निर्णय नं. ९१६२ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१६२ - परमादेश भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/०२/१८ ३०२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय फैसला मिति : २०७१।२।१८।१ ०६८-CI-१४१७ मुद्दा : परमादेश । पुनरावेदक/विपक्षी : नेपाल सरकार, वैदेशिक रोजगार विभागको तर्फबाट ऐ.का महानिर्देशक पूर्णचन्द्र भट्टराई विरूद्ध प्रत्यर्थी/निवेदक : धनुषा जिल्ला, औरही गा.वि.स.वडा नं. ८ घरभई का.म.न.पा.वडा नं. १४ बस्ने हीरालाल शाह § सरकारको नीति तथा निर्णयहरूलाई बाधाको रूपमा देखाई प्रत्यर्थी रिट निवेदकबाट पुनरावेदक विभागको पत्रानुसार ईजाजतपत्र दस्तुर, धरौटी रकम एवम् बैङ्क ग्यारेन्टी वापतको रकमसमेत दाखिल गर्नेलगायतका आवश्यक प्रक्रियाहरूसमेत सम्पन्न भैसकेको अवस्थामा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न ईजाजतपत्र दिन ईन्कार गर्नु भनेको वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११(२) को प्रतिकूलको कार्य हुन जाने । § कानूनबमोजिम काम गर्नुपर्ने सार्वजनिक निकायले निवेदकको हकमा कानूनी कर्तव्य पूरा गर्न नसकेको देखिएको अवस्थामा रिट निवेदन मागबमोजिम परमादेशको आदेश जारी गर्ने गरी भएको पुनरावेदन अदालतको इन्साफलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं. ६) पुनरावेदक/विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री पुस्कर सापकोटा प्रत्यर्थी/निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रसन्न कृष्णदास अवलम्बित नजीर : सम्बद्ध कानून : § नागरिक अधिकार ऐन, २०१२ को दफा ६(३), ६(६), ६(७), ९ § कम्पनी ऐन, २०६३ को दफा ५(१) § वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११(२) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री सुरेन्द्रवीर सिंह बस्नेत मा.जि.न्या. श्री टंकबहादुर मोक्तान फैसला न्या. कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनको मिति २०६९।०२।१०।४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त व्यहोरा एवम् ठहर देहायबमोजिम छ :– १. तथ्य खण्ड : १.१ मिति २०६८।१२।१७ मा पुनरावेदन अदालत, पाटनमा दायर भएको रिट निवेदनको सङ्क्षिप्त व्यहोरा : निवेदक कम्पनी नेपाल सरकारबाट अनुमति वा ईजाजत प्राप्त मुलुकहरूबाट वैदेशिक रोजगारका लागि माग भै आएकोमा कामदार तथा कर्मचारीहरूलाई विदेशमा पठाउन वा वैदेशिक रोजगार प्रदान गराउने उद्देश्यबाट कम्पनी ऐन, २०६३ को दफा ५(१) बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिपूर्वक दर्ता भै कम्पनीको रूपमा संस्थापित भै आन्तरिक राजस्व कार्यालयबाट पान नं. को प्रमाणपत्रसमेत प्राप्त गरेको छ । निवेदक कम्पनीको उद्देश्यबमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्नका लागि वैदेशिक रोजगार ऐन,२०६४ को दफा १० बमोजिम वैदेशिक रोजगार विभागबाट ईजाजत लिई मात्र सञ्चालन गर्न पाउने व्यवस्था गरेको, ऐनले तोकिएबमोजिमको रकम रू.३०,००,०००।–(तीसलाख) रूपियाँमध्ये रू.२३,००,०००।– (तेईस लाख) रूपियाँ बराबरको बैङ्क ग्यारेन्टी र बाँकी रू.७,००,०००।–(सात लाख) रूपियाँ धरौटी वापतसमेत जम्मा रू. ३०,००,०००(तीसलाख) रूपियाँ बैकमा जम्मा गरी ईजाजतपत्र दस्तुर वापतको रू.२०,०००।–(बीस हजार) रूपियाँको सक्कलै बैङ्क भौचरसमेत पेश गरी विपक्षी विभागले दिएको निर्देशन अनुसार बुझाउनुपर्ने सम्पूर्ण दस्तुर, धरौटी बुझाइ ईजाजतपत्रको लागि निवेदन दिएकोमा सम्पूर्ण प्रक्रिया पूरा गरेपछि पनि ईजाजतपत्र नदिई मेरो उद्योग व्यापार तथा सम्पत्तिसम्बन्धी अधिकारबाट वन्चित गरेको विपक्षीको का