निर्णय नं. ३९७८ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९७८ - उत्प्रेषणयुक्त परमादेश भाग: ३१ साल: २०४६ महिना: माघ अंक: १० फैसला मिति :२०४६/०९/१३ २३०८ निर्णय नं. ३९७८ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ को रि.नं. १४३३ आदेश भएको मिति : २०४६।९।१३।५ मा निवेदक : नेपालगंजमा कार्यालय रहेको इमेज कलर ल्याव (प्रा.)लि.को तर्फबाट ऐ.को अध्यक्ष तथा प्रबन्ध संचालक जङ्गबहादुर आले विरुद्ध विपक्षी : अर्थ मन्त्रालय बागदरवारसमेत विषय : उत्प्रेषणयुक्त परमादेश § उद्योग ऐन संशोधन हुनु अगावै सेवा उद्योगको रुपमा दर्ता भएको र सुविधा निहित उद्योग भएकोले संशोधित ऐनको प्रावधान निवेदकको सेवा उद्योगको हकमा आकर्षित हुन्छ भन्न मिल्ने देखिँदैन साथै उद्योगको स्थापनाको लागि आवश्यक हुने मेसिनरीज पार्टपूर्जा पटक पटक आउने नभई एकपटक मात्र पैठारी गरिने भएबाट ऐनबाट प्राप्त भइसकेको सुविधाबाट बञ्चित गर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री भरतराज उप्रेती विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र कोइराला अवलम्बित नजीर : ने.का.प. २०४४, अंक २, नि.नं. २९८९ मा यस अदालत पूूर्ण इजलासबाट प्रतिपादित सिद्धान्त । आदेश न्या. हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. कलर फोटो उद्योग संचालन गर्नको लागि श्री ५ को सरकार उद्योग विभागबाट मिति २०४३।३।३० को पत्रद्वारा इजाजत प्राप्त भएको छ । साथै उक्त पत्रमा यस उद्योगलाई सेवामूलक उद्योगको वर्गमा राखिएको छ । पहिले चितवनमा रहेकोमा हाल नेपालगंजमा ठाउँसारी गरिएको छ । सो उद्योगको लागि आवश्यक मेशिन तथा स्पेयर पार्टसहरु जापानबाट झिकाउन उद्योग विभागले वाणिज्य विभागमा सिफारिश गरी पठाएको सो आधारमा इजाजतपत्र प्राप्त भई इण्डोश्वेज बैंकमा एल.सी. खोली ढुवानी भाडा समेत जोड्दा हुने रु. ११,९३,५६५।– मूल्यको ओरियन्ट फोटो फिनिसिङ्ग मेशिन र सो को स्पेयर पार्टसहरु झिकाएका थियौं । औ.व्य. ऐन, २०३८ को साविक दफा १०(१)(ख) को व्यवस्थानुसार उद्योग विभागले आयात भएको उपरोक्त मेशिन तथा जगेडा पूर्जा भएकोले भंसार सुविधा उपलब्ध गराई दिनु भनी नेपालगंज भंसार कार्यालयलाई मिति २०४५।११।११ मा पत्र लेखेको थियो । सो बमोजिम कागजात सहित नेपालगंज भंसार कार्यालयमा प्रज्ञापनपत्र भरी उल्लेखित मेशिन तथा पार्टसहरु छुटाउन जाँदा औ.व्य.ऐन, २०३८ मा ०४४।७।१ मा ल्याइएको संशोधनको व्यवस्थानुसार फोटो प्रोसेसिङ्ग सेवा उद्योगको परिभाषामा नपरेकोले भंसार विभागको २०४५।११।१७ को निर्णयानुसार त्यस्तो उद्योगको लागि आयात गरिएका मेशिनहरुमा औ.व्य. ऐन अनुसारको भंसार सुविधा दिन नमिल्ने भनी उक्त मेशिनको मूल्य र भाडा समेत गरी हुने रु. ११,९३,५६५।– को २०% का दरले हुने रु. २,३८,७१३।–, भंसार महसूल १०% का दरले हुने रु. १,१९,३५६।५० अतिरिक्त भंसार महसूल रु. १५% का दरले रु. २,३२,७४५।१८ बिक्री कर समेत जम्मा रु. ५,९०,८१४।६८ भंसार तथा बिक्रीकर रु. ५९,६७८।२५ अग्रिम आयकर बापत बुझाउनु अनिमात्र मालसामान छोड्छु भनेको हुनाले उक्त रकम मिति २०४६।१।१९ मा भंसार कार्यालय नेपालगंजमा धरौट राखी ल्याइयो । भंसार विभागमा निवेदन गर्दा उक्त विभागको मिति २०४५।११।१७ कै निर्णय जानकारी गराइयो । जुन काम कारवाही गैरकानुनी भएको सम्बन्धमा निम्न कुरा अनुरोध गर्दछु । ३. औ.व्य.ऐ., २०३८ को तत्कालीन दफा ९(१)(च)(९)