निर्णय नं. ६९२६ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९२६ - उत्प्रेषणयुक्त परमादेश भाग: ४२ साल: २०५७ महिना: असोज अंक: ६ फैसला मिति :२०५६/१०/११ २६७५ निर्णय नं. ६९२६ ने.का.प. २०५७ अङ्क ६/७ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल सम्वत २०५४ सालको रिट नं. .....२७५५ आदेश मितिः २०५६।१०।११।३ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ५ घर भै गोरखापत्र संस्थानको तह ७ को आय लेखा शाखामा कार्यरत विष्णुराज तिवारी विरुद्ध विपक्षीः सूचना तथा संचार मन्त्रालय सिंहदरबार काठमाडौं समेत § गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली, २०४७ मा रहेको कानूनी व्यवस्थालाई हेर्दा उक्त विनियमावलीको परिच्छेद ९ मा अवकाश उपदान, संचयकोष, पुरस्कार शीर्षक अन्तर्गत नियम ९.१ मा अवकाश सम्बन्धी व्यवस्था रहेको छ । नियम ९.१ (३) मा २० वर्ष वा सो भन्दा बढी सेवा अवधि पुगेका संस्थानका कर्मचारीलाई संस्थानले चाहेमा अवकाश दिन सक्नेछ भन्‍ने व्यवस्था गरिएको र यी निवेदकलाई विनियमावलीको सोही व्यवस्था अन्तर्गत नै अवकाश दिइएको देखिन आउँछ । निवेदकलाई अवकाश दिने गरी संस्थानको संचालक समितिबाट मिति २०४९।९।१७ मा गरिएको निर्णय यस अदालतको पूर्ण इजलासबाट वदर भई निवेदकलाई पुनः सेवामा बहाल गर्नु भनी परमादेशको आदेश समेत जारी भए पश्‍चात गोरखापत्र संस्थानको उक्त निर्णयको ‍औचित्य समाप्त हुन पुगी निवेदकले पूर्ववत बहाल भई कार्य गर्दै आएको अवस्था देखिन आएको छ । निवेदकको सेवा समाप्त नभएको अवस्था र निजले पूर्ववत कार्य गर्दै आएको अवस्थामा निजको सेवाको निरन्तरता कायम रहेको भन्‍नु पर्ने हुन्छ । सेवाको निरन्तरता कायम भएपछि संचालक समितिको मिति २०४९।९।१७ को निर्णय पश्‍चात पुनर्वहाली भएको मिति २०५२।८।२१ सम्मको समय शुन्यमा परिणत भएको भन्‍न मान्‍न मिल्ने हुदैन । कायम हुन पुगेको सेवाको निरन्तरता नै स्थापित हुन पुग्दछ । गोरखापत्र संस्थानले निवेदकलाई अवकाशको मिति देखि पुनर्वहाली भएको मिति सम्मको तलब, भत्ता सुविधा नदिने गरी निर्णय गर्दा विनियमावलीको नियम ४.२(४) को व्यवस्थालाई आधार बनाएको पाइन्छ । उक्त नियम ४.२(४) मा संस्थानका कर्मचारीलाई नोकरीबाट हटाउने वा वर्खास्त गर्ने निर्णय वा आदेश कुनै अदालत वा अधिकारीको निर्णयबाट रद्द भई निज नोकरीमा पुन कायम भएमा निजले संस्थानमा उपस्थित नभएको अवधिको तलब भत्ता र सुविधा दावी गर्न पाउने छैन भन्‍ने व्यहोरा उल्लेख भएको देखिँदा उल्लेखित व्यवस्थाले कर्मचारीलाई नोकरीबाट हटाएको वा वर्खास्त गरेको अवस्था सम्मलाई समेटेको पाइन्छ । नोकरीबाट हटाउने वा वर्खास्त गर्ने भन्‍ने विषय ऐ.विनियमावलीको परिच्छेद ८, नियम ८.२ को व्यवस्थासँग सरोकार रहेको पाइन्छ । रिट निवेदकलाई सेवाबाट अवकाश दिएको कार्य ऐ.विनियमावलीको नियम ८.२ को कार्यविधि अपनाई नोकरीबाट हटाएको वा वर्खास्त गरेको भन्‍ने जिकिर संस्थानबाट लिएको अवस्था देखिदैँन । ऐ.विनियमावलीको परिच्छेद ९ नियम ९.१(३) अन्तर्गत अवकाश दिएको स्थिति देखिन्छ । नियम ९.१(३) अन्तर्गत अवकाश पाएका व्यक्तिको हकमा समेत नियम ४.२(४) आकर्षित हुने भन्‍ने आधारभूत कारण समेत देखाउन सक्नु पर्दछ । संस्थानको लिखित जवाफबाट सो अनुसार भएको भन्‍ने देखिदैन । मिसिल सामेल रहेको प्रतिलिपिबाट २० वर्ष वा सो भन्दा बढी सेवा अवधि पुगेका कर्मचारीलाई अवकाश दिएको सम्बन्धमा श्री ५ को सरकार मन्त्रिपरिषदबाट सर्वोच्च अदालतको फैसला बमोजिम सेवामा पुनर्वहाली भएका कर्मचारीहरुको अवकाशित अवधिको तलब भत्ता स