निर्णय नं. ९१६१ - आयकर (आ.व. ०६०/०६१)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१६१ - आयकर (आ.व. ०६०/०६१) भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७०/०४/२८ ३९९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय फैसला मिति : २०७०।४।२८।२ ०६५-CR-०५६७ मुद्दा : आयकर (आ.व. ०६०/०६१) पुनरावेदक/वादी : श्री आन्तरिक राजस्व कार्यालय, विराटनगरकातर्फबाट प्रमुख कर अधिकृत ढुण्डिराज पोखरेल विरूद्ध प्रत्यर्थी/प्रतिवादी : श्री गोल्डेन ग्लोव लिकर्स प्रा.लि., विराटनगर § विगतका आ.व.मा भएका खर्चहरू तत्‌तत् वर्षहरूमा नै खर्चकट्टि गर्नुपर्ने हुन्छ । विगतका आ.व.मा भएको खर्च यस आ.व. २०६०।०६१ मा खर्चकट्टिको माग गरेको र सोलाई उचित मानी राजस्व न्यायाधिकरण, विराटनगरबाट खर्चकट्टि गर्ने गरी भएको निर्णयबाट आयकर ऐन, २०५८ को दफा १३ को प्रत्यक्ष गम्भीर कानूनी त्रुटी हुन गएको देखिने । (प्रकरण नं. ४) § कुनै कागज प्रमाणमा लिनलाई सो कागज मिसिल संलग्न हुनुपर्ने हुन्छ । मिसिल संलग्न नै नरहेको बिल भरपाइलाई बिल भरपाइ छ भनी सोअनुरूपको रकम आय निर्धारण गर्दा कट्टि गर्न नमिल्ने । (प्रकरण नं. ५) § इजलाससमक्ष प्रत्यक्षीकरण भएको भए के कति कुन प्रमाण प्रत्यक्षीकरण भए र कुनकुन बिल भरपाइहरूबाट के कति रकम कट्टि हुनुपर्ने हो सो आफ्नो निर्णयमा निर्णयकर्ताबाट उल्लेख हुनुपर्ने । § न्यायिक निर्णय आत्मनिष्ठ तवरबाट गरिनुहुन्न अपितु वस्तुनिष्ठ आधारबाट गरिनुपर्दछ । मिसिल संलग्न नरहेको बिल भर्पाईलाई निर्णयकर्ताले प्रत्यक्षीकरण भयो भन्नु नै पर्याप्त हुँदैन । प्रत्यक्षीकरण के कसरी र कति भयो भन्ने कुरा उक्त निर्णयमा प्रष्ट देखिनु पनि पर्दछ । फगत प्रत्यक्षीकरण भयो भनी त्यसको अस्तित्व र त्यसबाट सन्तुष्टी हुनुपर्ने कारण नदेखाई खर्च मिन्हा दिने गरी बुझ्नुपर्ने प्रमाण नबुझी नबुझ्ने प्रमाण बुझी प्रत्यक्ष त्रुटी भएको निर्णय कानूनबमोजिम भएको भन्न नमिल्ने । (प्रकरण नं. ५) पुनरावेदक/वादीकातर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री कृष्णजीवी घिमिरे प्रत्यर्थी/प्रतिवादीकातर्फबाट : विद्वान् अधिवक्ता श्री रमेश कोइराला अवलम्बित नजीर : सम्बद्ध कानून : § आयकर ऐन, २०५८ को दफा १३ सुरु तहमा निर्णय गर्ने अधिकारी : श्री शिवकुमार कटुवाल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री विनोदप्रसाद ढुङ्गेल लेखा सदस्य श्री गणेशकुमार कार्की फैसला न्या.बैद्यनाथ उपाध्याय : राजस्व न्यायाधिकरण, विराटनगरबाट मिति २०६५।४।१३ मा भएको फैसलाउपर परेको निवेदनमा यस अदालतबाट राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(२) को खण्ड (ख) तथा (घ) अनुसार पुनरावेदनको अनुमति प्रदान भै दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य एवम् ठहर निम्नबमोजिम रहेको छ : गोल्डेन ग्लोव लिकर्स प्रा.लि.को आ.व. ०६०।०६१ को कारोबार नोक्सानी रू.१३,७६,९४३।७४ देखाई मिति २०६२।३।३१ मा आय विवरण पेस गरेको रहेछ । नाफा नोक्सान हिसाबमा खर्च दावी गरेको प्रारम्भिक खर्च रु.१०,०७,९५१।७२, परीक्षण समयमा प्रमाण देखाउन नसकेका खर्चहरूमध्ये बोतल खरिदबापतको रु.३,०५,१००।, प्रत्यक्षतर्फको रु.१४४३५।, प्रशासनिक खर्चतर्फको रु.३,५०,१००। र प्रत्यक्ष खर्चतर्फको ज्यालाबापतको रु.१,०९,९००। समेतको रकम करयोग्य आयको गणना गर्दा समावेश गर्नुपर्नेमा गरेको नदेखिएकोले आयकर ऐन, २०५८ को दफा १०१(६) बमोजिम प्रमाण पेस गर्न १५ दिनको मौका दिएको छ भन्ने विपक्षी गोल्डेन ग्लोव लिकर्स प्रा.लि.लाई जारी भएको आन्तरिक राजस्व कार्यालय, विराटनगरको च.न