निर्णय नं. ४७११ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७११ - उत्प्रेषण मिश्रित परमादेश भाग: ५५ साल: २०५० महिना: असार अंक: ३ फैसला मिति :२०५०/०३/२९ २८०७ निर्णय नं. ४७११ ने.का.प. २०५० (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत् २०४७ सालको रिट नं. ९५० आदेश मिति : २०५०।३।२९।३ निवेदक : ललितपुर जिल्ला झरुवारासी गाउँ विकास समिति वडा नं. ९ बस्ने हरिप्रसाद घिमिरे । विरुद्ध विपक्षी : संचालक समिति, राष्ट्रिय वाणिज्य बैंक केन्द्रिय कार्यालय टंगाल काठमाडौं । विषय : उत्प्रेषण मिश्रित परमादेश । (१) आधार कारण नै नखुलाई आरोपको पुष्ट्याईमा कुनै विवरण नै समावेश गर्न आवश्यक नहुने हो भने निर्णय कानून संगत हुँदैन निर्णय गर्ने अधिकारीबाट/त्यस्तो नियमको स्वेच्छाचारी प्रयोग भएमा कर्मचारीको सेवा जुनसुकै समयमा पनि असुरक्षित हुन सक्छ । वस्तुगत वा तथ्यगत कुराहरु उल्लेख नगरी सोझै अभियोग मात्र लगाएर लागेको अभियोगका पुष्ट्याई नगर्ने गरी पर्चा खडा गर्ने नियमावलीको व्यवस्थाको प्रतिकुल हुन जान्छ । सफाइको मौका दिनु किन अव्यावहारिक भयो त्यसको उचित कारण उल्लेखसम्म नगरी खडा गरिएको पर्चालाई कानून संगत मान्न नमिल्ने । (प्र.नं. १७) (२) पर्चा खडा गर्दा कुन वस्तुगत वा तथ्यगत कारणले पर्चा खडा गर्नुपर्ने स्थिति आयो, निवेदकको कस्तो कामले राष्ट्रिय उद्देश्य खलबलिने भयो भन्ने कुरा स्पष्ट खोली त्यसको कारण र पुष्ट्याई हुनुपर्ने थियो । पर्चा खडा गरी नोकरीबाट हटाउने निष्कर्षमा पुग्नु मात्र पर्चा खडा गर्नुपर्ने कारण र अवस्था विद्यमान रहेको मान्न मिल्दैन । त्यसरी सफाइको सबुद पेश गर्ने मौका दिनु नपर्ने स्थिति आएमा सो कारण स्पष्ट नखोली पर्चा खडा गर्नुलाई नियमको पालना भएको मान्न सकिने स्थिति नहुने । (प्र.नं. १७) (३) बैंकको नियमावली बमोजिम पर्चा खडा गर्नुपर्ने अवस्था आधार कारणको उल्लेखन र पर्याप्त प्रमाणको पुष्ट्याई नगरी हुने कार्यबाट कानूनद्वारा संरक्षित कर्मचारीको सेवा मृगमरिचिका नबन्ला भन्न सकिदैन । (प्र.नं. १९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री राम प्रसाद गौडेल । विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणि राज सिंह मल्ल । अवलम्बित नजीर : १) निर्णय नं. ४३००, ने.का.प., २०४८ पृष्ठ २३३ मा प्रकाशित निवेदक परशुराम झा विरुद्ध मन्त्ती परिषद सचिवालय समेत भएको स.अ. पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्त । २) निर्णय नं. ३९७६, ने.का.प. २०४६, पृष्ट १०७८, बसन्त प्रसाद प्रधान विरुद्ध नेपाल यातायात संस्थान, टेकु समेत भएको स.अ. संयुक्त इजलासबाट प्रतिपादित सिद्धान्त । आदेश न्यायाधीश श्री रुद्र बहादुर सिंह १. नेपाल अधिराज्यको संविधान, २०४७ धारा २३।८८ अन्तर्गत दायर भै निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. म निवेदक विपक्षी बैंकको सहायक ‘ख’ पदमा २०३२ साल चैत्र १ गते देखि स्थायी नियुक्ति पाई ऐन नियम अनुरुपको आचरण पालना गरी राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत रहेको अवस्था “केन्द्रिय कार्यालयको पत्रानुसार केन्द्रिय कार्यालयमा सरुवा गरिएकोले २०३७।२।१९ का दिन उक्त कार्यालयमा हाजिर हुन प्रस्थान गर्नु” भन्ने मिति २०३७।७।१२ को पत्र मलाई बुझाइयो । त्यसको लगत्तै तपाईलाई २०३७।६।२२ गतेको निर्णय र २०३७।७।१० गतेको पर्चा अनुसार २०३७।७।२८ गते देखि राष्ट्रिय वाणिज्य बैंक कर्मचारी नियमावली, २०२३ अन्तर्गत नियुक्ति बढुवा र विभागीय कारवाही सम्बन्धी नियमावली, २