निर्णय नं. ४७०८ - उत्प्रेषण मिश्रित परमादेश समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७०८ - उत्प्रेषण मिश्रित परमादेश समेत भाग: ३५ साल: २०५० महिना: असार अंक: ३ फैसला मिति :२०५०/०३/२० २९२२ निर्णय नं. ४७०८ ने.का.प. २०५० (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्बत् २०४८ सालको रिट नं. : १५६९ आदेश मिति : २०५०।३।२०।१ निवेदक : संखुवासभा चेपुगा गा.वि.स वार्ड नं. ३ गुठी गुम्वा घर भई हाल का.जि.का.न.पा. वडा नं. १६ पकनाजोल बस्ने पासाङ्ग शेपा । विरुद्ध विपक्षी : सगरमाथा अञ्चल प्रहरी कार्यालय, राजविराज समेत । विषय : उत्प्रेषण मिश्रित परमादेश समेत । (१) कुनै विभागीय कारवाही गर्दा कर्मचारीको हक हितमा प्रतिकूल पर्ने गरी निर्णय गरिन्छ भने त्यस्तो निर्णय गर्नु भन्दा अगाडि सम्बन्धित कर्मचारीलाई सफाईको मौका दिनुपर्ने प्राकृति न्याय सिद्धान्त अन्तर्गत पालना गर्नुपर्ने वाध्यात्मक कर्याविधि बमोजिम आरोप र प्रस्तावित सजायँ खुलाई मौका दिनुपर्छ । यसरी अप्रष्ट रुपमा सूचना दिंदा निवेदकलाई आफ्नो सफाइको लागि व्यहोरा खुलाउन कठिनाई पर्नुको साथै प्राकृतिक न्याय सिद्धान्तको पालना गर्ने अवस्थामा व्यवधान सृजना हुन जाने । (प्र.नं. २०) (२) प्रहरी हवल्दारलाई नियुक्ति गर्ने, नोकरीबाट हटाउने र सजाय दिन पाउने अधिकार प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०३३ बाट प्रहरी उपरीक्षकलाई प्रष्ट रुपमा तोकिएकोमा अख्तियार नपाएको प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकद्वारा निवेदकसंग विभागीय कारबाहीको लागि स्पष्टीकरण माग गरिएको कानून बमोजिम भएको नदेखिने । (प्र.नं. २०) (३) प्रहरी ऐन, २०१२ को दफा १०(१) र (२) र प्रहरी नियमावली, २०३३ को नियम ९.६(२) को कार्यविधि नपुर्याई कुन कसुरमा कुन सजायँ प्रस्ताव गरिएको हो सो व्यहोरा सूचना नखुलाई दिएको सूचनालाई रीतपूर्वकको सूचना मान्न नमिल्ने । (प्र.नं. २०) (४) निवेदकलाई सरकारी नोकरीको लागि सामान्यतया अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने निर्णय पर्चा प्रहरी नायव निरीक्षकले पेश गरेको र प्रहरी उपरीक्षकले सदर गरेको देखिएबाट सजायँ दिन पाउने अधिकारीले आफ्नो न्यायिक मनको प्रयोग गरी निवेदक उपर गरिएको कारवाहीबाट निवेदक के कति कारणले कसुरदार देखिन आयो । साथै निजको स्पष्टीकरण किन सन्तोषजनक भएन, सो कुरा निजको पर्चाबाट न्यायिक विवेक प्रयोग गरी वस्तुगत प्रमाणको आधारमा मूल्याङ्कन गरे भएको समेत देखिंदैन । यसरी प्रहरी कर्मचारीलाई सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन पाउने अख्तियार प्राप्त गरेको सेवाबाट हटाउन पाउने अधिकारी बाहेक अन्य दर्जाका प्रहरी अधिकृतहरूबाट निवेदकसंग स्पष्टीकरण माग गरिएको र सो स्पष्टीकरण माग गर्दाको प्रहरी नियमावली, २०३३ मो नियम ९.६ (२) को कार्यविधि र अवस्था पुरा नगरी दिइएको सफाईको मौकाको सूचना रीतपूर्वक नहुनुका साथै तल्लो दर्ताको पदाधिकारीद्वारा पेश गरिएको पर्चामा अख्तियारवाला पदाधिकारीले निवेदकलाई लगाइएको आरोप सम्बन्धमा निवेदकबाट प्राप्त स्पष्टीकरण के कति कारणबाट सन्तोषजनक नभएको हो सो विषयमा वस्तुनिष्ठ आधारमा मूल्याङ्कन गरी न्यायिक मनको प्रयोग गरी भएको समेत पर्चाबाट देखिएन । यस प्रकार कानूनद्वारा व्यवस्थित प्रावधान अनुकूल नदेखिएको यस्तो वेरीतको निर्णय पर्चा र सो निर्णयलाई मनासिव ठहराएको पुनरावेदन निर्णय नमिलेको हुँदा उत्प्रेषणको अदोशद्वारा बदर हुने । (प्र.नं. २१) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री राम प्रसाद गौडेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री बलराम के.सी