निर्णय नं. ३९२८ - जग्गा छुट्याई नामसारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९२८ - जग्गा छुट्याई नामसारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४६/०७/२० २५०१ निर्णय नं. ३९२८ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ७८७ फैसला भएको मिति : २०४६।७।२०।१ मा पुनरावेदक/प्रतिवादी : का.न.पं. वडा नं. ३२, पुतलीसडक बस्ने नारायण तण्डुकार विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने सूर्यबहादुर तण्डुकार मुद्दा : जग्गा छुट्याई नामसारी गरिपाउँ § साविक दर्तामा अंशियारहरूको हक देखाउन सम्म संयुक्त जग्गाधनी देखाइएकोलाई बहस जिरह बमोजिम अबण्डा रहेकोले नै सो हुन गएको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ९) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्वरप्रसाद सिलवाल फैसला न्या. हिरण्येश्वरमान प्रधान : म.क्षे.अ. को मिति २०४३।४।२० को फैसलाउपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. का.न.पं. वडा नं. १क कि.नं. २१० को क्षेत्रफल १–७–१, कि.नं. २११, को १–७–१, कि.नं. २१२ को १–७–१ समेत कित्ता ३ को क्षेत्रफल ४–५–३ जग्गा प्रतिवादी कृष्णमाया र म, जेठा बाबुनारायण जेठी आमा र बाबु आशा तण्डुकार समेतका नाउँमा दर्ता भएको बराबर हक लाग्ने जग्गा हो, जुन कुरा फिल्डबुक स्रेस्ता र प्रतिवादी र निजका छोराहरू बीच भएको २०३२।११।२ को पारीत बण्डापत्रबाट समेत प्रमाणित भएको छ । दर्तावाला कृष्णमाया २०३१ चैत्रमा र बाबु आशा २०३२ सालमा परलोक हुनु भएकोले बाबुको शेष पछिको उक्त ३ कित्ताको जग्गाको ३ खण्डको १ खण्ड मेरो हक हुन आएको जग्गा छुट्याई दिन विपक्षीलाई भन्दा इन्कार गरेकोले मोल रु. ५,००० जाने ज.रो. १–७–१ जग्गा छुट्याई मेरा नाउँमा दर्ता गरी नामसारी समेत गरिपाउँ भन्ने समेत व्यहोराको फिराद । ३. विपक्षीका बाबुका नाउँमा रहेको कि.नं. २१० को १–७–१ मात्र विपक्षीको हकको हुँदा ३ कित्ताबाट कित्तै पिच्छे पाउँ भन्ने दावी झुठ्ठा हो कि.नं. २१० को मात्र छुट्याउनु पर्ने हो भन्ने समेत प्रतिवादी नारायण तण्डुकारको प्रतिउत्तर । ४. तीन कित्ता जग्गाको क्षेत्रफल ४–५–३ मध्ये १–७–१ वादीलाई छुट्याई निजको नाउँमा नामसारी दर्ता गराई दिनु पर्ने ठहर्छ भन्ने समेत का.जि. अ. को २०३९।३।१७ को फैसला । ५. उक्त फैसला उपर परेको प्रतिवादीको पुनरावेदनमा कि.नं. २१० को क्षेत्रफल १–७–१ जग्गा वादीका नाउँमा नामसारी दर्ता गरी दिने ठहर्छ । कित्तै पिच्छे कित्ताकाट गरी दिने भनी गरेको शुरुको फैसला बदर हुने ठहर्छ भन्ने समेत बा.अं.अ. को २०४०।२।४ को फैसला । ६. बागमती अञ्चल अदालतको त्रुटिपूर्ण फैसला उल्टाई कित्तै पिच्छे जग्गा छुट्याई पाउँ भन्ने समेत वादीको पुनरावेदनमा कित्तै पिच्छे गरी बण्डा गरेको का.जि. अ. को फैसला बदर गरेको बा.अं.अ.को फैसला त्रुटिपूर्ण देखिँदा उल्टी हुन्छ । वादी दावी बमोजिम कि.नं. २१०, २११, २१२ को जग्गा कित्तै पिच्छे वादीले छुट्याई नामसारी दर्ता गरी पाउने ठहर्छ भन्ने समेत म.क्षे.अ. को २०४३।४।२०।२ को फैसला । ७. म.क्षे.अ. को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीको यसै अदालतमा पर्न आएको निवेदनमा न्या. प्र.सु. (संशोधन सहित) ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको २०४४।३।३।४ को आदेश ।