निर्णय नं. ११४९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०४/१० २०६९ निर्णय नं. ११४९ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रिट नम्बर ९४८ आदेश भएको मिति : २०३५।४।१०।३ मा निवेदक : जिल्ला का.न.पं. वडा नं. ३३ ज्ञानेश्वरे बस्ने पुष्पकुमारी पन्त विरुद्ध विपक्षी : मोती रत्न शाक्य, धर्म रत्न शाक्यको मुद्दा सकार गर्ने बुद्धिहर्ष बज्राचार्य विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) स्वीकृति बिना घर बनायो भन्ने उजूर नगरपञ्चायतको अधिकार क्षेत्रभित्र नपर्ने । (प्र.नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता झुलेन्द्रप्रसाद छत्कुली तथा विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ उल्लिखित मुद्दा : आदेश न्या. हेरम्बराज : उपयुक्त विषयमा विपक्षी का.न.पं.मुद्दा फाँट र का.न.पं.बैठकले मिति २०३३।३।२१।१ र २०३४।७।१७।४ मा कानूनी त्रुटिपूर्ण निर्णय गरेको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्नेसमेत नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन परी बेञ्चसमक्ष पेश हुन आएको छ । २. मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ : हामीहरूका नाममा भू.प्र.का.काठमाडौं डिल्लीबजार मौजा हा.नं. ५६० का लगतमा दर्ता भएको वडा नं. २९ अन्तर्गत हाल नापी नभएको पूर्व तुंगध्वजको घर जग्गा पश्चिम उत्तर मूलबाटो दक्षिण सिंहदरवारको पर्खाल र शिवकाजीको घर यति ४ किल्ला भित्रको फिलंडोल खेत रोपनी ३ मा बनेको पूर्व उत्तर कुनामा कच्ची पराले छाना भएको छाप्रो हामीहरूका दाता रत्नकाजी शाक्यले नै अघिदेखि बनाई राखेको ०१९।९।९ मा भैरव पाध्यासँग पुष्पकुमारी पाध्यानीले मोहियानी हक राजीनामा गरी लिई निजले उक्त छाप्रोभित्र पाको इँटले चारैतर्फ गारो उठाई पक्की घर बनाउन देखाउने नियत गरेको रहेछ । सो बनाउन तलसिंहरूको र नक्सासमेत केही स्वकृति नलिई जथाभावी कर्कटपाताको छानासमेत राखी उक्त जग्गाको हकसमेत आफ्नै गर्ने नियत लिई बनाएकोले जाँची बुझी पाउँ भन्नेसमेत वादी रत्नकाजी शाक्यले भैरव रत्नलाई ०१६।९।२।५ मा पक्की घर बनाउने स्वीकृति दिएको उक्त स्वीकृतिमा तपाई वा तपाईका हकदार वा तपाईले बिक्री गरी दिएबाट अरू केही हुन आएमा पनि घर बनाउन दिनलाई मञ्जुर छ भनी मञ्जुरीको लिखत गरी दिएको विपक्षीका दाताबाट नै घर बनाउन पाउने गरी स्वीकृति प्राप्त भइसकेको र निज भैरवदत्तको उक्त मञ्जुरीको लिखतको आधारमा घर बनाउन नक्सा पास गरिपाउँ भनी यसै कार्यालयमा निवेदन दिई त्यसमा कारवाई भई ०१८।३।२०।३ मा नक्सा पास प्रमाणपत्र प्राप्त निज भैरवदत्तले गरिसकेको श्रेस्ता यसै कार्यालमा हुनुपर्छ । प्रमाण लगाइपाउँ र निज भैरवदत्तबाट ०१९।९।९ गते रु.९००।–मा मैले रजिष्ट्रेशन पास गराई लिई मञ्जुरनामा बमोजिम घर बनाएको हुँ । उजूरी बमोजिम हाल घर बनाएको होइन भन्ने प्रतिवादी बयान । प्रतिवादीले ०१९।९।९ मा भैरवदत्तबाट राजीनामा गराई लिएको नक्कलबाट देखिएको र साथै चारैतिर काँचो इँटको गारो भएको उक्त घरका भित्र चारैतर्फ ईंटको गारो राखी जस्ताका छाना राखेको सो को दस्तुर नलाग्ने भनी ओभरसियरबाट लेखी आएको हुँदा उक्त घरको बाहिरी भाग साविक देखि हालसम्म काँचो ईंटको गारोको गारो नै कायम रही प्रतिवादीले कच्ची घरलाई पक्की घर बनाएको भन्न मनासिव नहुँदा त्यस्तो भित्री जग्गा अदल बदल गर्ने तलसिंको स्वीकृति लिइरहन र नक्सा पास गर्नसमेत जरुरत देखिएन ।