निर्णय नं. ४७२१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७२१ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/०४/०७ ६७१५ निर्णय नं. ४७२१ ने.का.प. २०५० (क) अङ्क ४ पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत् २०४७ सालको रि.पु.इ.नं. ५७ आदेश मिति: २०५०।४।७।५ निवेदक : जिल्ला मकवानपुर हेटौंडा न.पा. वडानं. ९ पशुपतिनगर बस्ने नन्दा कुमारी रावल । विरुद्ध विपक्षी/प्रत्यर्थी : श्री ५ को सरकार, उद्योग मन्त्रालय समेत । विषय : उत्प्रेषण । (१) सम्पत्तिको स्वामित्वबाट वंचित हुनुनपर्ने हकलाई संविधानले अनतिक्रम्य हकको रुपमा स्थापित नगरी कानूनमा व्यवस्था भए बमोजिम त्यो हकको अपहरण हुन सक्ने व्यवस्था गरेको देखिन आउँछ । सम्पत्ति भोग गर्ने हकमा सम्पत्तिको अपहरण विरुद्धको हक पनि सन्निहित हुन्छ भन्ने कुरालाई धारा १५ ले स्वीकार गरेको छैन । वस्तुतः सम्पत्तिको भोग गर्ने हकबाट स्वामित्वको सृष्टि हुँदैन बरु सम्पत्ति उपरको स्वामित्वले त्यसलाई भोग गर्ने हक प्रदान गर्दछ । सम्पत्ति उपरको स्वामित्व त्यसलाई भोग गर्ने हकमा आधारित नभै भोगको हक नै स्वामित्वमा निर्भर गर्दछ । यै कुरालाई दृष्टिगत गरी संविधानले स्वामित्वको हकलाई भोगको हटबाट छुट्याई धारा १५ मा स्वामित्वबाट वंचित हुनुनपर्ने हकलाई व्यवस्थित गरेको देखिन आउँछ । सो अनुसार सम्पत्ति उपर स्वामित्व कायम रहेसम्म मात्र धारा ११ को उपधारा (२) को खण्ड (ङ) अन्तर्गत त्यसलाई भोग गर्न पाउने हक सुरक्षित रहन्छ । धारा १५ अनुसार कानूनद्वारा सम्पत्तिको अपहरण भएमा भोगको हक पनि स्वतः समाप्त हुन्छ भन्ने मनसाय ती संवैधानिक प्रावधानहरुमा निहित रहेको देखिने । (प्र.नं. ३०) (२) सम्पत्तिको स्वामित्वबाट वंचित भएको मानिस त्यो सम्पत्ति भोग गर्ने हकबाट अवश्य नै वंचित हुन्छ । भोगको हक माथि लाग्न सक्ने बन्देजको चरम विन्दु नै सम्पत्तिको अपहरण हो । त्यसैले सम्पत्तिको अपहरणबाट धारा ११ को उपधारा (२) को खण्ड(ङ) अन्तर्गतको भोग गर्ने हक कुण्ठित हुँदैन भन्न मिल्दैन । वस्तुतः सम्पत्ति अपहरण गर्नु भनेकै भोग गर्ने हकलाई समाप्त गर्नुहो । यस दृष्टिकोणबाट सम्पत्तिको अपहरणमा धारा १५ को अतिरिक्त धारा ११ को उपधारा (२) पनि आकर्षित हुन्छ कि जस्तो देखिन्छ । तर त्यो धारणा सही होइन । माथि उल्लेख भए बमोजिम सम्पत्ति भोग गर्ने हकमा त्यसको स्वामित्वबाट वंचित हुन नपर्ने हक पनि निहित छ भन्ने कुरालाई संविधानले मानेको छैन । सम्पत्तिको हक सम्बन्धी संवैधानिक व्यवस्था धारा ११ को उपधारा (२) को खण्ड (ङ) अन्तर्गतको भोगको हकमा मात्र सिमित नरही धारा १५ ले सम्पत्तिको अपहरण विरुद्धको हकलाई एउटा वेग्लै हकको रुपमा स्थापित गरेको छ । यसरी संविधान निर्माताले ती दुई प्रकारका हकहरुलाई एक अर्कोसँग अलगत गरेर बेग्लाबेग्लै किसिमबाट व्यवस्थित र संरक्षित गरेकोले सम्पत्तिको अपहरणमा सम्पत्ति भोग गर्ने हक सम्बन्धी धारा ११ को उपधारा (२) को व्यवस्था आकर्षित हुन्छ भनी सम्झन मिल्ने देखिदैंन । यदि त्यस्तो नसम्झने हो र सम्पत्ति भोग गर्ने हकमा सम्पत्तिबाट वंचित हुनुनपर्ने हक पनि निहित छ भन्ने धारणा बनाउने हो भने सम्पत्ति भोग गर्ने हकलाई धारा ११ को उपधारा (२) ले व्यवस्थित गरि सकेपछि फेरि सम्पत्तिबाट वंचित हुनुनपर्ने हकको प्रत्याभूति धारा १५ ले गर्नुपर्ने आवश्यकता र औचित्य के ? यो