी फैसला न्या. हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।८।१९ को फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मिति २०४४।५।२१ गतेका दिन पोखरा न.पं. वडा नं. ६ वैदामतर्फको वस्तुस्थिति बुझ्न जाँदा ऐ. बस्ने पूर्णबहादुर परियारको घर कोठामा अवैध लागू औषध चरेस समेत भएको भन्ने कुरा विशेष सुत्रबाट बुझिन आएको हुँदा निजको घर कोठा खानतलासी गर्न आवश्यक व्यवस्था समेत हुनको लागि प्रतिवेदन पेश गरेको छु भन्ने समेत प्र.ना.नि. सिताराम विष्टको जि. प्र.का. कास्कीमा २०४५।५।२१ मा प्रतिवेदन । ३. पूर्णबहादुर परियार बस्ने गरेको घर कोठा खानतलासी गर्दा सिमेन्टको बोरा माथि सलाइको थाली बट्टामा २५ ग्राम चरेश र गाँजा २५ ग्राम र सोही कोठामा रहेका बाकसहरू मध्ये टिनको १ बाकसमा हेर्दा १२ बोर बन्दुकको मेडइन इण्डिया लेखिएको १ नम्बर करतोस टोटा थान १ फेला परेको भन्ने समेत व्यहोराको २०४४।५।२१ को खानतलासी र बरामदी मुचुल्का । ४. मिति २०४४।५।२१ गतेका दिन पूर्णबहादुर परियारको घर खानतलासी गर्दा निज बस्ने घर कोठा अवैध लागू औषध चरेश २५ ग्राम, गाँजा २५ ग्राम १२ बोर बन्दुकको इण्डिएन १ नं. को टोटा थान १ समेत फेला परेको हुँदा मौकामा बरामदी मुचुल्का गरी पूर्णबहादुर परियारलाई पक्राउ गरी उल्लेखित बरामद गरिएका लागू औषध समेत यसैसाथ पेश गरेका छौं भन्ने समेत प्र.ना.नि. कर्णध्वज थापा समेतले मिति २०४४।५।२२।२ मा जि. प्र. कार्यालयमा दिएको प्रतिवेदन। ५. २०४४।५।२१ गतेका दिन मेरो घर कोठाबाट चरेश २५ ग्राम र २५ ग्राम गाँजा १२ बोर बन्दुकको पिठमा मेडइन इण्डिया लेखिएको १ नं. को साबुद टोटा थान १ समेत प्रहरीले बरामद गरी ल्याएका हुन् चरेशको कारोवार केही महिना अघि देखि मैले गर्न थालेको हुँ । यो चरेश १ जना अपरिचित व्यक्तिसंग १०० ग्रामको रु. २००।– मा खरीद गरी लिएको थिएँ सो चरेश मेरै लजमा आउने जाने विदेशीहरूलाई सेवन गर्न प्रतिग्राम रु. ४।– ५।– नाफा निकाल्ने गरी बिक्री वितरण गर्ने गरिआएको थिएँ । सोही मध्ये बाँकी २५ ग्राम चरेश बरामद भएको हो । २५ ग्राम गाँजाको हकमा मेरै घरमा उत्पादन भई गाई भैंसीलाई खोरेतको रोग र पातलो छेर्ने रोगको औषधिको रुपमा प्रयोग गर्न राखेको हुँ । सो बाहेक अन्य गाँजा संचित पनि छैन र कसैलाई बिक्री वितरण गर्ने गरिआएको पनि छैन । टोटा थान १ समेतको हकमा २–३ वर्ष अगाडि नामथर वतन थाहा नभएको साथीहरू हाँस मार्ने शिकार खेल्न आएका बखत देखि नै मसंग रही आएको रहेछ । उक्त बन्दुक टोटाहरू अवैध किसिमबाट ल्याई राखेको पनि होइन यो खरखजाना प्रयोग गरी जीव जन्तुलाई शिकार गरी हानी नोक्सानी गरे गराएको छैन र खरखजाना राख्ने इजाजत समेत लिएको छैन भन्ने समेत पूर्णबहादुर परियारले जिल्ला प्रहरी का