निर्णय नं. ४७१५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७१५ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: असार अंक: ३ फैसला मिति :२०५०/०३/२९ २६१४ निर्णय नं. ४७१५ ने.का.प. २०५० (क) अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४७ सालको रिट नं. ९८२ आदेश मिति: २०५०।३।२९।३ निवेदक : जिल्ला धनुषा तत्कालिन जनकपुर न.प.वडा नं. १ बस्ने रामचन्द्र ठाकुर लोहार विरुद्ध विपक्षी : निर्माण तथा यातायात मन्त्रालय, सडक विभाग, काठमाडौं समेत । विषय : उत्प्रेषण । (१) निवेदक स्वयमले अटुट रुपमा स्थायी पदमा रही सेवा गर्दै आएको भन्न सकिने नियुक्ति पत्र, निजामती किताबखाना तथा संचयकोष समेतको कुनै अभिलेख प्रस्तुत गरेको मिसिलबाट देखिंदैन । यस अवस्थामा स्थायी कर्मचारी भै निवेदकले २० वर्ष सेवा गरेको भन्न मिल्ने नदेखिंदा निवेदकको माग कानूनन् नभएबाट माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. ८) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी विपक्षी तर्फबाट : विद्वान उप सरकारी अधिवक्ता श्री ईश्वर खतिवडा आदेश न्या. कृष्णजंग रायमाझी १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा तथा आदेश यस प्रकार छ :– २. २०१३।२।२८ गते रा.प. अनंकित तृतीय प्राविधिक ड्राफट म्यानमा स्थायी नियुक्ती पाई अटुट रुपमा सेवा गर्दै आएकोमा २०४७।२।१३ को निर्णयानुसार ०४५।८।२७ देखि ६० वर्ष पुरा भएको हुँदा सोही मिति देखि लागू हुने गरी अवकास गरिएको र ०४५।८।२८ देखि हालसम्मको पाउनु पर्ने तलब जि.स.का. धनुषाबाट दैनिक ज्यालादारीको रुपमा भुक्तानी गर्ने निर्णयानुसार जानकारी गराइन्छ भन्ने प्रत्यर्थी सडक विभागले अवकास दिएको छ । सो पत्रको बोधार्थ निजामती किताबखानालाई ०१३।२।२८ देखि २०२२।७।३० सम्मको पाउने उपदान अंक किटान गर्ने व्यवस्था हुन भन्ने व्यहोरा समेत उल्लेख छ । उक्त निर्णय र पत्र प्रत्यक्ष कानूनी त्रुटीपूर्ण रहेको छ । ३. २०१३।२।२८ मा स्थायी नियुक्ति पाई ०४७।२।१ मा अवकास पाएको म निवदेक नि.से.नि. २०२१ को नियम ७.१ र ७.४ अनुसार तोकिए बमोजिमको निवृत्तिभरण पाउने कर्मचारीलाई नियम ७.३ अनुकूल उपदान पाउने ठहराई भएको निर्णय नियम ७.१, ७.४ र ७.३ को प्रत्यक्ष त्रुटी रहेको छ । २० वर्ष भन्दा बढी सेवा गर्नेलाई २० वर्ष भन्दा कम सेवा गर्ने कर्मचारीलेपाउने उपदान दिनु भन्ने निर्णय गर्न मिल्दैन । २०२१ साल कार्तिक मसान्तसम्म कायम रहेको म.स. अड्डा खारेज पछि सडक विभागले मलाई प्रशासन तर्फ मुखिया पदमा स.वि. जनकपुर सब डिभिजनमा सरुवा गरेको थियो । उक्त स्थायी पदबाट नत मैल राजीनामा दिएको छ नत अवकास लिएको छ । यसरी निरन्तर सेवामा रहेका निवेदकलाई स्थायीबाट अस्थायी पदमा परिवर्तन भएको भन्न मिल्दैन । अतः २०१३।२।१८ देखि २०२२।७।३० सम्मको अवधिलाई स्थायी नोकरी गणना गरी त्यसपछि अस्थायी ठहराई भएको निर्णय आदेश नि.से.ऐ. र नि.से.नि. २०२१ को प्रतिकूल रहेको छ । २०४५।८।२७ गते ६० वर्ष पुरा भएको हुँदा सोही मिति देखि लागू हुने गरी अवकास गराएको भन्ने २०४७।२।१३ मा निर्णय भएको भन्ने कुरा अवकास पत्रबाट देखिन्छ । नि.से.नि. को नियम ७.१(१) ले ६० वर्ष पुरा भएपछि अवकास दिइने छ र ७.१(२) ले २ वर्षको अवधि थप गर्न सक्ने प्रावधान रहेको पाइन्छ । नियम ७.१ (१) अनुसार ०४५।८।२७ गते ६० वर्षको उमेर पुरा भएपछि अवकास दिनु पर्नेमा नदिई नियम ७.१(२) बमोजिम १ वर्ष थपिन सक्ने अधिकार अन्तर्गत बहाल राखिएको म निवेदकलाई ज्यालादारीमा प