निर्णय नं. ६९३९ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९३९ - अंश भाग: ४२ साल: २०५७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५६/०५/२८ ४४६३ निर्णय नं. ६९३९ ने.का.प. २०५७ अङ्क ८/९ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ सम्वत २०५३ सालको दे.पु.नं. ...३३२४ फैसला मितिः २०५६।५।२८।२ मुद्दाः अंश । पुनरावेदक/वादीः पर्वत जिल्ला, चित्रे गा.वि.स. वडा नं. ५ बस्ने जगसेर गुरुङको मु.स.गर्ने पूर्णकुमारी गुरुङ विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ.बस्ने भक्तसिंह गुरुङ समेत § मानो छुट्टिएको मिति सम्बन्धमा विवाद रहेको र कुनै प्रमाणबाट एकिन मिति पुष्टि हुन नसकेको स्थितिमा फिराद परेको दिनको अघिल्लो मितिलाई मानो छुट्टिएको मिति कायम गर्नुपर्ने । § वादी प्रतिवादी दुवै भारतीय सेनामा रोजगारी गरेका र प्रतिवादीको भनाईमा दुई दाजु भाईको आ-आफ्नो कमाईको वण्डा गर्नु पर्दैन, मेरो तीन भाई छोरा भारतीय सेनामा रोजगार गर्ने हुँदा छोराहरुको कमाई र मेरो पेन्सन समेतबाट जग्गा जमिन खरिद गरेको हुँ भन्ने भनाई र वादीको दावीमा आफू २००४ सालमा भारत सरकारको सैनिक सेवामा भर्ति भई समय समयमा घरमा आउँदा ल्याएको सबै पैसा विपक्षी दाजुलाई दिइरहेको र पैतृक सम्पत्ति बिक्री समेत गरी पुनः अरु कित्ता जग्गाहरु लिइएको हो । त्यसरी लिइएको सम्पत्ति स्वआर्जन हुन सक्दैन भन्ने दावी भएको देखिन्छ । यस्तोमा प्रमाण ऐन, २०३१ को दफा ६(१) को खण्ड (क) बमोजिम स्वआर्जन भन्न नमिली दुवैको प्रयास र पैतृक सम्पत्तिबाट बढेबढाएको संगोलको आर्जन मान्नु पर्ने देखिन्छ । जुनसुकै अंशियारको नाममा रहेपनि सबै अंशियारको हक लाग्ने । § लोग्ने वा लोग्ने पट्टीका अंशियारले सबै अंशियारहरुका मन्जुरीको लिखत गरी दिएको र लोग्ने पट्टीका अरु नातेदार र इष्टमित्रले दिएको चल अचल र त्यसबाट बढे बढाएको सम्पत्ति पेवा ठहर्छ भन्ने व्यवस्थालाई समेत हेर्दा छोराको पेन्सन समेतको रकम पेवाको रुपमा नै प्राप्त गरेको हो भनी अर्थ गर्न नमिल्ने । (प्र.नं. १८-२०) पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ता श्री कृष्ण सापकोटा प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री यज्ञमुर्ति बन्जाडे अवलम्बित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. बाबु कमी गुरुङका २ श्रीमतीमा जेठी विपक्षीको आमा र कान्छी मेरी आमा सुकुरी गुरुङ हुन् । जेठी आमाबाट विपक्षी दाजु भक्तसिंह गुरुङ मात्र जन्मनु भएको र कान्छीतर्फ जेठा कलु, माइलो मइते, कान्छा म फिरादी भएकोमा जेठो कलु भारतको सैनिक सेवामा भर्ती भई द्वितीय विश्वयुद्धमा परी परलोक हुनु भएको र माइलो मइते १९९० सालतिर भारततर्फ जानु भएको हालसम्म कुनै किसिमको पत्ता खबर नभई बेपत्ता हुनु भएकोले प्रमाण ऐन, २०३१ दफा ३२ अनुसार निज मरेको एकीन हुन आउने र स्वास्नी छोरा समेत नभएकोले मेरी आमातर्फ १ छोरी जन्मी विवाह भइसकेको, बाबु कमी गुरुङ र आमा दुवै परलोक हुनु भएको हुँदा हाल अंशियार विपक्षी र म मात्र एका सगोलमा छौं । अंशबण्डा भएको छैन, विपक्षी दाजु भारत सरकारको सैनिक सेवाबाट सुवेदार पेन्सन लिई घरमा आई मुख्य भई दामकाम गरी आउनु भएको म पनि २००४ सालमा भारत सरकारको सैनिक सेवामा भर्ती भई समय समयमा घरमा आउँदा ल्याएको सबै पैसा विपक्षी दाजुलाई दिइरहेको हुँदा विपक्षीहरुका नाममा सगोलको जग्गा जमिन छ । म २०३६ सालमा सुवेदार जागिरबाट पेन्सनमा आएकोले मेरो ठूलो परिवार भयो