निर्णय नं. ३९६३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९६३ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०७/२८ २९४२ निर्णय नं. ३९६३ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको रिट नं. १०६८ आदेश भएको मिति : २०४६।७।२८।२ मा निवेदक : बुटवल स्थित नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक (प्राइभेट) लिमिटेडको तर्फबाट ऐ. का महाप्रबन्धक कालीप्रसाद चौधरी विरुद्ध विपक्षी : श्री ५ को सरकार श्रम तथा सामाजिक कल्याण मन्त्रालयसमेत विषय : उत्प्रेषण § कानुन बमोजिम अख्तियार प्राप्त अधिकारीले कानुन बमोजिम दिएको आदेश निर्देशनसम्म कानुनी हुने, उद्योगलाई नसिहत र चेतावनी समेत दिने अधिकार कारखाना निरीक्षकलाई कानुनले प्रत्यायोजन गरेको नदेखिँदा निजले दिएको आदेश निर्देश, कानुनी मान्न नमिल्ने । (प्रकरण नं. ११ ) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह बोगटी आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको यस रिट सम्बन्धी संक्षिप्त व्यहोरा र निर्णय निम्न बमोजिम छ । २. यसमा कम्पनीका कामदार श्री खीमबहादुर थापा सम्बन्धित सुपरभाइजरको अनुपस्थितमा अर्को सेक्सनका सुपरभाइजरसँग डिस्पेन्सरीमा औषधी उपचारको लागि अनुमति लिएर दिउँसो ४ बजेतिर गएकोमा, अर्को कम्पनी डि.सी.एस. को रिसर्च एण्ड डेभलपमेण्ड सेक्सनभित्र अनुमति बिना प्रवेश गरी त्यहाँ अनुसन्धान कार्यमा संलग्न विदेशी बवबकनरसँग अनावश्यक वादविवाद गरी बाहिर जान आदेश दिँदा पनि नमानी अभद्र व्यवहार गरेको कुरा बुझिन आएको र खिमबहादुरको निवेदनबाट पनि त्यहाँ गएको भन्ने देखिन आएकाले नेपाल कारखाना र कारखानामा काम गर्ने मजुदर सम्बन्धी ऐन, २०१६ को दफा ५१(१) अन्तर्गत खिमबहादुरलाई खराब आचरण गरे बापत नसिहत दिएको पत्र बुझाउँन जाँदा नबुझेकोले मुचुल्का गरी कम्पनीको सूचना पाटीमा टाँसीएकोमा खीमबहादुरले बवबकनर माथि कारवाहीको माग गर्दै नसिहत आधारहिन भएको निवेदन यस कम्पनीमा दिई विपक्षीलाई बोर्धाथ दिनु भएको थियो । कम्पनीको नसिहतमा चित्त नबुझे खिमबहादुरले ३५ दिनभित्र श्रम अधिकृत समक्ष उजूर गर्न सक्नु पर्नेमा उजूरी नै नदिएको भए पनि बोधार्थपत्रको आधारमा नै प्रतिपक्षीले यस कम्पनीमा सो सम्बन्धमा सत्यताको जानकारी माग गरी पत्र पठाएकोले कम्पनीबाट पत्रद्वारा वस्तुस्थिति स्पष्ट गरी जवाफ पठाइयो । ३. उपरोक्त अनुसार खिमबहादुरले दिएको बोधार्थपत्रको मात्र आधारबाट खिमबहादुरलाई बिना आधार नसिहत दिइएको र बवबकनरले खिमबहादुलाई हातपात गरेको ठहरिएको छ भन्दै विपक्षीले उक्त कार्य गरे गराए बापत सो सम्बन्धमा एक पटक त्यस उद्योगलाई नसिहत दिइएको छ उक्त कार्य दोहोरिएमा परराष्ट्र मन्त्रालयमा समेत कारवाहीका लागि लेखि पठाउने छु भनी लेखेको पत्र कम्पनीलाई प्राप्त भएको छ कारखाना सम्बन्धी ऐनको दफा ५ मा समेत विपक्षीलाई नसिहत दिने अधिकार नभएको खिमबहादुरको उजूरी कानुन बमोजिमको हदम्याद भित्र नपरेको हुँदा रीतपूर्वकको उजूरी बिना नै कारवाही उठाएको अधिकार क्षेत्र बाहिर गई यस कम्पनीलाई नसिहत दिएको कारणबाट समेत विपक्षीको कारवाही कानुन विपरीत भएको र अ.बं. ३५ नं. ले बदरभागी छ । यस्तो कानुन विरुद्ध विपक्षीबाट गरिएको नसिहत दिने कारवाहीबाट संविधानको धारा १०(१), ११(१) द्वारा प्रदत्त अधिकारमा आघात पुगेकाले उपयुक्त रिट, आज्ञा, आदेश वा पुर्जीद्वारा सो आदेशलाई बदर गरी हकको