निर्णय नं. ४००० - सवारी ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४००० - सवारी ज्यान भाग: ३१ साल: २०४६ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/०९/०५ २५४८ निर्णय नं. ४००० ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको फौ.पु.नं. ४४९ फैसला भएको मिति : २०४६।९।५।४ मा पुनरावेदक/वादी : प्रहरी प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : काठमाडौं टंगाल डेरा गरी बस्ने अमृत सिंह सरदार मुद्दा : सवारी ज्यान § साधक जाहेर गरे पनि पुनरावेदन परेपछि पुनरावेदन तहबाट इन्साफ जाँच हुने व्यवस्था भएको र पुनरावेदन परेकोबाट मुद्दामा कुनै असर नपर्ने भएकोले सो को आधारमा क्षेत्रीय अदालतको फैसला नमिलेको भन्न नमिल्ने । (प्रकरण नं. १६) § ठक्कर लागी सकेपछि गाडी रोकी घाइतेको उपचार तर्फ ध्यान दिनु पर्नेमा लापरवाही गरी त्यसो गरिएको देखिएन, तापनि वारदातको जाहेरी स्वयं अभियुक्त प्रतिवादीले नै दिन गएको देखिँदा यतिकैमा लापरवाहीसंग प्रतिवादीले गाडी चलाएको भन्न नमिल्ने । (प्रकरण नं. १७) पुनरावेदक, वादी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा फैसला न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझाई वादी श्री ५ को सरकारका तर्फबाट पुनरावेदन परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. २०३९।९।१८ गते बिहान बानेश्वरमा ना.अं. १२३६ को भाडा ट्यांकीले सोमितबहादुरलाई ठक्कर लागी घाइते भएको हुँदा चालक अमृतसिंह सरदारलाई कारवाहीको लागि पठाएको छ भन्ने समेत व्यहोराको सदर ट्राफिक प्रहरी कार्यालयको पत्र । ३. यस गणका नं. २२२६८२ को सैन्य सोमितबहादुरको उपचार हुँदाहुँदै २०३९।९।१९ गते १८.५५ बजे मृत्यु भएको भनी भि.अ.का ड्यूटी डा. अधिकृतबाट जानकारी पाएको हुँदा चालक उपर कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको श्री सबुन गण महेन्द्र व्यारेक बानेश्वरको पत्र । ४. दाहिने आँखा माथि ठोकिएको चोट देखिएको, बायाँ गोडाको तिघ्रा भाँचिएको, बायाँ हातको औंलाहरुमा घस्रिएको छाला खुइलिएको डाम देखिएको भन्ने समेत व्यहोराको सोमितबहादुरको लाश प्रकृति मुचुल्का । ५. २०३९।९।१८ गते विहान त्रि.वि. स्थल ल्याएको पेट्रोल टैंकी अनलोड गर्न गइरहेको अवस्था नयाँ बानेश्वर मोडमा भक्तपुरबाट आएको ट्रली बस रोकेको रहेछ । सो ट्रली बसको पछाडिबाट १ जना मिलीटरी मानिस दौडिंदै मैले टैंकी रोक्न समेत नभ्याउने गरी अपर्झट तवरबाट आएकोले म अगाडि बढेर जाँदा सो मानिसले नै हाँकेको टंकीको अगाडिको वम्पटले ठक्कर खाँदा कता लडे थाहा भएन । मामुली चोट पर्यो होला भनी नरोकी गाडी त्रि.वि. स्थलमै रोकी ट्राफिक प्रहरीमा जाहेर गरेको हुँ भन्ने समेत व्यहोराको अमृत सिंह सरदारले प्रहरीमा गरेको कागज । ६. टाउकोको चोटको कारण मृत्यु भएको देखिन्छ भन्ने समेत व्यहोराको मृतक सोमितबहादुरको लाश जाँच प्रतिवेदन । ७. २०३९।९।१८ गते पिटी कवाज गई व्यारेक बानेश्वर जान उत्तर मोडिनासाथ ना.अं. १२३९ को भाडा ट्यांकीले दौड्न आएको टोलीलाई देख्दा देख्दै जबरजस्ती ल्याई अगाडि भएको मृतक सैन्य सोमितबहादुर राना मगरलाई उक्त ट्यांकीको अगाडिपट्टीको बम्पटले ठक्कर लागी लडी गाडीको मुनि २ पांग्राको बीच पर्न गए, म समेतको फौजले कराउँदा पनि चालकले नरोकी गाडी भगाई लग्यो निजलाई अस्पतालमा भर्ना गरेकोमा सोही चोटबाट भोलिपल्ट मृत्यु भएको हो भन्ने समेत व्यहोराको मित्रबहादुर थापा समेतले गरी दिएको सरजमीन मुचुल्का । ८. भवित