निर्णय नं. ३९५९ - लागू औषध गाँजा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९५९ - लागू औषध गाँजा भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०८/२५ २८६९ निर्णय नं. ३९५९ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको फौ.पु.नं. ४१७ फैसला भएको मिति : २०४६।८।२५।१ मा पुनरावेदक/प्रतिवादी : जि. पर्सा वीरगन्ज न.पं. वडा नं. १४ बस्ने रामनरेश सिंह राजपुत विरुद्ध विपक्षी/वादी : मदनकुमार उप्रेतीको जाहेरीले श्री ५ को सरकार मुद्दा : लागू औषध गाँजा § अन्य स्वतन्त्र सबूद प्रमाणको अभावमा सहअभियुक्तको पोलको भरमा कसूरदार ठहर्याउन त्यस्ता सहअभियुक्तको पोल स्वतन्त्र र विश्वसनीय हुन आवश्यक हुन्छ, शंकास्पद कसूरदार ठहर्याउँदा अन्याय पनि पर्न सक्ने हुँदा सहअभियुक्तको पोललाई राम्रो तवरले केलाई निर्णयमा पुग्नु पर्ने । (प्रकरण नं. ३०) § आफ्नै ट्रकमा अवैध गाँजा ओसार पसार गरेको भन्ने अभियोग लगाइएकोमा सो ट्रक निजको नठहरिएको अवस्थामा उक्त लगाइएको अभियोगको अभियुक्त ठहर्याउन नमिल्ने। (प्रकरण नं. ३१) पुनरावेदक/प्रतिवादीतर्फबाटः विद्वान अधिवक्ता श्री कमलनारायण दाश र विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी/वादी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या. सुरेन्द्रप्रसाद सिंह: मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. २०३९।५।१८ गते बेलुका १०:४५ बजे वीरगन्जबाट सिमरातर्फ जान लागेको ना.अं. ११०७ नं. को ट्रकलाई चेक गर्न जाँदा गाँजा जस्तो गन्ध आएकोले त्रिपाल हटाई हेर्नु पर्यो भन्दा ट्रक चालकले ट्रक लिई भागेकोले पक्राउ गरी कारवाही गरिपाउँ भन्ने प्र.मदनकुमारको प्रतिवेदन । ३. गाडी रोकी चेक गरी सोधपुछ गर्दा गाँजा बैजनाथ सा कलवारको घरमा लगी अनलोड गरी फर्क्यौ भनेकोले रामनरेश र शंकर लामा तथा चालक कृष्णबहादुरलाई ट्रक सहित दाखिल गरेको छु भन्ने समेतको प्र.ह. ताराबहादुरको प्रतिवेदन । ४. बैजनाथको घरबाट गाँजा बोरा ३३ बरामद भएको हो भन्ने समेत व्यहोराको खानतलासी मुचुल्का । ५. २०३९।५।२८ गते राती १० बजेतिर डेराबाट खलासीले बोलाई लगेकोले जाँदा रामनरेशले गाडीमा बस भनेकोले बसें । गाडी रामनरेशले हाँकी कलैया नगर विकासले बनाएको पार्क निर पुग्दा नचिनेका ३०।३५ जनाले गाँजा लोड गरी रामनरेशले गाडी अगाडि बढाई गण्डक पोष्ट नेर पुग्दा न.पं. को कर तिर्न लाग्दा प्रहरी आई चेक गर्न लागेकोले गाडी अगाडि बढाई गाँजा जितपुर बैजनाथको घरमा राखी पथलैया जाँदा पक्राउ गरेको हो भन्ने समेत व्यहोराको कृष्णबहादुर क्षेत्रीको बयान । ६. ट्रक र गाँजा मेरो होइन विराटनगर जान पथलैयामा बसेको बखत ट्रक आएकोले रोकी सोधी चढी गएका बखत म समेतलाई पक्राउ गरी मुचुल्कामा सही गराएका हुन, चालकसँग साधारण चिनजान छ अन्यलाई चिन्दीन भन्ने समेत व्यहोराको रामनरेशको बयान कागज । ७. रामनरेशले ड्राइभरलाई बोलाउन पठाएकोले बोलाई ल्याएँ । रामनरेशले गाडी हाँकी पथलैया ल्याई गाँजा लोड गराई हाँकी गण्डक पोष्टमा लगी मैले कर तिरी आउँदा प्रहरी आई चेक गर्न लागेकोले रामनरेशले ट्रक अगाडि बढाए । जितपुर बैजनाथको घरमा गाँजा अनलोड गरी गाडीमा रहेका नित्यानन्द समेत त्यहीं बसे पथलैया जाँदा पक्राउ गरेको हो । गाँजा कस्को हो थाहा छैन, मलाई ज्याला रामनरेशले दिने गरेको हुँदा निजकै हुनुपर्छ भन्ने समेत व्यहोराको प्र.शंकर