निर्णय नं. ८९३० - कर्तव्यज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९३० - कर्तव्यज्यान । भाग: ५४ साल: २०६९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६९/०५/१३ ३७६२ ने.का.प. २०६९, अङ्क १२ निर्णय नं.८९३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री प्रकाश वस्ती ०६७ –CR- ०२१० फैसला मितिः २०६९।५।१३।४ मुद्दा : कर्तव्य ज्यान । पुनरावदेक प्रतिवादीः जिल्ला पाँचथर पौवासारताप गा.वि.स.वडा नं. १ घर भै हाल कारागार शाखा पाँचथरमा थुनामा रहेका शुक्रराज विश्वकर्मा विरूद्ध प्रत्यर्थी वादीः बमबहादुर विश्वकर्माको जाहेरीले नेपाल सरकार शुरू फैसला गर्ने : मा.न्या.श्री विश्वमंगल आत्रेय पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री मोहनबहादुर कार्की मा.न्या.श्री रेवन्तबहादुर कुँवर § वारदात प्रतिवादीकै घर कोठाभित्र हुनुको साथसाथै रातको समय भन्ने पनि देखिएको अवस्थामा यस्तो स्थान र समयमा चश्मदिद् गवाहको अभाव रहनु स्वाभाविक नै हुन्छ र सबै वारदात एवं अपराधमा चश्मदिद् गवाह हुनैपर्छ भन्ने पनि छैन । कसूरदारले गरेको कसूर प्रमाणित हुन अपराधको अनुसन्धान हुँदा विभिन्न कोणहरूबाट प्राप्त तथ्य एवं अभिव्यक्त भएका भनाईहरूलाई परिस्थितिजन्य प्रमाणहरूबाट समर्थित भने हुनुपर्ने । (प्रकरण नं.३) § पत्नीसँग कुनै कारणले बेमेल हुँदैमा मार्नु पर्ने अवस्था र कारण हुँदैन । बाँच्न पाउने मानिसको नैसर्गिक अधिकार हो । कुनै पनि बहानाबाजी, कारण, अवस्था वा परिस्थितिले पनि सो अधिकार हनन् हुनु हुँदैन । आफ्नो संरक्षकत्वमा रहेकी, आफूले सदैव रक्षा गर्नुपर्ने पत्नीलाई मारेको अवस्थामा अ.बं. १८८ नं. को प्रयोग गरी सजाय घटाउने अवस्था र कारण नहुने । (प्रकरण नं.५) पुनरावेदकका तर्फबाटः विद्वान अधिवक्ता लैनबहादुर थापा प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः § नेकाप २०६५, अङ्क ११, नि.नं ८०३९, पृष्ठ १३६९ सम्बद्ध कानूनः § मुलुकी ऐन ज्यानसम्बन्धी महलको १, १३(३) § अ.बं १८८ नं. फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत इलामको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ : मिति २०६४।३।२५ गतेका दिन राति बेलुकाको खाना खाई श्रीमती र म सँगै सुतेकोमा राति मैले श्रीमतीलाई ओछ्यानमा छाम्दा नभेटी खोजतलास गर्दा छानाको बाँसको बलोमा झुण्डिई आत्महत्या गरिरहेको देखी आमालाई बोलाएकोमा आमाले उक्त डोरी काट्नु भयो । त्यसपछि गाउँका मानिसहरू भेला भई रातभरि रूँगी विहान भएपछि यो जाहेरी दिन आएको छु । मेरो श्रीमतीलाई कोही कसैले कर्तव्य गरी मारे मराएको होइन भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । जिल्ला पाँचथर, पौवासारताप गा.वि.स.वडा नं. १ स्थित प्रतिवादी शुक्रराज वि.क.को घरको दक्षिणपट्टि साइडमा लाछी गाँसेको, सोही लाछी गाँसेको ठाउँको कोठाभित्र मृतकको लास खाटमा सुताई राखेको, मृतकको लासलाई सरसर्ती हेर्दा दुवै आँखाको कोस सुन्निएको, नाक कानबाट रगत निस्केको, कानको जोर्नी भागमा नीलो भई सुन्निएको, घाँटी टाउको हल्लाउँदा भाँचिएको जस्तो भई हल्लिने भएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का । मिति २०६४।३।२५ गतेका दिन राति मेरी दिदी सोममाया वि.क.लाई कर्तव्य गरी मारेको भन्ने सुनी जानकारी पाई मिति २०६४।३।२६ गतेका दिन उक्त घटनास्थलमा आई हेर्दा आँखाको कोस नीलो भई सुन्निएको नाक, कानबाट रगत बगेको, घाँटीमा डोरीको डाम नभई औँलाको डाम जस्तो देखिएको, अन्य शरीरको भागसमेत हेर्दा कर्तव्य गरी मारेको पुष्टि हुन आएक